ad ad

कारोबार


प्रिकाष्ट कंक्रिटमा नेपाल आत्मनिर्भर

प्रिकाष्ट कंक्रिटमा नेपाल आत्मनिर्भर

नेपालखबर
पुस १९, २०७७ आइतबार १०:१०,

पूर्वाधार निर्माणमा प्रयोग हुने प्रिकास्ट कंक्रिट प्रोडक्टसम्बन्धी तीन दिने प्राविधिक कार्यशाला राजधानीमा सम्पन्न भएको छ। प्रिकास्ट कंक्रिट घर, रिसोर्ट, रेष्टुरेष्ट, विमानस्थल, सडक, फुटपाथ तथा भुइँलगायत सजावटमा प्रयोग हुन्छ।

प्रिकास्ट कंक्रिटबाट निर्माण हुने इन्टरलक पेभर, कर्बस्ट्रोन, कंक्रिट टायल, होलो ब्लक, टेक्टायललगायतका दुई दर्जन प्रकारका निर्माण सामग्रीको टेक्निकल तथा अन्य विविध पक्षबारे जानकारी दिने उद्देश्यले कार्यशाला गोष्ठी आयोजना गरिएको थियो।

सहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक पद्मकुमार मैनालीले गुणस्तरीय प्रिकास्टबाट निर्माण हुने निर्माण सामग्रीको बजार विस्तार हुँदै गएको बताए।

‘युरोप, अमेरिकी मुलुकमा धेरै वर्षदेखि प्रयोग हुँदैै आए पनि नेपाली बजारमा भर्खरै प्रयोग बढ्दैं गइरहेको छ’, उनले भने, ‘नेपालका प्रिकास्टका उत्पादक कम्पनीले गुणस्तरमा कुनै पनि प्रकारको सम्झौता नगरीकनै उत्पादन गर्नुपर्ने बेला भइसकेको छ।’

निमित्त महानिर्देशक मैनालीले गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्डअनुसार प्रिकास्ट कंक्रिट ब्लक (पेभर), प्रिकास्ट कक्रिंट कर्ब, एज (किनारा) गटरलगायतको उत्पादन गर्न निर्देशन दिए। सरकारले तथा निजी क्षेत्रले पूर्वाधार क्षेत्रमा ठूलो लगानी गरिरहेको परिप्रेक्ष्यमा यस्ता उद्योगको महत्व झनै बढ्दै गइरहेको उनले बताए।

एसियन कंक्रिटोका निर्देशक अनिल जेटियाले विगत तीन वर्षदेखि प्रिकास्ट कंक्रिटको उद्योग सञ्चालन गर्दै आएको बताए।

‘नेपालका प्रिकास्ट कंक्रिट उद्योगले युरोप, अमेरिकाका जस्तै गुणस्तरीय इन्टरलक पेभर्स, कर्बस्ट्रोन, कंक्रिट टायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर्स, ड्रेनलगायतका सामग्री उत्पादन गर्दै आइरहेको छ’, उनले भने, ‘पर्याप्त मात्रामा बजारीकरण नहुँदा उत्पादनले राम्रो बजार पाइरहेका छैनन् ।’

नेपाल गुणस्तर परिषद्को २०७७ कात्तिक २६ गते बसेको बैंठकले प्रिकास्ट कंक्रिट ब्लक (पेभर), प्रिकास्ट कंक्रिट कर्ब, एज (किनारा) गटरलगायतको मापदण्ड तोकेको छ।

निर्देशक जाटियाले सरकार आफैँले प्रिकास्ट कंक्रिटका निर्माण सामग्रीको मापदण्ड तोक्नु निकै सकारात्मक भएको बताए।

नेपालमा उत्पादन भएका प्रिकास्ट कंक्रिटका सामग्रीहरु पाँचतारे होटेल, रिसोर्ट, सडक, विमानस्थल, फुटपाथ, डिभाइडर (मिडियन) तथा भुइँलगायतका सजावटको लागि प्रयोग हुँदै आइरहेका छन्।

निर्देशक जाटियाले स्वदेशी कच्चा पदार्थबाट प्रिकास्टका सामग्रीहरु निर्माण गरिरहेको बताए। ‘यसको मुख्य कच्चा पदार्थ भनेको सिमेन्ट, गिटी, बालुवा र रोडा हो’ उनले भने, ‘यी सबै सामग्री नेपालमै उपलब्ध छन् ।’

उनका अनुसार प्रिकास्ट कंक्रिटका सामग्रीले नेपालको हालको मागलाई सम्बोधन गर्छ। प्रिकास्ट कंक्रिटका सामग्री विभिन्न डिजाइन र विभिन्न रंगमा उपलब्ध छन्।

यस्तो छ प्रिकास्ट कंक्रिटको बजार मूल्य
प्रिकास्ट कंक्रिट उत्पादन गर्दै आएका कम्पनीका अनुसार अहिले करिब दुई दर्जनभन्दा धेरै कंक्रिटका ब्लक, कर्बस्टोन, टायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर, ड्रेनलगायतका सामग्री बजारमा उपलब्ध हुदैं आइरहेका छन्।

एसियन कंक्रिटोका सेल्स एण्ड मार्केटिङ उपाध्यक्ष श्यामल झाले राष्ट्रिय गौरवका आयोजनामा समेत कंक्रिटका कर्बस्टोन, पेभर, टायललगायतका निर्माण सामग्रीको माग बढ्दै आइरहेको बताए।

‘हाम्रो कम्पनीले उत्पादन गरेको प्रोडक्ट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी विकास कोष, पोखरा, भरतपुर, काठमाडौ र ललितपुर महानगरपालिकामा प्रयोग भइरहेको छ, उनले भने, ‘त्यसबाहेक देशभर रहेका नगरपालिका, गाउँपालिका तथा सरकारले बनाएका सडकको फुटपाथ, डिभाइडर (मिडियन)मा समेत हाम्रो उत्पादन प्रयोग भइरहेको छ।’

उपाध्यक्ष झाले नेपालमा उत्पादन हुने गुणस्तरीय कर्बस्ट्रोन एक किलोमिटर लाम्बाईमा प्रयोग गर्दा भ्याटबाहेक १२ लाख रुपैयाँ लाग्ने बताए्। गुणस्तरीय इन्टरलक पेभरको एक किलोमिटर लम्बाई र दुई मिटर चौडाईका लागि २५.३० लाख रुपैयाँ पर्छ ।

त्यसैगरी इन्टरलक एयरपोर्टका लागि १.५ चौडा र एक किलोमिटर लम्बाईको लागि २५.५० लाख रुपैयाँ भ्याटबाहेक खर्च लाग्नेछ । लक्जरी खालको इन्टरलक फुटपाथ निर्माण गर्दा भ्याटबाहेक प्रतिवर्गमिटरको लागि २५ सय ५३ लाग्ने उत्पादक कम्पनीले जनाएको छन् ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .