कारोबार


कोरियाली भाषा परीक्षाको टुंगो लागेन, तयारीमा जुटेका युवा अलमलमा

कोरियाली भाषा परीक्षाको टुंगो लागेन, तयारीमा जुटेका युवा अलमलमा

अशोक घिमिरे
पुस १८, २०७७ शनिबार १२:१७,

कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुंगो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन्।

आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली कामदार लैजाँदै आएको थियो। परीक्षा कहिले गर्ने भन्ने टुंगो नलाग्दा परीक्षाको तयारी गरेका युवामा भने निराशा छाएको छ।

कोरियाले प्रत्येक वर्ष भाषा परीक्षा उत्तीर्ण हुने नेपाली युवालाई त्यहाँ रोजगारीको अवसर प्रदान गर्दै आएको छ। कोरियाले अझै पनि भाषा परीक्षा कहिले गर्ने भनेर टुंग्याउन सकेको छैन। यस्तै परीक्षा प्रणालीका बारेमा पनि निक्र्योल हुन सकेको छैन। कोभिड–१९ का कारण सन् २०२० मा पनि भाषा परीक्षा सञ्चालन हुन सकेन। गत वर्ष भाषा परीक्षा सञ्चालन हुन नसके पनि यस वर्ष (सन् २०२१ मा) परीक्षा सञ्चालन गर्ने मौखिक जानकारी आएको इपिएस कोरिया शाखाले जनाएको छ। कोरियाले भाषा परीक्षा सञ्चालन गर्ने भने पनि कहिले र कसरी गर्ने भन्ने विषयमा अझै स्पष्ट पारेको छैन।

‘भाषा परीक्षा सञ्चालन गर्ने तयारी गर्दैछौँ भन्ने जानकारी आएको छ’, शाखाका निर्देशक इन्द्र गौतमले भने, ‘लिखित पत्राचार तथा छलफल भएर यो समयमा परीक्षा गर्ने भन्ने तोकिएको छैन।’ यसघि सन् २०१२ मा पनि भाषा परीक्षा रोकिएको थियो। यद्यपि कोरियाले सन् २०२१ को पहिलो त्रैमासमै भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरेको बुझिएको छ।

कोरियाले यसपटकदेखि ‘कम्प्युटर बेस्ड टेस्ट’ (सीबीटी) परीक्षा लिने तयारी गरेको छ। यसअघि ‘पेपर बेस्ड टेस्ट’ (पीबीटी) परीक्षा हुँदै आएको थियो। यसपटकदेखि पीबीटी नगरी सीबीटी परीक्षा गर्ने जानकारी आएको उनले बताए। ‘पीबीटी नगरी सीबीटी परीक्षा गर्ने औपचारिक निर्णय भइसकेको अवस्था होइन्’, निर्देशक गौतमले भने, ‘बीबीटी परीक्षामा पनि डेस्कटपभन्दा पनि ‘ट्याब’बाट अनलाइन परीक्षा लिने गरी तयारी गरिएको बुझिएको छ।’

कोरियाली पक्ष सिबिटी परीक्षाका लागि सफ्टवेर निर्माणमा जुटेको छ। सफ्टवेयरको परीक्षण गर्ने काम पनि भइरहेको छ। परीक्षा भवन निर्माणको काम पनि लगभग अन्तिम चरणमा पुगेको छ। कोरियाली टोली आएर अनलाइन परीक्षाको सम्भाव्यता हेर्ने काम भइरहेको छ।

अबदेखि पीबीटी परीक्षा नगर्ने कोरियाली पक्षले स्पष्ट पारिसकेको छ। ‘यो मितिमा परीक्षा गर्ने भन्ने छैन तर अब परीक्षा हुँदा ट्याबबाटै हुने कुरा छ’, उनले भने, ‘त्यहीअनुसारको पूर्वाधार तयारीको काम चल्दै छ, सीबीटीबाट परीक्षा सञ्चालन गर्नका लागि आन्तरिक तयारी भइरहेको छ।’

कोटा छुट्टयाउन बाँकी
दक्षिण कोरियाले सन् २०२१ मा विभिन्न १६ मुलुकबाट ५२ हजार आप्रवासी कामदार लिने घोषणा गरेको छ। कोरोनाका कारण कोरियाले गतवर्षको तुलनामा चार हजार कम विदेशी कामदार लिन लागेको बताइएको छ।

कोरियाले गत वर्षको तुलनाका आप्रवासी कामदारको कोटा केही कटौती गरेको भन्ने खबर सावर्जनिक भए पनि औपचारिकरुपमा इपिएस कोरिया शाखालाई जानकारी आएको छैन। देशगतरुपमा कामदारको कोटा बाँडफाँड गरेर अहिलेसम्म नपठाएको निर्देशक गौतमले जानकारी दिए।

कोरोनापछि भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका युवा कोरिया जाने क्रम रोकिएको छ। ‘कोभिड–१९ पछि नेपाली पठाउने क्रम रोकिएको छ’, उनले भने, ‘नेपाल तथा कोरियामा पनि ‘लकडाउन’ थियो, हवाई उडान बन्द थियो, त्यही कारण जान बन्द भएको हो।’ लकडाउन हटेर हवाई उडान नियमित भएपछि रोस्टरमा रहेका युवालाई कोरिया पठाउन पहल गरिरहेको उनले बताए।

कोरियाले कोभिड पछाडि आफ्नो मुलुकमा स्वास्थ्य सुरक्षासम्बन्धी नियम परिवर्तन भएकाले सोहीअनुसार कामदार पठाउन भन्दै पत्राचार गरेको छ। ‘कोरोना बीमा, हवाई उडान, क्वारेन्टाइन, ४८ घण्टाभित्रको कोरोना परीक्षण रिपोर्टलगायत शर्त पूरा गर्नुपर्ने विषय उल्लेख गरेर पत्र आएको छ’, उनले भने, ‘हामी सबै विषय सम्बोधन गर्न तयार छौँ भनेर पत्राचार गरिसकेका छौँ, तर कोरियाबाट स्पष्ट जानकारी आएको छैन।’

नेपालले भाषा परीक्षा पास भएका सबै युवालाई रोजगारीका लागि मार्ग प्रशस्त गर्न कोरियासँग आग्रह पनि गरेको छ। ‘पास भएका सबै युवा कोरिया जाऊन् भन्ने हो’, निर्देशक गौतमले भने, ‘तर कोरियासँग भएको श्रम समझदारीको अवस्थाले त्यो देखिँदैन।’ कोरियासँगको श्रम समझदारी नवीकरणका समयमा नेपालले उक्त विषयलाई सम्बोधन गर्न औपचारिक आग्रह गर्ने पनि बताइएको छ।

सन् २००८ देखि हालसम्म भाषा परीक्षा उत्तीर्ण गरी ६२ हजार ८५२ पुरुष र चार हजार २० महिला गरी कुल ६६ हजार ८७२ युवा कोरिया गइसकेका छन्। कोरोना महामारीका बीच सन् २०२० मा एक हजार २७ जना कोरिया पुगेका छन्। भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टरमा रहेका युवा जाने क्रम हुँदाहुँदै नेपालमा लकडाउन सुरु भएको थियो। अझै पनि भाषा परीक्षा पास गरे रोष्टरमा रहेका १२ हजार युवा कोरिया जाने प्रतीक्षामा छन्। तीमध्ये छ हजार हाराहारी छनोटमा परिसकेका छन्। रोस्टर अवधि दुई वर्षको हुन्छ। दुई वर्षभित्र कोरियाली रोजगारदाताले छनोट गरेनन् भने उनीहरु कोरिया जान पाउँदैनन्। कोरियाले कृषि र औद्योगिक क्षेत्रमा नेपालबाट कामदार लैजाँदै आएको छ।

नेपालबाट वार्षिक औषत आठ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने गरेका छन्। सन् २०१९ मा सात हजार १३६ नेपाली रोजगारीका लागि कोरिया गएका थिए। हाल कोरियामा लगभग ३१ हजार नेपाली कार्यरत रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad