ठूलै प्रयास र लामो प्रतीक्षापछि नेपालले लागू गरेको क्लिनफिड नीति अर्थात् देशी विदेशी टेलिभिजन च्यानलमा विदेशी विज्ञापनमाथिको अंकुश असफलताको संघारमा पुगेको सम्बन्धित व्यवसायीले बताएका छन्।
आवश्यक व्यवस्थापन र कार्यान्वयन पक्ष फितलो हुँदा यो नीति आगामी दुई/चार महिनामै असफल हुने देखिएको उनीहरुले बताएका हुन्। विदेशी टेलिभिजन च्यानलहरुलाई नेपालमा विज्ञापनरहित बनाउने भनेर सरकारले विज्ञापन नियमन गर्ने ऐन, २०७६ मार्फत क्लिनफिड लागू गरेको थियो।
तर, क्लिनफिड लागू भएको दुई महिना भइसक्दा पनि कार्यान्वयनमा झन् समस्या थपिँदै गएको छ। यसअघि हेर्ने सबै विदेशी च्यानलले क्लिनफिडमा कार्यक्रम दिएका छैनन् भने टेलिभिजन हेर्ने ग्राहकसमेत घट्दै गएका छन्।
यही अवस्थामा अझै रहिरहने हो भने दुई÷चार महिनामा क्लिनफिड नीति असफल हुने सम्बन्धित व्यवसायीको भनाइ छ।
‘क्लिनफिड अहिले नै असफलको अवस्थामा पुगेको छ’, डिशहोमका प्रबन्धनिर्देशक सुदीप आचार्यले भने, ‘यही अवस्था रहेमा तीन/चार महिनामा सरकारले सकेनौँ भनेर हात उठाउने अवस्था आउँछ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जसरी भए पनि क्लिनफिड लागू गर्ने घोषणा गरेका थिए। तर उनी नेतृत्वको सरकारले कसरी कार्यान्वयन गर्ने भन्नेबारे राम्रो गृहकार्य गर्न नसकेको व्यवसायीहरुको भनाइ छ।
क्लिनफिड लागू गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समेत यसबारे गम्भीर नदेखिएको उनीहरु बताउँछन्।
क्लिनफिड लागू भइसकेको अवस्थामा एकातिर ग्राहकले शुल्क तिरेर पनि टेलिभिजन च्यानल हेर्न पाएका छैनन् भने अर्कोतिर नआएका च्यानललाई ल्याउने समस्या समाधानतर्फ कुनै अग्रसरता छैन।
क्लिनफिड लागू भएदेखि नै विभिन्न समस्या आइरहेको अवस्थामा क्लिनफिड नीति नै असफल हुँदै गइरहेको व्यवसायी बताउँछन्। अहिले देखिएका समस्या समाधानतर्फ अग्रसर नहुने हो भने दुई/चार महिनामा पुरानै अवस्थामा फर्किनसक्ने उनीहरुको भनाइ छ।
क्लिनफिडमा आउन मानेनन् च्यानल
विदेशी च्यानलले क्लिनफिडमा आउन मानिरहेका छैनन्। नेपालमा झण्डै सयवटा विदेशी च्यानल आउने गरेकोमा अहिले पूर्ण क्लिनफिडमा १२ वटा मात्र आएको आचार्यले बताउँछन्।
‘पूर्णरुपमा क्लिनफिड लागू भएर आएका च्यानल एक दर्जनमात्रै छन्’, आचार्यले भने, ‘४० वटा जतिले प्रविधि परीक्षण गरिरहेका छन्।’
पूर्ण क्लिनफिड लागू भएका एक दर्जन च्यानलमा जी टेलिभजिनका छन्। विदेशबाट आउने झण्डै सयवटा च्यानलमध्ये ५०–६० वटा च्यानल मात्र आइरहेको उनले बताए।
निःशुल्क आइरहेका च्यानलले पनि शुल्क माग्नथाले
क्लिनफिड लागू गर्दा नेपाली दर्शकले निःशुल्क हेरिरहेका च्यानलले समेत शुल्क माग्नथालेका छन्। जस्तो कि भारतीय समाचार च्यानलहरु, आस्था, संस्कार उनीहरुले पनि क्लिनफिड लगाउने हो भने शुल्क तिर्नुपर्छ भनेका छन्।
क्लिनफिड भने पनि विज्ञापन देखाउने र ब्ल्यांक स्क्रिन
क्लिनफिडमा आएका भनिएका कतिपय च्यानलहरुले बीच–बीचमा विज्ञापन देखाउनथालेका छन्। जस्तो कि स्टार टेलिभिजनका च्यानलमा त्यस्तो समस्या देखिएको छ।
क्लिनफिड लागू भएको च्यानलमा देखिएको अझ ठूलो समस्या भनेको विज्ञापनको ठाउँमा आउने कालो स्क्रिन (ब्लांक स्क्रिन) हो। ती च्यानलहरुले विज्ञापनको ठाउँमा खाली स्क्रिन देखाउने गरेका छन्।
यसले गर्दा टेलिभिजन हेर्ने दर्शकलाई समस्या पारिरहेको आचार्यले बताए।
२० प्रतिशत ग्राहक घटे, राजस्व पनि घट्यो
ग्राहकले पूर्ण शुल्क तिर्ने तर च्यानलहरु हेर्न नपाएपछि टेलिभिजन हेर्नै छाडेका छन्। पछिल्लो दुई महिनाको अवधिमा २० प्रतिशतले ग्राहक घटेको आचार्यको दाबी छ।
‘अहिले ग्राहक घटिरहेका छन्। क्लिनफिडका कारण २० प्रतिशत ग्राहक घटेका छन्’, आचार्यले भने, ‘२५ लाख ग्राहक छन्। त्यसको २० प्रतिशत भनेको ५ लाख ग्राहक हुन्छ।’
घट्ने क्रम जारी रहेको कारण नेपालको टेलिभिजन हेर्नेको संख्या नै घट्ने स्थितिमा पुगेको छ। यसले गर्दा सरकारले पाउने राजस्व समेत घट्दै गएको छ।
विदेशी डीटीएचको बिगबिगी, इन्टरनेट सामग्रीमा ग्राहक रुपान्तरण
क्लिनफिडका कारण च्यानलहरु घट्दै गएपछि ग्राहक वैकल्पिक माध्यमतिर लागेका छन्। जस्तो विदेशी डीटीएच च्यानल हेर्नेहरु ह्वात्तै बढेका छन्। काठमाडौंमा पनि त्यो संख्या वृद्धि हुँदै गएको छ। भारतीय डीटीएच र भारतीय आईपी टिभी हेर्नतिर ग्राहक लागेको उनको भनाइ छ।
त्यस्तै, इन्टरनेटका सामग्रीहरु, एप्स र आईपी टिभीका माध्यमबाट कार्यक्रम डाउनलोड गरेर हेर्नेको संख्या वृद्धि हुँदै गएको छ। यी माध्यममा क्लिनफिड लागू भएको छैन।
एप्स वा आईपी टिभीको एन्ड्रोइड भर्सनबाट कार्यक्रम डाउनलोड गरेर हेर्न थालिएको व्यवसायी बताउँछन्। क्लिनफिड नियम इन्टरनेट सामग्रीमा पनि लागू गर्न भन्दै आइतबार सर्वोच्चमा रिट समेत परेको छ।
सञ्चालन खर्च बढ्यो, आम्दानी घट्दै
क्लिनफिडले सबै च्यानल नआउँदा ग्राहकहरु घटिरहेका छन्। एकातिर टेलिभिजन वितरकहरुको ग्राहक घट्दै गएका छन् भने अर्कोतिर सञ्चालन खर्च बढिरहेको छ।
निःशुल्क आइरहेका च्यानललाई पनि शुल्क तिर्नुपर्ने र क्लिनफिड लागू गर्दा सञ्चालन खर्च बढ्दै गएको र त्यसले गर्दा ग्राहकको च्यानल शुल्क समेत बढाउनुपर्ने स्थिति आएको व्यवसायीको दाबी छ।
एकातिर ग्राहक घट्ने र अर्कोतिर सञ्चालन खर्च बढ्ने गर्दा समस्या भएको आचार्यले बताए। सरकारले नै टेलिभिजन नहरे पनि हुन्छ भनेजस्तो भएको उनले बताए।
नेपाली च्यानलमा डबिङका विज्ञापन
विज्ञापन नियमन गर्ने ऐनले नेपाली टेलिभिजन च्यानलले डबिङ गरेको विज्ञापन बजाउन नपाइने भनेको छ। तर, कतिपय नेपाली च्यानलले अहिले पनि ती विज्ञापन बजाइरहेका छन्। यस बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनुगमन गर्ने र कारबाही गर्ने भनेको थियो तर अहिलेसम्म कारबाही हुनसकेको छैन।
‘जसले कानुन मान्छ, व्यापार गर्न पाएन’, आचार्यले भने, ‘जसले कानुन मान्दैन उसले व्यापार गर्न पाउने अवस्था भएको छ।’
सरकार कमजोर
विज्ञापन व्यवसायीहरुको लामो प्रयासबीच वर्तमान सरकारले क्लिनफिड लागू गर्ने दृढता देखाएको थियो। विज्ञापन बजारको आकार दोब्बर हुने आशा रहिरहेको बेला सरकार भने झन् कमजोर हुँदै गएको छ।
त्यसै पनि क्लिनफिड लागू नगराउन भारतीय दबाब हुँदै आएको थियो। यही बेला संसद् विघटनसँगै अस्थिर राजनीति सृजना भएपछि क्लिनफिडले निरन्तरता पाउनेमा शंका उत्पन्न भएको छ।
Shares

प्रतिक्रिया