कारोबार


पर्यटन मन्त्रालयबाट विदा भए भट्टराई, आफ्नो कार्यकालमा भौतिक पूर्वाधार विकासमा ‘क्रान्ति’ भएको दाबी

पर्यटन मन्त्रालयबाट विदा भए भट्टराई, आफ्नो कार्यकालमा भौतिक पूर्वाधार विकासमा ‘क्रान्ति’ भएको दाबी

नेपालखबर
पुस ६, २०७७ सोमबार ८:२९,

आइतबार राजीनामा घोषणा गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो कार्यकालमा हवाइ उड्डयन क्षेत्रको भौतिक विकासमा ‘क्रान्ति’ भएको बताएका छन्।

२०७६ साउन १५ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका भट्टराईले देशभरका विमानस्थलमा उल्लेखनीय प्रगति भएको दाबी गरेका हुन्।

भट्टराईले आइतबार प्रतिनिधिसभा विघटन भएलगत्तै असन्तुष्टि जनाउने मन्त्रीहरुसँगै पदबाट राजीनामा घोषणा गरेका थिए।

मन्त्रालयका कर्मचारीहरुले आज भट्टराईलाई राखेको विदाइ कार्यक्रममा उनले आफ्नो १७ महिने कार्यकालमा १० महिना कोरोनाकै कारण काम गर्न नसकेको बताए।

यद्यपि आफू मन्त्रालय सम्हाल्दा नेपाल भ्रमणवर्षको तयारीमा जुट्नुपर्ने अवस्था भएकोले पर्यटकीय गन्तव्यको विकासमा थुप्रै काम भएको स्मरण गरे।

‘गत वर्ष ६० प्रतिशत प्रगति भएको छ’, उनले भने, ‘यो धेरै मन्त्रालयको भन्दा राम्रो काम हो। तर सन्तुष्ट हुने ठाउँ थिएन।’

कोभिडका कारण आफूले चाहेका धेरै काम गर्न नसकेको उनको भनाइ थियो।

आफू मन्त्रालयमा हुँदा पहिलोपटक नेपालमा भएका सबै विदेशी कूटनैतिक नियोगका अधिकारीसँग पर्यटन मन्त्रालयमै छलफल भएको बताए।

‘मन्त्रालयमा कूटनीतिक नियोगका सदस्यहरुसँग पर्यटनको विषयमा छलफल गर्दा नेपालको अन्तर्राष्ट्रिय रूपमा छवि राम्रो भएको छ’, उनले भने।

त्यसैगरी उनले युरोपियन युनियनसँग नेपाली हवाइ उडान खुल्ला गर्ने विषयमा धेरै छलफल भएको कारण पछिल्लो समय कालोसूचीबाट हट्ने संकेत देखिएको बताए।

युरोपियन युनियनसँगको छलफलसँगै १० वर्षसम्म बन्न नसकेको उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक संसदमा रहेको जानकारी दिए।

त्यस्तै हवाइ नीति अन्तिम चरणमा रहेको, पर्यटन ऐन मस्यौदा, संस्कृति ऐन मस्यौदा अन्तिम चरणमा रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad