कारोबार


विषादी परीक्षण विवादः भारतीय दूतावासको पत्रबारे कृषिमन्त्रीले स्वीकारे गल्ती

विषादी परीक्षण विवादः भारतीय दूतावासको पत्रबारे कृषिमन्त्रीले स्वीकारे गल्ती

नेपालखबर
साउन १९, २०७६ आइतबार ११:११,

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले विषादी परीक्षणबारे भारतीय दूतावासले पठाएको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमा नदिएर गल्ती गरिएको स्वीकार गरेका छन्।

मन्त्री खनालले भने, 'प्रधानमन्त्री ओलीले जेठ २१ गते सो विषयमा बोल्नुभएको तर हामीले त्यसको दुई दिनपछि मात्रै भारतीय दूतावासको पत्र दिनु गल्ती भएको हाे।' आइतबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री ओलीले बोल्नुअघि नै सो पत्र नदिएर आफूले नेतृत्व लिएको मन्त्रालयले गल्ती गरेको बताए। प्रधानमन्त्री ओलीले सो सम्बन्धमा भारतबाट कुनै दबाब नआएको सार्वजनिक अभिव्यक्ति दिएका थिए।

‘हाम्रो कमजोरी के भयो भने त्यस पत्रबारे प्रधानमन्त्री ओलीले २१ गते बोल्नुभयो, त्यो पत्र हामीले २३ गते मात्रै हात पारियो हामीले’, मन्त्री खनालको स्वीकारोक्ति थियो, ‘हाम्रो कमजोरी यही हो, यो हाम्रो मन्त्रालयको, जिम्मेवार निकायको कमजारी हो।’ मन्त्री खनालले भारतबाट आयातित विषाद परीक्षण तत्कालका लागि रोक्ने निर्णयमा भने आफ्नो मन्त्रालयको कुनै हात नरहेको पटक–पटक दोहो¥याए। यो विषय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित भएकाले विषादी परीक्षणसम्बन्धी निर्णयमा आफ्नो मन्त्रालयको कुनै हात नरहेको उनको स्पष्टीकरण थियो। मन्त्री खनालले आयातित तरकारीमा विषादी परीक्षणको काम जारी रहेको त्यसलाई रोक्ने पक्षमा सरकार नरहेको पनि स्पष्ट पारे।

बैठकमा समितिका सदस्यहरुले सो प्रकरणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपक्षी मन्त्रालयबीच लज्जास्पद ढंगले विवाद भएको उल्लेख गर्दै त्यसको यथार्थ विवरण समितिमा जानकारी गराउन मन्त्री खनालको ध्यानाकर्षण गराएका थिए। समितिका सदस्य दलबहादुर रानाले दुई मन्त्रालयबीच विषादी परीक्षणबारे भएको सार्वजनिक विवादले लज्जाबोध गराएको उल्लेख गर्दै त्यसबारे यथार्थ जानकारी गराउन मन्त्री खनाललाई सचेत गराएका थिए।

समितिका सदस्यहरुले सरकारले विषादि परीक्षणको कामलाई गम्भीरतापूर्वक नलिएको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .