ad ad

कारोबार


हिमाल आरोहणमा भीआईपी आकर्षणः कतारी राजपरिवार सदस्य पनि आमादब्लम चढ्दै

हिमाल आरोहणमा भीआईपी आकर्षणः कतारी राजपरिवार सदस्य पनि आमादब्लम चढ्दै

वसन्त अर्याल
कात्तिक १८, २०७७ मंगलबार ७:५५,

कोभिड १९ महामारीका बीच खुलेको हिमाल आरोहणमा भीआईपी पर्यटकको आकर्षण बढेको पाइएको छ।

बहराइनका राजकुमारसहितको टोलीले लोबुचे र मनास्लु आरोहण गरेको केही समय नबित्दै कतारी राजपरिवार सदस्यले आमादब्लम हिमाल आरोहण गर्दै छन्।

कतार राजपरिवार सदस्य मोहम्मद विन अब्दुल्लाह अल थानीले अमेरिकाका ग्यारेट क्रिस्टियन म्याडसनको नेतृत्वमा आमादब्लम हिमाल आरोहण गर्नलागेका हुन्।

हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिले महामारीका बीचमा पहिलो टोली आमादब्लम हिमाल आरोहणको व्यवस्थापन गरिरहेको छ।

No description available.
कतार राजपरिवार सदस्य मोहम्मद विन अब्दुल्लाह अल थानीसहितको टोली आमादब्लम आरोहणमा जानुअघि। (तस्बिरः कैलाश हेलिकप्टर)

हिमालयन गाइड्स नेपालका महाप्रबन्धक ईश्वरी पौडेलले शरद ऋतुमा आमादब्लम हिमाल आरोहण गर्ने पहिलो टोली आधार शिविर पुगेको बताए। थानीसहितको टोली आइतबार नै आमादब्लम आधार शिविर पुगेको हो।

‘शरद ऋतुमा आमादब्लम हिमाल आरोहणको पहिलो दल भएकाले बाटो बनाउँदै जानुपर्छ’, महाप्रबन्धक पौडेलले भने, ‘डोरी टांग्दै जाँदा चुचुरोमा पुग्न दुई हप्ता लाग्ने अनुमान गरिएको छ।’

No description available.

आमादब्लम हिमालमा बढी आकर्षण
कात्तिक १ देखि विदेशी पर्यटकलाई खुल्ला गरेसँगै आमादब्लम हिमाल आरोहणमा आकर्षण देखिएको छ। पर्यटन विभागले कात्तिक १६ गतेसम्म ४३ जना पर्यटकलाई विभिन्न हिमाल आरोहण गर्न अनुमति दिएकोमा ३० जना आमादब्लम हिमाल आरोहण गर्ने मात्रै रहेका छन्।

प्राविधिक रुपमा आमादब्लम हिमाल चढ्न सजिलो नभए पनि शरद ऋतुमा बढी आरोही हुने गरेका छन्।

‘छोटो समयमा करिब ७ हजार मिटर उचाइको हिमाल आरोहण गर्न सकिने सुन्दर हिमाल हुँदा आमादब्लममा आरोही चढ्न मन पराउँछन्’, पौडेलले भने, ‘आमादब्लम हिमाल आरोहणकै लागि हाम्रै अर्को ६/७ जनाको टोली नेपाल आउँदै छ।’

बहराइनका राजकुमारको टोलीलाई लोबुचे र मनास्लु सफल आरोहण गराएको सेभेन सुमिट ट्रेक प्रालिले सबैभन्दा बढी १४ जना आमादब्लम हिमाल आरोहण गर्ने अनुमति पाइसकेको छ। जसमा केही आधार शिविर पुगिसकेको सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए।

शेर्पाले भर्खरै मात्र हिमाल आरोहण खुल्ला गरेकाले ८ हजार मिटर उचाइका हिमाल आरोहण गर्न जाडो सुरु हुँदा ६ हजार ८८१ मिटरको आमादब्लम हिमाल चढ्नेको संख्या बढी रहेको बताए।

‘आमादब्लम हिमाल आरोहण सगरमाथा चढ्दा जस्तौ टेक्निकल छ तर उचाइ कम हुँदा छोटो समयमा आरोहण गर्न सकिन्छ’, शेर्पाले भने, ‘विन्टर सिजनमा अग्ला हिमाल आरोहणमा अप्ठ्यारो हुन्छ। त्यसैले ७ हजार मिटरसम्मका हिमाल चढ्ने बढेका हुन्।’

beharain prince himal 6
बहराइनका राजकुमारको टोली केही समयअघि लोबुचे र मनास्लु हिमाल आरोहणमा।

जाडोयाममा समेत आमादब्लम हिमाल आरोहण गर्न बुकिङ गरेको उनले बताए।

कोभिड १९को महामारीका कारण वसन्त ऋतु (चैत)देखि नै हिमाल आरोहण बन्द गरेको थियो। सरकारले साउन १५ पछि हिमाल आरोहण तथा पर्यटकीय गन्तव्य खुल्ला गर्ने निर्णय गरेकोमा विदेशी पर्यटकलाई अनअराइभल भिसा दिएको थिएन्।

कात्तिक १ देखि भने हिमाल आरोहण र पदयात्राका लागि आउने पर्यटकलाई पर्यटन विभाग तथा पर्यटन बोर्डको पूर्वअनुमतिमा नेपाल आउन दिने व्यवस्था गरेको छ।

हिमाल आरोहण वा पदयात्रा कुन प्रयोजनका लागि नेपाल आउँदै छ, त्यसको लागि भिसा दिनको लागि अध्यागमनलाई विभाग÷बोर्डले सिफारिस पत्र पठाउने गरेका छन्।

छ हजार १५१ मिटरको ग्यालजेन पिक ३ जना, ६ हजार ८८१ मिटरको आमादब्लममा ३० जना, ७ हजार १२६ मिटरको हिमलुङ ६ जना लोबुचे २, आइसल्याण्ड पिक, मिरा पिकमा एक–एक जना हिमाल आरोहण गर्दै छन्। ४३ जनामध्ये ३६ जना पुरुष हुन् भने ७ जना महिला रहेका छन्।

हिमाल आरोहण गर्ने अनुमति पाउनेमा नेपालसहित १७ देशका नागरिक रहेका छन्। नेपालका ५,भारत ५, अमेरिका ६, बेलायत ६ जना रहेका छन्।

इटाली र फ्रान्सका तीन–तीन जना हुँदा क्यानेडा, पोलेण्ड, रुस, चेक रिपाब्लिकका दुई–दुई जना रहेका छन् । त्यसैगरी युएई, कतार, युक्रेन, अष्टे«लिया, रोमानिया, स्विट्जरल्याण्ड, जोर्डनका एक–एक जना रहेका छन् ।

No description available.

७ दिन क्वारेन्टिन 'बढी'
कोभिड १९ महामारीबीचको भीआईपी हिमाल आरोहणले नेपालमा पर्यटक आकर्षित हुने व्यवसायीले बताएका छन्। तर पर्यटन व्यवसायीले नेपाल आउने पर्यटकलाई ७ दिनको क्वारेन्टिन बस्ने व्यवस्था बढी भएको उनीहरुको भनाइ छ।

टानका अध्यक्ष खुम बहादुर सुवेदीले पीसीआर नेगेटिभ ल्याउनेलाई पर्यटकलाई १ हप्ता क्वारेन्टिन बढी भएको बताउँदै आएका छन्। हिमालय गाइड्स नेपालका महाप्रबन्धक पौडेलले समेत ७ दिन क्वारेन्टिन बस्न पर्यटकले अप्ठ्यारो मानेको बताए।

‘पर्यटन नेपाल आउन खोजिरहेका छन्। सरकारले पीसीआर नेगेटिभ हुनेलाई पनि ७ दिन क्वारेन्टिन बस्ने नियम बनाएको छ’, पौडेलले भने, ‘हिमाल चढ्न आएका पर्यटक होटलमा बस्दा असहज महशुस गरेका छन्। ३ दिन क्वारेन्टिनमा राखी पीसीआर नेगेटिभ आए आरोहण गर्न दिनुपर्छ।’

पर्यटन व्यवसायीले पर्यटन मन्त्रालय क्वारेन्टिन व्यवस्था ३ दिनमा झार्न सहमत देखिए पनि सीसीएमसी र स्वास्थ्य मन्त्रालय सहमत हुन नसकेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .