रेलमार्ग सहकार्यसम्बन्धी नेपाल–भारत संयुक्त कार्यदलको चौथो बैठक सम्पन्न भएको छ।
बिहीबार भिडियो कन्फरेन्समार्फत् बसेको बैठकले जयनगर–बिजलापुर–बर्दिबास र जोगबनी–विराटनगर सीमापार रेलमार्ग परियोजनाको समीक्षा गरेको थियो।
यात्रुबाहक रेलसेवा सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे छलफल भएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ।
बैठकमा नेपाल रेलवे कम्पनीले यात्रुबाहक रेल सेवालाई सुचारु गर्नका लागि आवश्यक पर्ने स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियर (एसओपी)का बारेमा पनि चर्चा गरिएको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल प्रसाद सिग्देल नेतृत्वको वार्ता टोली
तत्कालीन ब्रिटिश इन्डियाले न्यारो गेजको रुपमा निर्माण गरेको उक्त रेलमार्ग खण्डलाई ३८० करोडभन्दा बढी भारु लागतमा भारत सरकारले ब्रोड गेजमा स्तरोन्नति गरेको हो। यस रेलवे लिंकमा सेवा सञ्चालन गर्न नेपाल सरकारले भारतबाट दुईवटा रेल सेट खरिद गरेको छ।
हाल भारत सरकारले २ सय करोडमा निर्माण गरिरहेको कुर्थादेखि बिजलापुरसम्मको बाँकी खण्डको निर्माण सम्पन्न गर्न दुवै पक्षले आवश्यक आपसी सहयोग तथा समन्वय गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो।
त्यस्तै बैठकमा ३७४ करोड अनुदान सहयोग अन्तर्गत भारतको जोगवनी र नेपालको विराटनगरबीचमा सञ्चालित अन्य अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्न गर्नका लागि तीव्र रुपमा काम अघि बढाउन दुवै पक्षले सहमति जनाएका छन्।
रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंह नेतृत्वको भारतीय टोली
रेल सेवामा कार्यरत नेपाली कर्मचारीहरुको क्षमता विकास गर्न तथा नेपालको आवश्यकता अनुसार कर्मचारीहरुलाई नेपाल र भारतमा प्रशिक्षण दिन कार्यदलका अध्यक्षद्वयले रेलवे क्षेत्रमा सहकार्य विस्तार गर्न समझदारी गरिएकाे पनि विज्ञप्तिमा उल्लेख छ।
उक्त बैठकमा भारतीय टोलीको नेतृत्व रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंहले गरेका थिए भने नेपाली टोलीको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल प्रसाद सिग्देलले गरेका थिए।

प्रतिक्रिया