नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित हिमालय एयरलाइन्सको जहाज आज पहिलो उच्च उचाइ गन्तव्य–ल्हासाको परीक्षण उडानका लागि प्रस्थान गरेको छ।
ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो, जसले संसारभरबाट पर्यटक आकर्षित गर्दै आएको छ। आजको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकावद्ध उडानहरू सुरू गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप नै भएको जनाइएको छ।
परीक्षण उडान एच९ ९६१ त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बिहान ७ः१७ बजे (स्थानीय समय)मा ल्हासातर्फ प्रस्थान गरी ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०ः४६ बजे (स्थानीय समय)मा अवतरण भएको कम्पनीले जनाएको छ।
ल्हासाबाट फिर्ती उडान एच९ ९६२ आजै अपराह्न १५ः०० बजे (स्थानीय समय)मा गर्ने र काठमाडौंमा अपरान्ह १४ः०० बजे (स्थानीय समय)मा अवतरण हुने कम्पनीले जनाएको छ।

एयरलाइन्स्का सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दीले वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन्। चालक दलले ल्हासास्थित गोंगर अन्तर्राष्ट्रिय विमान स्थलमा वैधता उडानका लागि तीन फरक फरक एप्रोचेज अपनाउनेछन्।
परीक्षण उडानका लागि एअरलाइन्स्ले सन् २०२० को मार्च महिनामै विशेषतः उच्च उचाइका लागि उडान भर्न एच९ एजेके नाममा दर्ता भएको नवीनतम न्यारोबडी हवाइ जहाज ए३१९–११५ प्रयोगमा ल्याएको छ।
१२० इकोनोमी र ०८ विजिनेस क्लास सिटको व्यवस्था भएको एअरक्राफ्ट उच्च उचाईको उडान भर्नको लागि परिमार्जित छ र अधिकतम १४,५०० फिटसम्मको एअरोड्रम उचाई भएको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको छ।
हिमालय एअरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले हिमालय टोली गत वर्षदेखि नै ल्हासाजस्तोे उच्च उचाइ्को गन्तव्यको उडानका लागि सावधानीपूर्वक कार्यरत रहेका बताए।
‘आजको सफल परीक्षण उडानले सुरक्षा, टीम भावना र विजयी भावनाको हाम्रो प्रमुख मार्ग निर्देशक सिद्धान्तहरुको प्रतिबद्धतालाई प्रबल बनाएको छ’, उनले भने, ‘आजको प्रमाणीकरण उडानको सफल संचालनका लागि हाम्रो टोलीलाई म हृदयदेखि नै बधाई दिन चाहन्छु र हाम्रा दुवै मुलुकका नागरिक उड्डयन प्राधिकरणको सहयोग प्राप्त भाएकोमा हामी उहाँहरुप्रति कृतज्ञ छौं । यस कार्यले हामीलाई हाम्रो अभियान सहजै अगाडि बढाउन सक्षम बनाएको छ।’
सो समारोहमा एयरलाइन्स्का प्रशासकीय उपाध्यक्ष विजय श्रेष्ठले ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो र एकमात्र विदेशी एयरलाइन्स हुन पाउनु हिमालयका लागि गर्वको विषय भएको बताए।
परीक्षण उडान ३,५७० मिटरको उचाइ अर्थात् ११,७११ फिट बराबरको उचाइमा रहेको ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा परम्परागत एप्रोचेजका साथै आरएनपी–एआर एप्रोचेजका प्रमाण्ीाकरणका लागि योजना गरिएको हो।

प्रतिक्रिया