ad ad

कारोबार


सुदूरपश्चिममा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल सुरु

सुदूरपश्चिममा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल सुरु

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार ११:३९,

नेपाल आयल निगमले सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन नयाँ डिपो स्थापनाको पहल गरेको छ।

निगम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख चित्तरञ्जन दासले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने सरकारको नीतिअनुसार सुदूरपश्चिम प्रदेशमा नयाँ डिपो स्थापनाको पहल भएको बताए।

यसका लागि कैलालीको गोदावरी नगरपालिका, स्याउले बजार नजीक रहेको शिवशक्ति महिला सामुदायिक वन क्षेत्रको जग्गाको पहिचान गरिएको जनाइएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट नेतृत्वको टोलीले केही दिनअघि सो जग्गाको स्थलगत रुपमा अध्ययन गरेको थियो।

‘नयाँ डिपो स्थापनाका लागि पहिचान गरिएको यो जग्गा प्राप्तिको पहल गर्न लागिएको छ’, दासले भने, ‘जग्गा प्राप्तिपछि ‘भर्टिकल‘ ट्यांकीसहितका संरचना निर्माणको प्रक्रिया शुरु गरिने छ।’

झण्डै चार दशकअघि धनगढीको चटकपुरमा स्थापित निगमको कार्यालय परिसरमा पेट्रोलिम पदार्थको भण्डारण क्षमता घट्दै गएको छ।

सुदूरपश्चिम प्रदेशमा हाल दैनिक ४०० किलोलिटर डिजल र २०० किलोलिटर पेट्रोलको माग रहेको जनाइएको छ।

सो मागका आधारमा निगमसँग तीन दिनलाई पुग्ने क्षमताको डिजलको ट्यांकी र आधा दिनलाई पुग्ने क्षमताको पेट्रोलको ट्यांकी मात्र छन्।

माग बढ्दै जाँदा डिपोमा भण्डारण गरिने पेट्रोलियम पदार्थले धान्न नसक्दा ढुवानी गर्ने ट्यांकरमा नै पेट्रोलियम पदार्थ भण्डारण गरिराख्नुपर्ने अवस्था छ।

कार्यालय परिसरमा रहेको भण्डारण डिपो पछिल्ला वर्षमा मानव बस्तीले घेरिन थालेसँगै कुनै पनि समयमा जोखिम निम्तिनसक्ने खतरा पनि छ।

डिपो परिसरमा पेट्रोलियम पदार्थ लिएर आउने ट्यांकर अड्याउने ठाउँसमेत अभाव हुँदा कार्यालय बाहिर रहेको ‘छ लेन‘ सडकका छेउमा ट्यांकर अड्याएर राख्नुपर्ने अवस्था छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .