ad ad

कारोबार


शाङहाईमा नेपाली सामानको फोटो खिचेर लगे, अर्डर आएन

शाङहाईमा नेपाली सामानको फोटो खिचेर लगे, अर्डर आएन

चेतनाथ आचार्य
कात्तिक २६, २०७७ बुधबार १५:३०,

नोभेम्बर ५ देखि १० सम्ममा चीनको शाङहाईमा आयोजित तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा नेपाली व्यवसायीले आशातीत कारोबार गर्न सकेनन्।

एक्स्पो सुरु भएको दोस्रो दिन अवलोकनकर्ताको व्यापक भीड देखेर उत्साही बनेका उनीहरु तेस्रो दिनदेखि अवलोकनकर्ताको संख्या कम हुँदै गएपछि निराश बनेका हुन्।

चीनले विभिन्न समयमा व्यापार मेलाहरु आयोजना गर्दै आएको छ। अरु मेलामा चिनियाँ समानको वर्चश्व रहे पनि आयात एक्स्पोमा भने विदेशी सामान बढी देखिने गर्छ। विशेष गरी अन्य देशका सामानलाई चिनियाँ बजारको पहुँच स्थापना गर्ने उद्देश्यले आयोजित आयात एक्स्पोमा प्रायः देशका व्यवसायीहरु आफ्ना नयाँ उत्पादनलाई लिएर चीनमा आउँछन्।

चीनमा आयोजित अन्य मेलामा नेपाली व्यवसायीले राम्रै कारोबार गर्दथे। विदेशी उत्पादनलाई नै केन्द्रित गरेर आयोजित आयात एक्स्पोमा उल्लेख्य कारोबार गर्ने गरी नेपाली व्यवसायीहरु विभिन्न अवरोध छिचोल्दै शाङहाई आइपुगेका थिए।

कोरोना महामारीले गर्दा अत्यन्त महंगो हवाइ टिकट (दुई लाख रुपैयाँभन्दा बढी), १४ दिनसम्म चीनमा क्यारेन्टिनमा बस्ता ७ हजार चिनियाँ युआन बराबर शुल्क (एक लाख २५ हजार रुपैयाँभन्दा बढी), प्रदर्शनी कक्षको कम्तिमा तीस हजार चिनियाँ युआन (पाँच लाख तीस हजार रुपैयाँभन्दा बढी) र शाङहाईमा बसेखाएको गरी उनीहरुले प्रतिव्यक्ति ९ लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन्। एक्स्पोमा सहभागी हुँदा गरेको लगानीको दस प्रतिशत पनि नउठेको उनीहरुले बताएका छन्।

नेपाली व्यवसायीहरुलाई एक्स्पोमा पठाउने कार्यको संयोजन गरेको नेपाल अन्तर्राष्ट्रिय व्यापार तथा प्रदर्शनी कम्पनीका प्रवन्ध निर्देशक प्रेम सङ्ग्रौलाका अनुसार एक्स्पोमा आशातीत कारोबार नभएको नेपालखबरलाई बताए। मूलतः एक्स्पोमा किनबेच गर्ने भन्दा पनि प्रदर्शनमा राखिएका बस्तु हेरेर अर्डर गर्ने परिपाटी हुन्छ।

तर यसपटकको प्रदर्शनीमा आएका चिनियाँ अवलोकनकर्ताहरुले उल्लेख्य मात्रामा नेपाली सामान किन्ने कुरामा अर्डर नगरेको आफूले थाहा पाएको उनले बताए।

चीनका विभिन्न मेलामा नियमित भाग लिँदै आएका काठमाडौँका दयाप्रसाद जोशीसँग यसपटकको एक्स्पोमा ठूलो मात्रामा थाङ्का बेच्ने उत्साह थियो। अन्य मेलामा राम्रै कारोबार हुने भएकाले विश्वकै सबैभन्दा ठूलो आयात एक्स्पोमा अझै ठूलो कारोबार हुने उनले ठानेका थिए।

मेला उद्घाटन भएको दिन खासै मान्छे नभए पनि दोस्रो दिनको भीडले उनको उत्साहलाई मलजल पनि गरेको थियो। तर त्यसपछिका दिनमा अवलोकनकर्ताको संख्या क्रमशः घट्दै गयो। शनिबार र आइतबार थुप्रै मानिसहरु आउलान् भन्ने उनको सोचाइ पनि गलत भयो।

त्यही बीचमा एक्स्पो स्थलमा ११ जनालाई कोरोना संक्रमण भएको हल्ला चलेपछि मानिसहरु डराएको हुनसक्ने जोशीले बताए।

‘चिनियाँ नागरिकहरु अत्यन्त सचेत हुन्छन् त्यही भएर महामारीका कारण उनीहरु आएनन्, जोशीले भने ‘पहिले पहिलेका मेलाका तुलनामा दस प्रतिशत पनि मानिसहरु आएको मैले पाइँन। मान्छे नआएपछि व्यापार पनि ठप्प भयो।’ एक्स्पोलाई चीनले अत्यन्त व्यवस्थित र स्वास्थ्य सुरक्षा कडाइका साथ लागू गरेको उनले बताए।

एक्स्पोमा ६ वटा नेपाली कम्पनीका ८ वटा प्रदर्शनी कक्ष रहेका थिए। प्रदर्शनीमा नेपाली वस्तुहरुमा थाङ्का, पस्मिना, सिङ्गिङ बोल, मूर्तिहरु र हस्तकलाका सामग्री रहेका थिए। एक्स्पोमा मूर्ति र थाङ्का लिएर आएका श्रीगोपाल श्रेष्ठले बताए अनुसार व्यापार नहुनुको मुख्य कारण कम संख्यामा अवलोकन कर्ता हुनु नै हो।

‘संस्थागत रुपमा सामान अर्डर गर्नका लागि निर्णय गर्ने क्षमताका मानिसहरु यसपटक आएजस्तो लागेन’ श्रेष्ठले भने, ‘प्रायः कम्पनीहरुले कर्मचारी मात्र पठाएका रहेछन्। उनीहरुले सामान अर्डर गर्नका लागि अफिसमा कुरा गर्नुपर्छ भन्दै फोटो खिचेर मात्र लगे।’

एक्स्पो सकिएपछि निरास बनेका नेपाली व्यवसायीहरु केही चीनकै अन्य भागमा आयोजित मेलामा भाग लिने पक्षमा छन् भने केही चाँडै नेपाल फर्कने सोचाइमा रहेका छन्।

जोशीले आफ्नो आगामी आइतबार नेपाल फर्कने टिकट रहेको जानकारी दिए। श्रेष्ठले चाहिँ चच्याङ प्रान्तमा आयोजना हुने मेलामा सहभागी हुन जाने तयारीमा रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .