कारोबार


अटो एसेम्बल गर्ने उद्योगको ताँती लागेपछि सरकारले थाल्यो अध्ययन

अटो एसेम्बल गर्ने उद्योगको ताँती लागेपछि सरकारले थाल्यो अध्ययन

दीपक भट्ट
मंसिर २९, २०७७ सोमबार १२:३८,

नेपालमै दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनको एसेम्बल गर्न अटो कम्पनीहरुको ताँती लागेको छ। अहिलेसम्म दर्जन बढी यस्ता कम्पनी दर्ता भइसकेका छन्।

केही कम्पनीले एसेम्बलको काम नै थालिसकेका छन्। यस्तो अवस्थामा सरकारले अटो एसेम्बलिङबारे समिति नै गठन गरी अध्ययन थालेको छ।

उद्योग विभागका महानिर्देशको नेतृत्वमा अर्थ मन्त्रालय, कम्पनी रजिस्ट्रारको कार्यालयलगायतको प्रतिनिधित्व रहने गरी एक समिति गठन गरिएको हो।

उद्योग विभागमा विदेशी लगानी र नेपाली लगानीका एसेम्बल उद्योगहरुले सञ्चालनको लागि अनुमति माग गरेका छन्। केहीले त उद्योग दर्ताको प्रक्रिया समेत सक्याएका छन्। त्यसमध्ये टीभीएस र बजाजको भने एसेम्बल नै सुरु भएको छ।

अटो एसेम्बल गर्न सार्प भिजन इन्टरप्राइजेज उद्योग दर्ता भइसकेको छ। यसले स्वदेशी र विदेशी संयुक्त लगानीमा इलेक्ट्रिक स्कुटर उत्पादन गर्नलागेको हो।

त्यस्तै हुन्डाई गाडीको आधिकारिक बिक्रेताका रुपमा रहेको लक्ष्मी ग्रुपले पनि गाडी एसेम्बलसम्बन्धी उद्योग दर्ता गरिसकेको छ।

यसबाहेक कोरियन कम्पनी मोट्रेक्सले समेत ठूलो लगानी गर्ने योजनासहित लगानी बोर्डमा आवेदन दिइसकेको छ।

होङ्फा मोटरसाइकल कम्पनीले २०६५ मै एसेम्बल उद्योग दर्ता गरेको थियो। त्यस्तै हिरोइन इलेक्ट्रिक इन्डस्ट्री पनि गत वर्ष नै दर्ता भएको थियो।

यो कम्पनीले तीन तथा चारपांग्रे भ्यान र मिनिट्रक एसेम्बल गर्ने उल्लेख गरेको छ। बेन्लिङ मोटर टेक्नोलोजी पनि एसेम्बल गर्ने उद्देश्यसहित दर्ता भएको छ।

विभागमा ग्रेटवाल इलेक्ट्रिक कम्पनी पनि दर्ता भइसकेको छ। इलेक्ट्रिक बाइक र स्कुटर उत्पादन गर्ने यो कम्पनीको उद्देश्य छ।

यसकारण अध्ययन गरिँदै
यस्ता उद्योगहरु नेपालमा दर्ता हुन आए पनि सरकारले लगानीकर्ताको पहिचानसहित अध्ययन गर्न लागिएको अध्ययन समितिका सदस्यसचिव तथा उद्योग विभागका निर्देशक सुरेश श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।

उनले भने, ‘यो समिति असोज २६ गते नै गठन भएको हो। ४५ दिनभित्र यसले प्रतिवेदन नै तयार गर्ने भनिएको थियो। चाडबाड र अन्य विविध कारणले गर्दा रोकिएको थियो। अहिले केही काम अघि बढेको छ।’

समितिले हाल नेपालमा एसेम्बल गरिरहेको एभीएसको शंकर ग्रुप र बजाजको गोल्छा अर्गनाइजेसनको प्रतिनिधिलाई समेत राखेर छलफल गरेको छ।

हाल एसेम्बल हुँदा कस्तो किसिमको फाइदा भएको भन्ने जानकारी उनीहरुसँग लिइएको श्रेष्ठले जानकारी दिए।

यो समितिले मुख्यतया तीन विषयमा केन्द्रित रहेर अध्ययन गर्ने कार्यादेश पाएको उनको भनाइ छ।

उनले भने, ‘पहिलो कुरा उद्योगीको व्यक्तिगत पहिचान र लगानीको विषयमा हामी अध्ययन गर्दै छौँ। त्यसपछि भनेको त्यस्तो उद्योगको लागि सरकारले गर्न सक्ने नीतिगत सुधारको विषयमा हामीले हेर्नुपर्नेछ। अर्को विषय भनेको एसेम्बल उद्योग र अन्य निकायहरुसँग रहेको समस्या र त्यसको सुधारको विषयमा अध्ययन गरिनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad