हायर पर्चेज अर्थात् सवारीसाधन खरिदमा प्रवाह हुने कर्जा ३.३ प्रतिशतले घटेको छ।
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा बैंकहरुको निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढे पनि सवारीसाधन कर्जा भने घटेको हो। घट्दो सवारीसाधन बिक्रीको असर कर्जामा पनि देखिएको हो।
निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.० प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ९.० प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.४ प्रतिशतले बढेको छ।
२०७७ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.१ प्रतिशत कर्जा कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ।
आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ९.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ७.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६.८ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ९.९ प्रतिशतले, रियल स्टेट कर्जा तथा आवासीय घर कर्जा २.६ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ३४.६ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा १.६ प्रतिशतले बढेको छ।
१६१ अर्ब ८० करोड तरलता प्रशोचन
बैंकका अनुसार आर्थिक वर्ष २०७७÷०७८ को पाँच महिनामा रिभर्स रिपोमार्फत ६० अर्ब र निक्षेप संकलन उपकरणमार्फत १०१ अर्ब ८० करोड गरी कुल १६१ अर्ब ८० करोड तरलता प्रशोचन गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप संकलन उपकरणमार्फत रु.३० अर्ब तरलता प्रशोचन भएको थियो भने रिपोमार्फत ३९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधामार्फत ५० अर्ब ५५ करोड गरी कुल ९० अर्ब ७ करोड तरलता प्रवाह गरिएको थियो।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब ८७ करोड खुद खरिद गरी रु.२२१ अर्ब ८४ करोड तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ४२ करोड खुद खरिद गरी रु.१६१ अर्ब ५८ करोड तरलता प्रवाह गरिएको थियो।
समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ६२ करोड बिक्री गरी १९१ अर्ब ९६ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ। अघिल्लो वर्षको सो अवधिमा अमेरिकी डलर १ अर्ब ७४ करोड बिक्री गरी १९७ अर्ब ५९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।
पुनर्कर्जा तथा सहुलियतपूर्ण कर्जा स्वीकृत
मंसिर मसान्तसम्म बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जा २४ अर्ब ११ करोड लगानीमा रहेको राष्ट्रबैंकले जनाएको छ।
पुनरकर्जा कार्यविधिको व्यवस्था बमोजिम यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ठ रुपमा ४० हजार ९८३ ऋणीलाई ५० अर्ब ७ करोड स्वीकृत गरिएको छ। त्यसैगरी, ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जा १५१ व्यावसायिक फर्महरुलाई २० अर्ब ७१ करोड स्वीकृत भएको छ।
त्यसैगरी ५२ हजार ४८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई ८६ अर्ब ३० करोड कर्जा बक्यौता रहेको छ। यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३० हजार ८०७ ऋणीलाई प्रवाह भएको ६८ अर्ब ६९ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २१ हजार २४१ ऋणीको १७ अर्ब ६१ करोड कर्जा बक्यौता रहेको राष्ट्रबैंकले जनाएको छ।
Shares

प्रतिक्रिया