कारोबार


सार्वजनिक यातायातका बसमा टाटा हावी, आइचर र अशोक लेल्यान्ड पछ्याउँदै

सार्वजनिक यातायातका बसमा टाटा हावी, आइचर र अशोक लेल्यान्ड पछ्याउँदै

वसन्त अर्याल
पुस २२, २०७७ बुधबार १०:४८,

सार्वजनिक यातायातमा टाटाका गाडीको वर्चस्व देखिएको छ। काठमाडौं उपत्यकासँगै लामो दूरीका सार्वजनिक यातायातमा अधिकांश बस टाटा कम्पनीकै गुडिरहेका हुन्।

कमर्सियल भेहिकल उत्पादन तथा बिक्रीमा भारतमा आधा हिस्सा ओगटेको भारतीय कम्पनी टाटा मोटर्सले नेपाली बजारमा समेत राम्रो पकड बनाउन सफल भएको हो।

टाटासँगको प्रतिस्पर्धामा आइचर र अशोक लेल्याण्ड धेरै पछाडि छन्। नेपालको सडकमा महिन्द्राका बस समेत गुड्छन्। तर सबै कम्पनी टाटासँग प्रतिस्पर्धामा उत्रिन भने सकेका छैनन्।

tata eicher ashok sarbajanik 4

व्यवसायीले नेपालमा सार्वजनिक यातायातमा प्रयोग हुने अधिकांश टाटाका बस भारतबाट सिधै ल्याउने गरेका छन्। काठमाडौं उपत्यकामा सबैभन्दा बढी मयुर यातायाले टाटाका ४० सिटे बस सञ्चालन गर्दै आएको छ।

नेपालमा सिन्डिकेट तोड्न महत्वपूर्ण भूमिका खेलेको मयुर यातायातले काठमाडौं उपत्यकामा मात्रै ४५ वटा बस सञ्चालन गरेको छ। उसले थप ५५ नयाँ बस सञ्चालनमा ल्याउन लागेको छ।

‘माघबाट काठमाडौं उपत्यकामा मयुरका १०० वटा बस सञ्चालन हुँदै छन्’, मयुर यातायातका अध्यक्ष मोहन श्रेष्ठले नेपालखबरसँग भने, ‘भारतको टाटा कम्पनीबाट ५५ वटा बस अर्डर गरेका थियौँ। ती सबै आइसकेका छन्। माघ महिनाभित्र १०० वटा बस एकसाथ गुड्छन्।’

tata eicher ashok sarbajanik 2

मयुर मात्रै नभएर उपत्यकाको चक्रपथमा चल्ने महानगर यातायातले समेत टाटाका बस नै सञ्चालन गर्दै आएको छ। महानगरले चक्रपथमा ३९ वटा बस सञ्चालन गर्दै आएको छ। महानगरले करिब १६ करोड लगानीमा उक्त बस सञ्चालन गरिरहेको हो।

व्यवसायीहरुले टाटाका बस नेपालमा दुई किसिमले भित्र्याउने गरेका छन्। केहीले गाडीको च्यासिस मात्रै झिकाएर बडी नेपालमै बनाउँछन् भने केहीले बडीसहित भित्र्याउने गरेका छन्। टाटाले मार्कोपोलोसँग जोइन्ट भेन्चरमा उत्पादन गरेका ३२ सिटे बस पछिल्लो समय धेरै भित्रिने गरेका छन्।

विशेषगरी सहरी यातायातका लागि मार्कोपोलोका बडीसहितका बस भित्रिने गरेका छन्। रत्नपार्क–थानकोट रुटमा चल्ने चन्द्रागिरिका हरिया बस मार्कोपोलोका बडीसहित भित्रिएका बस हुन्।

उक्त रुटमा फोर्सका १५ सिटे साना बसको वर्चस्व रहँदै आएको थियो। हाल मार्कोपोलोका बसको संख्या थपिएसँगै यात्रुलाई धेरै सहज भएको छ।

फोर्सका बस रत्नपार्क–थानकोटसँगै कलंकी–बालकोट रुटमा सञ्चालन हुँदै आएका छन्। सन् २०१४ देखि नेपालमा आयाम इन्टरकन्टिनेन्टल प्रालि यसको आधिकारिक बिक्रेता रहेको छ।

