व्यावसायिक नजरले हेर्न हो भने गण्डकी प्रदेश भन्ने वित्तिकै साना र मझौला व्यवसायी भएको क्षेत्र बुझिन्छ। यो प्रदेशमा धेरै पर्यटनसँग सम्बन्धित व्यवसायी रहेका छन्। उत्पादन मुलक व्यवसायीहरु पनि साना उद्यम गर्छन्।
तर यही प्रदेशलाई नै कर्मथलो बनाएर ठूलो व्यवसायीको रुपमा परिचित थिए, सूर्यबहादुर केसी। गण्डकी प्रदेशमा रहेर अन्तर्राष्ट्रिय बजारसम्म पुगेका उनै केसीको देहवशान भएको छ। मिर्गौला रोगी केसीको ६५ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो।
उनका प्रकाश केसी, किरण केसी र रोशन केसी गरेर ३ छोराहरु छन्। उनी पछिल्लो समय व्यवसायमा भने सक्रिय थिएनन्। राजनीतिमा सक्रिय उनले आफ्ना छोरोहरुलाई नै व्यवसायमा मर्गदर्शन गरिरहेका थिए।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले केसीको निधनबाट पोखरेली व्यवसायीहरुले आफ्नो अभिभावक गुमाएको बताउँछन्।
‘पोखरामा बसेर यत्तिको स्तरीय व्यवसायी अहिलेसम्म नै कमै मात्रै भएका छन्। उनी एक उदाहरण थिए, जो मोफसलबाट अन्तर्राष्ट्रिय बजारसम्म पुगेका थिए’ उनी भन्छन्, ‘केसी सामाजिक कार्य होस् वा व्यावसायिक कार्य, सबै व्यवसायीलाई हौसला प्रदान गर्दथे, उनीबाट सिक्ने कुराहरु धेरै थिए। सबैको आदर्शका पात्र थिए।’
केसीले नेपालमा नै पहिलो पटक चाउचाउ उत्पादन सुरु गरेका थिए। उनले उत्पादन गरेको रारा चाउचाउ स्वदेशमा त लोकप्रिय भएको थियो र अहिले पनि छँदैछ। विदेशसमेत निर्यात भएको थियो। गण्डकी प्रदेशमा उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारमा कमै मात्रै गएका होलान्। जुन केसीले पुर्याएको वाणिज्य संघका अध्यक्ष अधिकारी बताउँछन्।
यस्तो छ सूर्यबहादुर केसीको व्यवसायिक यात्रा
केसीले सुरुमा राइस मिल चलाएका थिए। त्यसपछि २०२३ सालमा केसीको पहलमा रारा चाउचाउ उत्पादन सुरु भएको थियो। त्यसमा अरु लगानीकर्ताहरु पनि थिए। तर केसीकै पहलमा राराको उत्पादन सुरु भएको थियो। २०३० मा केसी कन्ष्स्ट्रक्सन कम्पनी स्थापना गरेर आफ्नो व्यवसाय अघि बढाएका थिए।
अन्तर्राष्ट्रिय बजारमसम्म पुगेको राराको कुरा गर्ने हो भने २०५८ सालसम्म आइपुग्दा उनीसँग रहेका अरु साझेदारहरु सबै बाहिरिए। उनको एकल स्वामित्व कायम भएको थियो। उक्त उद्योगमा एक अर्ब भन्दा बढि लगानी भैसकेको छ।
त्यसैगरी केसी माछापुछ्रे बैंकको संस्थापक अध्यक्ष समेत हुन्। गण्डकीबाट सुरु भएको यो बैंक अहिले राष्ट्रिय स्तरको वाणिज्य बैंकको रुपमा स्थापित रहेको छ।
उनका अन्य व्यवसायहरुमा हिमश्री फुड्स वेस्टन नेपाल, केसी कन्स्ट्रक्सन फर्म, टाक्स हाइड्रोपावर प्रालि, भगवती हाइड्रोपावर प्रालि, सिभिल हाइड्रोपावर प्रालि, गण्डकी हाइड्रोपावर प्रालि, मडक्यू (सिक्लेस) हाइड्रोपावर प्रालि, युनाइटेड इदि मर्दि हाइड्रोपावर प्रालि, अपर सेती हाइड्रोपावर प्रालि रहेका छन्।
उनले नेतृत्व गरेको पब्लिक कम्पनीहरुमा नेपाल इन्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, नेपाल कलेज अफ इनफर्मेसन एण्ड टेक्नोलोजी, कालिका बहुमुखी पब्लिक क्याम्पस रहेका छन्।

प्रतिक्रिया