ग्रिल तथा स्टील व्यवसायीहरुले ग्रिलजन्य फलामको मूल्य अस्वभाविक रुपमा बढेको बताएका छन्।
व्यवसायीहरुको छाता संगठन ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले ग्रिलजन्य फलामको मूल्य अत्याधिक अनियन्त्रित र अस्वभाविक रुपमा बढेको बताएका हुन्। जसका कारण व्यवसाय नै धारासायी हुने स्थितिमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
कार्यक्रममा महासघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड १९ को कारण बन्द भई मारमा परेका उद्योगहरु बिस्तारै सञ्चालनमा आउन नपाउदै ग्रिलजन्य फलाम र निर्माण सामाग्रीको अनियंत्रित रुपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको बताए।
अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा भएको बृद्धिभन्दा नेपाली बजारमा दोब्बर मूल्य बढेको उनको भनाइ छ। केही सीमित उद्योगीको आपसी मिलेमतोमा ग्रिलजन्य फलामको मूल्य बढाइएको पनि अध्यक्ष कटुवालले बताए।
ग्रिलजन्य फलामाको मूल्य अस्वभाविक रुपमा बढ्दा कोरोनाको संक्रमणका कारण प्रभावित आम उपभोक्ता समेत मारमा परेको अध्यक्ष कटुवालले बताए। यसबाट देशभरी सञ्चालित ११ हजारभन्दा बढी ग्रिल उद्योग बन्द हुने जोखिममा रहेको पनि उनले बताए। यस्तै करिब १ लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख ब्यक्तिको रोजगारी गुम्ने पनि अध्यक्ष कटुवालले बताए।
उनले बजारमा देखिएको अस्वभाविक मूल्य बृद्धिको अनुगमन गरी उचित कारबाही चलाउन सरकारको ध्यानाकर्षण समेत गराए। व्यवसायीहरुले पछिल्लो दुई महिनामा मात्रै ग्रिलजन्य फलामको मूल्य प्रतिकिलो ६० प्रतिशतभन्दा धेरैले बढेको बताएका छन्। नेपालमा ग्रिल व्यवसायले मात्रै वार्षिक ५० अर्ब बढीको ग्रिल जन्य सामग्रीहरुको उत्पादन गर्दै आएका छन्।

प्रतिक्रिया