कारोबार


कोरोना बीमाको दाबी भुक्तानीबारे समितिलाई अर्थ मन्त्रालयको चार बुँदे निर्देशन

कोरोना बीमाको दाबी भुक्तानीबारे समितिलाई अर्थ मन्त्रालयको चार बुँदे निर्देशन

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ११:०,

अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानीको काममा ढिलाइ गरेको भन्दै बीमा समितिलाई पुनः कडा निर्देशन दिएको छ।

मन्त्रालयले बीमा कम्पनीहरुको नियामक संस्था बीमा समितिलाई चार बुँदे निर्देशन दिएको हो।

मन्त्रालयले कोरोना बीमा मापदण्डबमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गरी दैनिक रुपमा मन्त्रालयमा जानकारी दिन भनेको छ।

त्यस्तै प्रमाणीकरण गर्न बाँकी दाबीको प्रमाणीकरण पनि यथाशीघ्र गरी भुक्तानी दिने व्यवस्था मिलाउन भनिएको छ। यस्तै, कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा विभिनन बीमा कम्पनीहरुबाट प्राप्त दाबी भुक्तानीमा देखिएका समस्याबारे जानकारी दिन समितिलाई भनिएको छ।

मन्त्रालयको आदेशमा भनिएको छ, ‘हाल कुन कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको विवरण पेन्डिङ (रोकिएको)मा छ, सोको विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के कति प्रयास भइरहेको छ, मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के हुन्, यसको विस्तृत विवरण मन्त्रालयमा पठाउनुहुन अनुरोध छ।’

त्यस्तै कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक गर्न मन्त्रालयले निर्देशन दिएको छ।

कोरोना बीमा गरेकाहरुले दाबी गर्दा पनि भुक्तानी नपाएको गुनासो गर्दै आएपछि मन्त्रालयले गत असोज १८ मै यससम्बन्धी दाबी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन दिएको थियो। त्यस्तै राजस्व सचिवको कार्यकक्षमा बुधबार बसेको बैठकले पनि उक्त निर्णय कार्यान्वयन गर्न समितिलाई आदेश दिएको थियो। तर बीमा समितिले मन्त्रालयको निर्णय कार्यान्वयनमा चासो नदेखाएको भन्दै पुनः चार बुँदे निर्देशन दिएको हो।

मन्त्रालयले समितिले ७ दिनभित्र दाबी भुक्तानीको व्यवस्था मिलाउने भने पनि थोरै संख्यामा काम भएको, दैनिक प्रगति प्रतिवेदन नियमित रुपमा मन्त्रालयमा नपठाएको, हटलाइन फोन सेवा सञ्चालन नगरेको र अन्य निर्णय कार्यान्वयनमा पनि उदासीनता देखाएको भन्दै समितिको आलोचना गरेको छ।

LettertoBimaSamiti

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad