संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिबन्ध लगाउने औचित्य नभएको दाबी गरेका छन्।
नगरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुरक्षा रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउनुपर्ने औचित्य समाप्त भइसकेको बताए। तरपनि युरोपियन आकाशमा भएको प्रतिबन्ध हटाउन अझै केही कानूनी पुनरसंरचना गर्नुपर्ने उनको भनाई छ।
त्यसका लागि नागरिक उड्डयन प्राधिकरणको संरचनालाई दुई भागमा विभाजन गरी दुईवटा संगठन बनाउने प्रक्रिया अगाडि बढिसकेको बताए। उक्त विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल भई अगाडि बढिसकेको र आउने अधिवेशनमा प्रतिनिधि सभामा समेत टेबुल हुने चरणमा रहेको बताए।
अहिले प्रकाशित भएको सेफ्टी रिपोर्ट र संगठनात्मक पुनर्संरचनाको कानूनी निर्णयबाट नेपालको हवाई उड्डयन क्षेत्रको कुनैपनि प्रतिवन्धहरु फुकुवा हुने ठाउँमा पुग्ने बताए।
कोभिडको व्यापक संक्रमण भएको अवस्थामा पनि नेपालको एयरपोर्ट एक दिन पनि बन्द नभएको दाबी समेत मन्त्री भट्टराईले गरे। नियमित उडान बन्द गरिएपनि एयरपोर्ट बन्द नभएकोले नेपालको उड्डयन क्षेत्रले आफ्नो क्षमता विश्व सामु देखाइसकेको उनको भनाई छ।
अहिले पनि केही अन्तर्राष्ट्रिय गन्तव्य बाहेक नेपालले विगतमा नियमित उडान गरेका गन्तव्यमा नेपालको तर्फबाट खुल्ला गरिएको पनि बताए। नेपालले कोभिड रोकथामका लागि उड्डयन क्षेत्रमा लागू गरेको मापदण्ड विश्वमै उदाहरणीय भएको पनि दाबी गरे।
प्राधिकरणले सार्वजनिक गरेको सेफ्टी रिपोर्ट अनुसार नेपालमा हवाई उड्डयनमा दुर्घटना कम हुँदै गएको छ। प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पछिल्लो तीन वर्षमा वार्षिक १ वटा दुर्घटना भएको र मानवीय क्षति समेत कम भएको बताए।
हवाई उड्डयनलाई सुरक्षित बनाउन आइकाओको एभिएसन सेफ्टी रिपोर्ट अनुसार प्रोएक्टिभ अवधारणा र रिएक्टिभ अवधारणा अनुसार सेफ्टी रिपोर्ट तयार पारिएको समेत उनले बताए।
Shares

प्रतिक्रिया