नेपालमा पछिल्लो तीन महिनामा विलासी वस्तुको आयात ह्वात्तै बढेको छ। त्यसको ठीक विपरीत विकास निर्माणमा प्रयोग हुने निर्माण सामग्री र मेसिनरी पार्टपुर्जाको आयात भने घटेको छ।
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार निर्माण सामग्रीमा प्रयोग हुने फलामे डन्डी, सिमेन्ट, पेट्रोलियम पदार्थ, मेसिनरी पार्टपुर्जा, विद्युतीय सामग्रीहरुदेखि सिमेन्ट क्लिंकरको आयात घटेको हो।
उक्त अवधिमा विलासी वस्तु सुनको आयात एक हजार प्रतिशतले बढेको छ। त्यस्तै, मोबाइल, ल्यापटप, जंक फुड, खाने तेलदेखि अन्य सामग्रीको आयात बढेको छ।
कोरोना संक्रमणले देशै जर्जर भएको अवस्थामा देखिएको वैदेशिक व्यापारको यो चित्रलाई सुखद मान्न नसकिने अर्थविदको भनाइ छ। निर्माण सामग्रीको आयात घटेर विलासी वस्तुको बढ्नु अर्थतन्त्रको लागि दीर्घकालीन रुपमा नकारात्मक असर गर्ने अर्थविद् केशव आचार्यले बताए।
‘अहिले विकास निर्माणका सामग्रीको आयात घटेर आयात घट्यो निर्यात बढ्यो भन्नुको खासै महत्व हुँदैन’, आचार्यले भने, ‘निर्माण सामग्री, मेसिनरी पार्टपुर्जाको आयात घट्नु हाम्रो लागि राम्रो संकेत होइन, यसले हाम्रो अर्थतन्त्रलाई दीर्घकालीन नकारात्मक असर गर्छ।’
मुलुकमा निजी क्षेत्रबाट हुने विकास निर्माणका काम ठप्प प्रायः भएकाले निर्माण सामग्रीको आयात घटेको उनले बताए।
पुनर्निर्माण प्राधिकरणले गरेका एक÷दुईवटा कामबाहेक निजी क्षेत्रको निर्माणकार्य भएको छैन। निजी आवास र निजी क्षेत्रले गर्ने निर्माणकार्य पनि ठप्प छ। काठमाडौंबाहिर पनि त्यस्तै छ। समग्र जलविद्युत् आयोजनाको प्रगति पनि कमजोर छ। यी सबै कारणले सिमेन्ट क्लिंकर, डन्डीको माग कम भएको हो।
एकातिर चालू खाता बचत, व्यापारघाटा घट्नु, निर्यात वृद्धिदर बढ्नु, आयात वृद्धिदरर घट्नु, निर्यातको वृद्धिदरले आयात धान्ने क्षमता अलिकति बढ्यो भन्ने सुखका कुरा भए पनि निजी क्षेत्रले ल्याउन खोजेको निर्माण सामग्री, मेसिनरी पार्टको आयात घटेको छ।
जस्तो बुद्ध एयरले केही जहाज ल्याउने भनेको थियो। त्यो नआउँदा आयात घट्यो भन्ने देखिन्छ। यतिखेर यस्ता वस्तु आयात नहुँदा दीर्घकालीन रुपमा फाइदा नहुने र अर्थतन्त्रलाई पछाडि धकेल्ने आचार्यको भनाइ छ।
सबैभन्दा उल्लेखनीय विषय त कोरोनाले जर्जर पारेको नेपालमा यही बेला सुन आयात १११६.६ प्रतिशतले वृद्धि भएको छ।
चालू आर्थिक वर्षको पहिलो तीन महिना साउनदेखि असोजसम्म ७३ करोड ७० लाख ३४ हजार रुपैयाँबराबरको सुन आयात भएको छ। जब कि गत वर्षको सोही अवधिमा सुनको आयात ६ करोड ५ लाख ८३ हजार रुपैयाँको मात्र थियो। दुई तथ्यांकलाई तुलना गर्दा सुनको आयात एक हजारभन्दा धेरै प्रतिशतले आयात भएको देखिन्छ। गत वर्षभरमा सुनको आयात १३ अर्ब ६३ करोड ९९ लाख ७५ हजार रुपैयाँको थियो।
नेपालबाट चोरी छली भई सीमापारि भारततिर सुन गएको समाचार आइरहन्छन्। यही कारणले पनि नेपालमा सुनको आयात बढेको हुनसक्ने उनको अनुमान छ। चाँदीको आयात भने ८३.५ प्रतिशतले घटेर ४९ करोड ४७ लाख ५२ हजारको आयात भएको छ।
त्यस्तै अर्को धेरै आयात बढेको वस्तु मोबाइल हेन्डसेट हो। गत वर्षको पहिलो तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा ५४.३८ प्रतिशतले मोबाइल आयात वृद्धि भएको छ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ११ अर्ब १० करोड १२ लाख ७७ हजारको १५ लाख २ हजार मोबाइल हेन्टसेट आयात भएका छन्। जब कि गत वर्षको सोही अवधिमा ७ अर्ब १९ करोड ५ लाख ७६ हजार रुपैयाँबराबरका १६ लाख २३ हजार ७ सय ९५ वटा मोबाइल सेट आयात भएका थिए।
मोबाइल सेट आयातलाई भने नकारात्मक रुपमा लिन नसकिने आचार्य बताउँछन्। मोबाइलको उपयोगिता धेरै भएको, यसले अनलाइन कक्षादेखि मोबाइल बैंकिङ प्रणाली, ब्यान्डविथको खपत बढाउने भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने उनको भनाइ छ।
यस अवधिमा सिमेन्ट बनाउन प्रयोग हुने क्लिंकर आयात ६९.८ प्रतिशतले घटेको छ। गत वर्षको पहिलो तीन महिनामा २ अर्ब ९९ करोड ३४ लाखको क्लिंकर आयात भएकोमा यो वर्षको सोही अवधिमा ४९ करोड ४७ लाख ५२ हजारको आयात भएको छ।
आइरन स्टिलको आयात १८ प्रतिशतले घटेर २८ अर्ब १० करोड ३४ लाख ४४ हजारको भित्रिएको छ।
त्यस्तै, पेट्रोलियम पदार्थ ४५ प्रतिशतले घटेर २३ अर्ब १६ करोड ७७ लाख, मेसिनरी पार्टपुर्जा १९ प्रतिशतले घटेर २२ अर्ब ८१ करोड, यातायात र यसका पार्टपुर्जा २७.५ प्रतिशतले घटेर १९ अर्ब ८२ करोडको आयात भएका छन्।
त्यस्तै, हवाइ र यसका पार्टपुर्जा ९१ प्रतिशत, आल्मुनियम २९ प्रतिशत विद्युतीय सामग्री १६ प्रतिशत आयात घटेको छ।

प्रतिक्रिया