अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताएका छन्।
बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्र बिना अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताएका हुन्।
उनले कोभिडले सिर्जना गरेको चुनौतिलाई परास्त गर्दै अर्थतन्त्रलाई पुनरउत्थान गर्न, रोजगारीका अवसर बढाउन र उत्पादन बढाउने काम निजी क्षेत्र बिना सम्भव नभएको बताए।
त्यसैले अहिलेको प्रतिकुल परिस्थितिकाबीच पनि व्यवसाय सुचारु गर्न र राष्ट्रिय अर्थतन्त्रमा आ–आफ्नो ठाउँबाट योगदान दिन अनुकुल परिस्थितिको निर्माण गर्ने भुमिकामा सरकार रहेको बताए।
यस्तै सरकारले घोषणा गरेका कार्यक्रमहरु कार्यान्वयनमा नगएको सम्बन्धमा आफ्नो ध्यान केन्द्रित भएको पनि अर्थमन्त्री पौडेलले बताए। सरकारले घोषणा गरेको पुनरकर्जा तथा स्टिमुलस प्याकेजहरु कार्यान्वयनको चरणमा रहेको पनि उनले बताए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजस्वका दरहरु घटाउन माग गरे। सरकारले राजस्वका दरहरु घटाउँदा कारोबार बढ्न जाने र कारोबार बढेपछि स्वतः राजस्वको आकार समेत बढ्ने भएकाले छिटो भन्दा छिटो राजस्वका दरहरु घटाउनुपर्ने अध्यक्ष श्रेष्ठले बताए।
करका दरहरु उच्च हुँदा कुनैपनि वस्तुको मूल्य बढी हुने भएकाले कतिपय सामानहरुको अवैध आयात हुने गरेको व्यवसायीहरुले बताएका छन्। त्यसैले पनि भन्सार दर, राजस्व, मूल्य अभिवृद्धि कर लगायतका करका दरहरुमा सुधार आवश्यक रहेको तर्क व्यवसायीहरुको छ।
Shares

प्रतिक्रिया