कारोबार


वैदेशिक व्यापारमा भारतसँगको निर्भरता बढ्दै, चीनतर्फ ५५ प्रतिशतले घट्दा भारततर्फ ८ प्रतिशतले बढ्यो निर्यात

वैदेशिक व्यापारमा भारतसँगको निर्भरता बढ्दै, चीनतर्फ ५५ प्रतिशतले घट्दा भारततर्फ ८ प्रतिशतले बढ्यो निर्यात

नेपालखबर
पुस २९, २०७७ बुधबार १२:०,

नेपालको मुख्य व्यापारिक साझेदार देशहरु भारत र चीनसँगको आयातनिर्यात विपरीत धारमा अघि बढेको छ। चीनतर्फको आयात तथा निर्यात दुवै घटिरहेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको हो।

यसले चीनतर्फ नेपालको व्यापार कमजोर हुनपुगेको देखाएको छ। गत वर्षदेखि नै चीनतर्फको व्यापारमा कमी आउँदा नेपालले वैदेशिक व्यापारको लागि भारतको मात्रै भर पर्नुपरेको छ।

चालू आर्थिक वर्षको ५ महिना अर्थात् साउनदेखि मंसिरसम्म नेपालबाट वस्तु निर्यात भारततर्फ गत वर्षको सोही अवधिको तुलनामा ८.६ प्रतिशतले बढेको छ। तर चीनतर्फ भने गत वर्षको तुलनामा ५५.२ प्रतिशतले घटेको हो।

चीनतर्फको स्थलमार्गको नाका गत वर्षदेखि नै पूर्ण रुपमा बन्द रहँदा यस्तो हुनपुगेको हो।

आर्थिक वर्ष २०७७/०७८ को पाँच महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले वृद्धि भई ५० अर्ब ६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७.० प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.६ प्रतिशत र ०.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५५.२ प्रतिशतले घटेको हो।

वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, उनी गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ।

त्यस्तै आयाततर्फ आर्थिक वर्ष २०७७/०७८ को पाँच महिनामा कुल वस्तु आयात ९.६ प्रतिशतले घटेर ५ खर्ब २५ अर्ब ५० करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.२ प्रतिशतले घटेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तर्फको आयात १ प्रतिशतले मात्रै घटेको छ। तर चीन तर्फको आयात भने २४.४ प्रतशतले घटेको राष्ट्र बैंकको भनाइ छ।

वस्तुगत आधारमा कच्चा सोयाबिन तेल, चामल, एम.एस. बिलेट, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाइजहाजका पार्टपुर्जा,कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad