सेयरबजारमा आज पनि ३.३९ अंकको वृद्धि देखिएको छ। आज बजार कारोबार मापक नेप्से सूचक उक्त अंकले बढेर १२५९.३७ विन्दुमा आइपुगेको छ। त्यस्तै आज ठूला कम्पनीको कारोबार मापक सेन्सिटिभ सूचक १.०३ अंकले बढेको छ।
आज सेयरबजारमा अघिल्लो दिनको तुलनामा कारोबार गर्ने कम्पनीको संख्या पनि बढेको छ। आज १ सय ७१ कम्पनीको कारोबार भएकामा १० लाख कित्ता सेयर बिक्री भएका छन् भने २९ करोडको कारोबार भएको छ। आज उत्पादन, जीवन बीमा र म्युचुअल फन्डको कारोबार सूचक ओरालो लागेको छ भने बाँकी समूहको सूचक हरियो छ।
कारोबारमा आज सिद्धार्थ बैंक लिमिटेड प्रोमोटर सेयरले सबैलाई उछिनेको छ। उक्त कम्पनीको ३ करोड १६ लाखको प्रतिकित्ता १ सय ९६ रुपैयाँले कारोबार भएको नेप्सेले जनाएको छ। त्यस्तै नेपाल बैंक लिमिटेडको १ करोड ५६ लाखको, प्रभु बैंकको १ करोड ४२ लाखको, कृषि विकास बैंकको १ करोड ३६ लाखको, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड २४ लाखको, शिवम् सिमेन्टको ९८ लाखको, नबिल बैंकको ८७ लाखको सेयर कारोबार भएको छ।
कमाउनेमा भने आज युनाइटेड इन्स्योरेन्सका लगानीकर्ता रहेका छन्। कम्पनीका सेयरधनीले सबैभन्दा बढी ९.९९ प्रतिशत अर्थात् २९ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। त्यस्तै नयाँनेपाल लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९८ प्रतिशत अर्थात् ४२ रुपैयाँ, नेपाल एग्रो लघुवित्तका सेयरधनीले ९.९३ प्रतिशत अर्थात् ५९ रुपैयाँ कमाएका छन्।
त्यस्तै गुमाउने कम्पनीमा भने युनियन हाइड्रोपावर लिमिटेडका सेयरधनीले ६.४१ प्रतिशत, मल्टिपर्पोस फाइनान्स कम्पनीका सेयरधनीले ६.४० प्रतिशत, सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सेयरधनीले ३.२० प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया