कारोबार


माघ ११ देखि सेयर कारोबारको राफसाफ र फर्छ्योट दुई कार्यदिनभित्रै हुने

माघ ११ देखि सेयर कारोबारको राफसाफ र फर्छ्योट दुई कार्यदिनभित्रै हुने

नेपालखबर
माघ ६, २०७७ मंगलबार ७:३३,

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले दुई कार्यदिनमै सेयर कारोबारको राफसाफ तथा फर्छ्योट गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डले गत पुस २४ गते नै कम्पनीको यो प्रस्ताव कार्यान्वयन गर्ने स्वीकृति दिइसकेको छ।

सोहीअनुसार माघ ११ गतेदेखि दुई कार्यदिनमै लगानीकर्ताको सेयर कारोबारको राफसाफ र फ्छ्योट दुई कार्यदिनमा सुरु हुने कम्पनीले जनाएको हो।

धितोपत्र कारोबार राफसाफ तथा फर्छ्योट विनियमावली २०६९ को उपविनियम १३ लाई संशोधन गर्न सीडीएस एन्ड क्लियरिङ लिमिटेडले धितोपत्र बोर्डमा स्वीकृतिका लागि पेस गरेकोमा बोर्डले त्यसलाई स्वीकृति दिएको थियो।

कम्पनीका अनुसार धितोपत्र अर्थात् सेयर बिक्री कारोबार गर्ने लगानीकर्ताले आफूले बिक्री गरेको धितोपत्रको राफसाफ तथा फर्छ्योटका लागि इ–डीआईएस जारी गर्दा ‘टीप्लसवान’ अर्थात् कारोबार भएको मितिको भोलिपल्ट भित्रै जारी गरिसक्नुपर्नेछ। इ–डीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले ‘टीप्लसवान’भित्र भौतिक निर्देशन पुर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यकहाँ बुझाउनुपर्ने कम्पनीले जनाएको छ।

त्यस्तै सेयर किन्ने लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्रबापतको रकम सम्बन्धित राफसाफ सदस्यलाई ‘टीप्लसवान’ अर्थात् कारोबार भएको मितिको भोलिपल्टै बुझाउनुपर्नेछ।

यसबाहेक राफसाफ सदस्यले गर्नुपर्ने कुरा पनि कम्पनीले खुलाएको छ।

सोअनुसार धितोपत्र बिक्री कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण बिक्री कारोबारको पुँजीगत लाभकर गणनाका लागि आवश्यक डब्ल्युएसीसी सम्बन्धी विवरण बिक्रीकर्ता लगानीकर्ताबाट प्राप्त गरी ‘टीप्लसटु’को बिहान ११ बजेभित्र राफसाफ तथा फर्छ्योट प्रणाली (सीएनएस)मा प्रविष्टि गर्नुपर्नेछ।

त्यस्तै, धितोपत्र बिक्री कारोबार गर्ने राफसाफ सदस्यले सबै बिक्री कारोबारको राफसाफ र फर्छ्योटका लागि आवश्यक धितोपत्र आफ्नो राफसाफ खातामा जम्मा भएको एकीन गरेर कुनै बिक्रीकर्ताले निर्धारित समयभित्र आफ्नो राफसाफ खातामा जम्मा नगराए ‘टीप्लसटु’को मध्याह्न १२ बजेभित्र सो बिक्रीकर्ताको बिक्री कारोबारको शर्टेज मार्क गरिसक्नुपर्नेछ।

यस्तै धितोपत्रको खरिद कारोबार गर्ने राफसाफ सदस्यले सबै बिक्री तथा खरिद कारोबारको गणना गरी सोको नेटिङपश्चात् हुने रकम तथा अन्य कमिसन बुझाउनुपर्ने देखिएमा ‘टीप्लसटु’को मध्याह्न १२ बजेभित्र आफ्नो राफसाफ बैंकमा रहेको राफसाफ खातामा जम्मा गरिसक्नुपर्नेछ।

त्यस्तै, धितोपत्र खरिद कारोबार गर्ने राफसाफ सदस्यले राफसाफ भइसकेको धितोपत्र सम्बन्धित खरिदकर्ताको हितग्राही खातामा ‘टीप्लसटु’मा राफासाफ तथा फर्छ्योट सम्पन्न भएपश्चात् यथाशीघ्र राफसाफ तथा फर्छ्योट प्रणालीमार्फत हस्तान्तरण गर्नुपर्नेछ।

यसैबीच, निक्षेप सदस्यले हरेक दिन बिहान ११ बजेभित्र मेरो सेयरमार्फत प्राप्त इ–डीआईएसको फाइल जेनेरेट गरी केन्द्रीय निक्षेप प्रणाली (सीडीएएस)मा अपलोड गरी सोको कारोबार सफल भएको एकीन गरी मेरो सेयरमा सो इ–डीआईएस फाइल प्रोसेस गर्नुपर्नेछ।

त्यस्तै, इ–डीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले प्रदान गरेको भौतिक निर्देशन पुर्जी तत्काल प्रणालीमा प्रविष्टि गरी सोको जानकारी सम्बन्धित लगानीकर्तालाई प्रदान गर्नुपर्नेछ।

कम्पनीका अनुसार हरेक दिन राफसाफ तथा फर्छ्योट प्रणालीमा प्राप्त निर्देशनअनुसार राफसाफ सदस्यको पुल खाताहरु राफसाफ गृहको राफसाफ खाता तथा विभिन्न कमिसन खाताहरुमा आवश्यक रकम डेबिट वा क्रेडिट गरी सोको जानकारी प्रणालीमा प्रविष्टि गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad