ad ad

कारोबार


कोरोना कहरकै बीच ट्रेकिङमा चहलपहल, सगरमाथा क्षेत्रमा बढी आकर्षण

कोरोना कहरकै बीच ट्रेकिङमा चहलपहल, सगरमाथा क्षेत्रमा बढी आकर्षण

वसन्त अर्याल
कात्तिक २१, २०७७ शुक्रबार ८:३३,

कोभिड १९का बीच नेपालको ट्रेकिङ क्षेत्रमा चहलपहल बढेको छ। कात्तिक १ देखि विदेशी पर्यटकलाई समेत खुल्ला गरिएको ट्रेकिङमा दशैँपछि चहलपहल बढेको हो।

सरकारले कात्तिक १ देखि हिमाल आरोहण र पदयात्राको लागि विदेशी पर्यटकलाई खुल्ला गरेको थियो। जसले चैतदेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सहयोग पुर्याएको सरोकारवाला बताउँछन्।

पदयात्राको लागि सबैभन्दा बढी सगरमाथा (खुम्बु) क्षेत्र आकर्षण देखिएको छ। अन्नपूर्ण क्षेत्रमा धेरैको चासो भए पनि स्थानीय तहअनुसार नियम हुँदा अन्योल बढेको छ।

पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पछिल्लो समय अन्तर्राष्ट्रियसँगै आन्तरिक पर्यटक बढेको बताए।

‘विदेशी भीआईपी पर्यटक आउँदा धेरै प्रचार भयो’, सीईओ रेग्मीले नेपालखबरसँग भने, ‘त्यसले अरु विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकलाई घुम्न प्रेरित गर्यो।’

भदौ ३१ मा बहराइनका राजकुमारसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहण गर्न आउँदा अन्तर्राष्ट्रिय रुपमा नेपालको प्रचार भएको थियो। बहराइनको राजकुमारपछि कतारी राजपरिवार सदस्य आमादब्लम हिमाल आरोहण गर्न आउँदा कोभिडका बीच नेपामा घुम्न सकिन्छ भन्ने सन्देश गएको छ।

पर्यटन व्यवसायीले कोभिडको बीचमा विदेशी पर्यटक ल्याउन नसकिने भन्दै सरकारलाई आन्तरिक पर्यटक प्रवर्द्धनमा जोड दिन माग गरेका थिए। सरकारले बजेटमा सरकारी कर्मचारीका लागि देश दर्शन कार्यक्रम ल्याए पनि अहिलेसम्म कार्यान्वयनमा आउन भने सकेको छैन।

कोभिडका कारण लामो समय बाहिर निस्किन डराएका नेपाली अहिले भ्रमणमा निस्किनलागेको व्यवसायी बताउँछन्। यति एयरलाइन्सले दशैँअघि आन्तरिक पर्यटक प्रवर्द्धन गर्न भन्दै थुप्रै आकर्षण प्याकेज सार्वजनिक गरेको थियो।

‘हामीले ल्याएका केही प्याकेजमा राम्रो आकर्षण रहेको छ। कुनै प्याकेज हेरफेर गर्ने तयारीमा रहेका छौँ’, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने, ‘कुनै ठाउँमा स्थानीय तहले पर्यटक आउन दिएका छैनन्। कुनै ठाउँमा पर्यटक इच्छुक छैनन्।’

उनले सबैभन्दा बढी सगरमाथा क्षेत्रमा जाने बढी रहेको बताए। पर्यटन बोर्डले कात्तिक १ पछि १ सयभन्दा बढी विदेशी पर्यटक ट्रेकिङको लागि मात्रै आएको जनाएको छ। पर्यटन विभागले शरद ऋतुमा हिमाल आरोहणका लागि ५८ जनालाई अनुमति दिइसकेको छ।

नेपालमा आन्तरिक तथा बाह्य पर्यटकका लागि हब मानिने पोखरा क्षेत्रमा दशैँपछि चहलपहल बढेको पर्यटन परिषद् पोखराका अध्यक्ष सूर्यबहादुर भुजेलले जानकारी दिए।

सबै विदेशी पर्यटकका लागि अहिले नेपाल आउने नै अनुमति नभएको भन्दै उनले पोखरा क्षेत्र आन्तरिक पर्यटकले चहलपहल बनाएको बताए।

‘दशैंपछि आन्तरिक पर्यटक बढेका छन्। पोखरामा प्याराग्लाइडिङ गर्ने बढेका छन्’, भुजेलले भने, ‘व्यवसायीहरुले ५० प्रतिशतसम्म छुट दिँदा प्याराग्लाइडिङमा आकर्षण देखिएको छ।’

पदयात्राका लागि सबै आकर्षणको रुपमा रहेको अन्नपूर्ण क्षेत्रमा जान पीसीआर नेगेटिभ रिपोर्ट आवश्यक पर्ने हुँदा ‘फ्लो’ नभएको बताउँछन्।

‘अन्नपूर्णको सबै क्षेत्र खुलेको छैन। कुनै ठाउँमा जाने अनुमति छ, कुनैमा छैन,’ उनले भने, ‘खुल्ला गरेको ठाउँमा पनि अधिकांश स्थानीय तहले पीसीआर नेगेटिभ रिपोर्ट माग गरेका छन्।’

पर्यटन व्यवसायीले संघीय सरकार र स्थानीय सरकारबीच राम्रो समन्वय नहुँदा कतिपय क्षेत्रमा समस्या देखिएको बताउँदै आएका छन्। स्थानीय तहले आफूखुसी नियम बनाउँदा अप्ठ्यारो भएको उनीहरुको भनाइ छ।

कुनै स्थानीय तहले १४ दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेका छन् भने कुनैले पीसीआर नेगेटिभ भएकालाई भ्रमण गर्न दिने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .