नेपाल बैंक लिमिटेड एवम् चितवनस्थित पर्यटकीय रत्ननगर नगरपालिकाबीच नगरपालिकाद्वारा संचालन गर्न लागिएका बिभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
रत्ननगर नगरपालिका एवम् नेपाल बैंक लिमिटेडबीच ‘नगरप्रमुख उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा सम्झौता भएको हो।
नगरपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य ब्यवसाय प्रवर्धन तथा रत्ननगर नगरपालिकाको नगर प्रमुख उद्यमशिलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशिल बन्न चाहने नगरवासी एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि एकीकृत ब्याज अनुदान कार्यविधि २०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गरिने बैंकले जनाएको छ।
यस्तै, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सिप र ब्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी ब्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदानगरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले रत्ननगर नगरपालिका र नेपाल बैँक लिमिटेड बीच उक्त सम्झौता भएको जनाइएको छ।
सम्झौतामा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा रत्ननगर नगरपालिकाको तर्फबाट नगर प्रमुख नारायण वनले हस्ताक्षर गरेका थिए।
नेपालकै फ्ल्यागशिप बैंकको रुपमा रहेको यस बैंकले २०३ वटा शाखाहरु, १३२ बटा एटीएम तथा ३८ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ सेवा दिँदै आएको छ र चालु आर्थिक वर्ष भित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडि बढाइरहेको छ।

प्रतिक्रिया