सरकारले ठूला गाडी सञ्चालनको लागि प्रोत्साहन गरेसँगै कलंकी–बालकोट रुटमा शुभकामना यातायातको नाममा टाटाकै गाडी चल्दै आएका छन्।

काठमाडौं उपत्यकामा मात्रै सुन्दर यातायात, संयुक्त यातायात, सीटी यातायात, दिगो सार्वजनिक यातायात, रिद्धिसिद्धि यातायात, सिटी मेट्रो यातायात, सामाखुसी यातायातका अधिकांश बस टाटा कम्पनीकै रहेका छन्।

tata eicher ashok sarbajanik 3

टाटालाई आइचर र अशोक लेल्याण्डले पछ्याउँदै
टाटासँगै बतास ग्रुपले आधिकरिक बिक्रेता रहेको आइचर र आईएमई ग्रुप आधिकारिक बिक्रेता रहेको अशोक लेलैण्डका बस समेत रहेका छन्।

आइचरका सबैभन्दा बढी बस नेपाल यातायातमा रहेका छन्। महाराजगञ्ज, बालुवाटर, सिंहदरबार हुँदै बालकुमारी रुटमा चल्ने नेपाल यातायातमा आइचरका बस रहेका छन्। त्यसैगरी कोटेश्वर–कालीमाटी, एकान्तकुनाको रुटमा चल्ने नेपाल यातायात, रन्तपार्क–भक्तपुर रुटमा समेत आइचरका गाडी गुडिरहेका छन्।

नेपाल यातायातमा समेत अहिले पछिल्लो समय टाटाका गाडीले प्रवेश पाएका छन्।

साझा सहकारी संस्थाले अधिकांश अशोक लेलैण्डका बस सञ्चालन गर्दै आएको छ। विभिन्न कारणबाट २०६४ सालमा बन्द भएको साझा यातायात २०७० सालसँगै १६ वटा टाटाका बस सञ्चालनबाट सेवा सुरु गरेको थियो।

२०७३ सालमा काठमाडौं महानगरपालिकाले सहकार्यमा ३० अशोक लेल्याण्डका बस थप गरेको थियो।

२०७६ मात्रै साझाले २० वटा अशोक लेल्याण्डका बस नेपाल भित्र्याएको थियो। साझाले लामोदूरीको लागि अशोक लेल्याण्ड कम्पनीको ४ थान डिलक्स बस सञ्चालन गरिरहेको छ।

काठमाडौं उपत्यकामा महिन्द्रा र एसएमएल इसुजुका बस समेत गुड्दै आएका छन्। महिन्द्राका बस संयुक्त यातायात, रत्नपार्क–भक्तपुरको रुटमा सञ्चालन हुँदै आएका छन्। पछिल्लो समय वाग्मती यातायातले एसएमएल इसुजुका बस सञ्चालन गर्दै आएको छ।

त्यस्तै युनाइटेड ट्रेडर्स सिन्डिकेट नेपालले टोयोटाका हाइस बस नेपालमा बिक्री गर्दै आएको छ। यी बसहरु उपत्यका र मोफसलमा मध्यमदूरीमा सञ्चालन हुँदै आएका छन्।

tata eicher ashok sarbajanik 5

पार्ट्स र रिसेल भ्यालुले नेपालमा टाटा हावी
टाटा कम्पनीका १०० वटा बस खरिद गरिसकेको मयुर यातायातले टाटाको पार्ट्स सहज उपलब्ध रहेको जनाएको छ।

‘नेपालमा भारतीय कम्पनी टाटाका गाडीको पार्ट्स सहजरुपमा उपलब्ध रहेको छ’, मयुर यातायातका अध्यक्ष मोहन श्रेष्ठले भने, ‘टाटाका गाडी बिक्री गर्न सहज छ। अरु गाडीको तुलनामा रि–सेल भ्यालु बढी छ।’

टाटाका बस व्यवसायीले सिधै भारतबाट आयात गरे पनि नेपालमा टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सहजीकरण गर्दै आएको छ।

‘व्यवसायीले बस उत्पादक कम्पनीसँगै ल्याए पनि नेपालमा पाट्र्स, सर्भिस हामीले हेर्दै आएका छौँ’, सिप्रदी ट्रेडिङका एक अधिकारीले भने।

याे पनि-
ठूलाबसको आयात बढेपछि व्यवसायी उत्साहित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad