यति एयरलाइन्सले आज (शनिबार) देखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरेको छ।
एयरलाइन्सले प्रत्येक साताको शनिबार दुई वटा पर्वतीय उडान गर्ने योजना अनुसार शनिबार बिहान उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बार्तौलाले बताए। उनका अनुसार आजबाट प्रत्येक शनिबार नियमित रुपमा दुईवटा पर्वतीय उडान हुनेछन्।
एयरलाइन्सले सस्तो प्याकेजमा उडान गर्ने भएपछि यात्रुहरुको चाप पनि बढी देखिएको छ। एयरलाइन्सले सगरमाथाको उचाई बराबरको मूल्य ८ हजार ८ सय ४८ रुपैयाँमा एक टिकट किन्दा अर्को सित्तैमा दिने प्याकेज ल्याएको छ। जसका कारण माग बढेको प्रवक्ता बार्तौलाले बताए।
यस्तै एक जना व्यक्ति मात्रै यात्रा गर्ने हो भने ७ हजार ८ सय ४८ रुपैयाँमा झ्यालको सिट पाउने गरी टिकट उपलब्ध गराइएको पनि उनले बताए। कोभिडको समयमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गरी उडान गरिएको बार्तौलाले बताए।
पर्वतीय उडानमा सहभागी भएका यात्रुहरुले नजिकैबाट हिमालय देख्न पाउँदा खुशी लागेको बताएका छन्। एउटा टिकट किन्दा अर्को सित्तैमा पाउँदा सस्तो पनि भएको र जहाजबाट हिमाल अवलोकन गर्दा निकै आनन्द महसुस भएको बताए। शनिबारको पर्वतीय उडानमा गएका ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले सस्तोमा पर्वतीय उडान गर्न पाउँदा खुशी लागेको बताए।
एयरलाइन्सले यात्रुहरुको माग बढ्दै गए उडान संख्या बढाउँदै जाने बताएको छ। कोभिडको कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उठाउन र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्वतीय उडानमा भारी छुट दिइएको एयरलाइन्सले बताएको छ।

प्रतिक्रिया