नेपाली चिउराले अन्तर्राष्ट्रिय बजार पाउनथालेको छ। स्थानीय बजारमा उत्पादन भएका चिउरा तथा भुजा युरोप, अमेरिकालगायतका मुलुकमा निर्यात भइरहेको छ।
चालू आर्थिक वर्षको पाँच महिनामै झण्डै ९ करोड रुपैयाँबराबरको चिउरा र भुजा आठ मुलुकमा निर्यात भएको छ। यो गत आर्थिक वर्षभरको भन्दा झण्डै २ सय प्रतिशतले बढी हो।
भन्सार विभागको तथ्यांकअनुसार पाँच महिनामा अस्ट्रेलिया, बेल्जियम, हङकङ, भारत, जापान, कोरिया, बेलायत, अमेरिकामा आठ करोड ८० लाख ७५ हजार रुपैयाँको २ लाख ९७ हजार ३ सय १६ किलो चिउरा निर्यात भएको छ।
सानो संख्यामा भुजा पनि निर्यात भएको देखिन्छ। पाँच महिनामा हङकङमा ८५० किलो भुजा १ लाख ७३ हजार रुपैयाँको निर्यात भएको छ।
यी मुलुकमध्ये सबैभन्दा धेरै अमेरिका र अष्ट्रेलियामा खपत भएको छ। पाँच महिनामा अमेरिकामा ४ करोड ६८ लाख ८९ हजारबराबरको चिउरा निर्यात भएको छ भने अष्ट्रेलियामा २ लाख ३० लाख रुपैयाँबराबरको भएको छ।
चालू आर्थिक वर्षको पाँच महिनामा निर्यात भएको चिउरा गत वर्षभन्दा १८८ प्रतिशतले धेरै हो। गत वर्षका तथ्यांकअनुसार ३ करोड ५ लाख ४४ हजार रुपैयाँको १ लाख ६ हजार ९ सय २९ चिउरा निर्यात भएको थियो।
उक्त वर्ष अष्ट्रेलिया, बेल्जियम, भारत, जापान, बेलायत, अमेरिका चिउरा निर्यात भएको थियो। गत वर्ष सबैभन्दा धेरै अमेरिकामा १ करोड ५८ लाख ५ बराबरको ४२ हजार ९ सय ६ केजी चिउरा निर्यात भएको थियो। त्यस्तै अष्ट्रेलियामा ७६ लाख ८२ हजार, बेलायतमा झन्डै ४० लाख र जापानमा २१ लाखभन्दा धेरैको चिउरा निर्यात भएको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया