नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को स्वच्छता परिक्षण आफैले गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुको सिईओको स्वच्छता परिक्षण गरी मौद्रिक नीति तय गरिएको बताएका हुन्। उनले मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बैंक तथा वित्तिय संस्थाको स्वच्छताका लागि पनि त्यसका सीईओको छनौटमा हस्तक्षेप गर्न लागिएको पनि स्पष्ट पारे।
डा. नेपालले बैंक तथा वित्तिय संस्थाहरुको लगानी उत्पादनमूलक क्षेत्रमा लगाउने कामलाई उच्च प्राथमिकता दिइएको पनि स्पष्ट पारे।
बैठकमा सांसदहरुले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकको सीईओ बनाउँदा पनि नियमन गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरेका थिए। सांसद हृदयश त्रिपाठीले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकले सीईओ नियुक्ती गर्दा पनि कार्वाही गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरे।
त्यसैगरी सांसद तेजुलाल चौधरीले गैर कृषकहरुलाई कृषि लोन प्रवाह गर्दा पनि नियमन गर्न नसकेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको भूमिका माथि प्रश्न उठाएका थिए। उनले कृषि लोनमा विचौलियाहरुको प्रवेश निषेध गर्न पनि नेपाल राष्ट्र बैंकलाई सचेत गराए।
सांसद चौधरीले बैंकहरुले निक्षेप संकलनको नाममा सर्वसाधारणलाई ठगी गरिरहेको आरोप पनि लगाए।

प्रतिक्रिया