एनआईसी एशिया बैंकले क्रेडिट कार्डमार्फत देशभरका जुनसुकै पीओएस मर्चेन्टहरूमा कार्ड स्वाइप गरी भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने ‘इन्स्टा बाइ योजना’ सञ्चालनमा ल्याएको छ।
नगदरहित कारोबारमा ग्राहकहरूलाई आकर्षित गर्ने तथा आवश्यक सामग्री एवं सेवा खरिद गर्न सहजीकरण गर्ने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ।
समयअनुरुप ग्राहकमैत्री उत्कृष्ट योजना ल्याउने क्रममा बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा खरिद सामग्री तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने नविनतम सुविधा ल्याएको हो। यस योजनामार्फत ग्राहकहरूले इच्छाएको सामग्री तत्काल प्राप्त गरी खरिद रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नेछन्।
क्रेडिट कार्ड प्रयोगकर्ताहरूले खरिद गर्ने इलेक्ट्रोनिक्स, घरायसी सामग्री, फर्निचर, टुर प्याकेज, सुन तथा हिराका गरगहना लगायतका सामग्री तथा सेवाहरूको खरिद रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ।
ग्राहकहरूले क्रेडिट कार्डमार्फत सामग्री खरिद गरेपश्चात् आफुलाई नजिक पर्ने बैंकको शाखा पुगेर किस्ताबन्दीको लागि आवेदन दिन सक्नेछन्। बैंकले केही दिनभित्रै वेबसाइटमार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था समेत गर्न लागेको छ।
कोरोना भाइरसको जोखिम कायम रहेकै बेला नगद कारोबारको सट्टा डिजिटल कारोबार गर्नु वान्छनीय रहेको र यस विषम परिस्थितिमा आवश्यक सेवा तथा सामग्रीहरू खरिद गर्न सहज गराउनुपर्ने आफ्नो उत्तरदायित्व महसुश गर्दै बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई सहज एवं सुरक्षित सेवा प्रदान गर्ने विश्वासका साथ ‘इन्स्टा बाइ योजना’ सञ्चालनमा ल्याएको हो।
यस आकर्षक योजनाबाट एकातिर क्रेडिट कार्ड प्रयोगकर्ताहरूले चाहेको सामग्री तथा सेवा तत्काल प्राप्त गर्ने र अर्कोतिर मर्चेन्टहरूले विक्री भएको सामग्री तथा सेवाको तत्काल भुक्तानी प्राप्त गरी भरपुर फाइदा उठाउन सहज पुग्ने बैंकले विश्वास लिएको छ।
यस योजनामा सहभागी भई आकर्षक सुविधा प्राप्त गर्न चाहने नयाँ ग्राहकहरूले क्रेडिट कार्डको निमित्त आवेदन दिन बैंकको कुनै पनि शाखा कार्यालय वा बैंकको वेबसाइटमार्फत जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन आवेदन दिन समेत सक्नेछन्।
बैंकले आफ्नो डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप विभिन्न सेवा तथा सुविधाहरूलाई डिजिटलमैत्री बनाउदै ग्राहकहरूलाई समेत डिजिटल कारोबार तथा सेवा तर्फ आकर्षित गरिरहेको छ। यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ।
स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै डिजिटल कारोबार गर्नेहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई क्यासलेस इकोनोमी बनाउन सहयोग पु¥याउन बैंकले यस प्रकारका योजनाहरू ल्याइरहेको छ।
Shares

प्रतिक्रिया