ad ad

कारोबार


मैथिली खानाको प्रवर्द्धनार्थ राजधानीमा प्रदर्शनी

मैथिली खानाको प्रवर्द्धनार्थ राजधानीमा प्रदर्शनी

नेपालखबर
पुस २३, २०७७ बिहिबार ६:३८,

कला, साहित्य र संगीतमा निकै धनि मिथिला क्षेत्रको मौलिक खानापान प्रवर्द्धन गर्ने उद्देश्यले सो क्षेत्रको विविध परिकारहरुको बुधबार राजधानीमा प्रदर्शनी गरिएको छ।

मिथिला क्षेत्रमा अतिथिलाई सत्कारमा पस्किने मट्का चियादेखि विदाइमा डेजर्टका रुपमा खुवाइने पानसम्मका परिकारलाई ललितपुर सातदोबाटोस्थित आइएचएम कलेजमा सेफहरुले पस्किएका छन्।

नेपाली मौलिक खानापानको प्रवर्द्धनमा काम गर्दै आएको आईएम विथ सेफको आयोजना तथा आइएचएम कलेज र हस्पिटालिटी गाइड्सको संयुक्त आयोजनामा विज्ञ सेफहरु पशुपति पौडेल, महेश साह, सतिस महतो र विकास डंगोललगायतको टिमले मिथिलाको मौलिकता झल्कने गरी मट्का चिया, बगिया, तरुवा, बथुवाको सागको सुप, मिथिला थालि सेट, आँपको अचार, आलु चोखालगायतका परिकारहरु पस्किएका थिए।

सेफ एसोसिएसन अफ नेपाल क्यानका संस्थापक अध्यक्ष पुष्प थापा मगर, मिथिला संस्कृतविद् धिरेन्द्र प्रेमर्षि, कलाकार अजित शाह, आरएण्डडी सेफ सन्दिप खत्री, आईएचएम कलेजका सीईओ सुराच प्रसाईले मिथिलाको मौलिकता र पहिचानसँग जोडिएको खानाको प्रदर्शनीले समग्र नेपाली खानाको बजारीकरणमा प्रोत्साहन पुग्नेमा जोड दिए।

सेफ पुष्प थापा मगरले मिथिलाको मौलिक खाना, मिथिला क्षेत्रको मात्रै नभएर सिंगो नेपालकै परिचय भएको भन्दै आफूहरुले यसको प्रवर्द्धनमा विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

मिथिला संस्कृतिविद् प्रेमर्षिले मिथिला क्षेत्र परापूर्व कालदेखि नै संस्कार र सत्कारमा सधैँ अघि रहे पनि आर्थिक विपन्नता र खानापान प्रवर्द्धनको महत्व बुझ्न नसक्दा सधैँ पछि परेको बताए।

त्यस्तै नेपाली मौलिक खानाको प्रवर्द्धनमा सक्रिय सेफ खत्री मिथिलाको खानापान मल्ल राजा र मिथिला राजाहरुबीचको पारिवारिक सम्बन्धजत्तिकै पुरानो रहेको भन्दै खानासँग जोडिएको मिथिलाको कला र संस्कृति निकै सम्पन्न रहेको बताए।

त्यस्तै आईएचएम कलेजका सीईओ प्रसाईंले सेफ सन्तोष साहले बीबीसी मास्टर सेफको विश्वमञ्चमा मिथिला र समग्र नेपाली खाना पस्किँदा आज विश्व समुदायले नेपालको खाना र संस्कृतिको विविधता बुझेको भन्दै हरेक क्षेत्र र व्यक्तिले सकारात्मक सोच र सेवाको भावनाले खानापान प्रवर्द्धनमा रचनात्मक भूमिका निर्वाह गर्नपर्ने धारणा राखे।

ग्लोबल नेप्लिज सेफ फेडेरेसनका महासचिव मोहन गजुरेलले सीटीईभीटीले नेपाली मौलिक खानाको अध्ययनबारे कोर्स नै तयार गरिरहेको जानकारी दिँदै अब विभिन्न विश्वविद्यालयहरुले पनि आफ्ना एकेडेमिक कोर्सहरुमा १ सय २८ जातिका मौलिक खानापानबारेको अध्ययन र प्रशिक्षणसम्बन्धी कोर्सहरु समावेश गर्नुपर्ने आवश्यकता औँल्याए।

खानामाथिको समीक्षा कार्यक्रममा कलाकार अजित साह, सेफ पशुपति पौडेल, सेफ महेश साह, पत्रकार तथा गायिका रुपा झा, पत्रकार अमरेन्द्र यादवलगायतले धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .