तिहारमा ‘भाइ मसला’का रुपमा प्रयोग हुने ओखरको आयात झन्डै २५ प्रतिशतले घटेको छ।
मुलुक पछिल्लो सात महिनादेखि कोरोना भाइरस संकटमा गुज्रिरहेका कारण आयातमा संकुचन आएका भए पनि अघिल्ला वर्षको तुलनामा ओखरको आयात भने बढी हो। केही वर्षअघिसम्म चीन र भारतबाट आयात भइरहेकोमा पछिल्लो वर्षमा युरोप र अमेरिकाबाट समेत ओखर आउन थालेको छ।
तिहारमा दिदी–बहिनीले दाजु–भाइलाई सगुनका रुपमा खुवाउने ओखर गएको तीन महिनामा १६ करोड ७८ लाख १३ हजार रुपैयाँ बराबरको आयात भएको छ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ओखर दुई शीर्षकमा आयात भएको छ। विभागको तथ्यांकअनुसार आवको पहिलो तीन महिना ‘वालनट इन सेल’ शीर्षकमा १६ करोड २७ लाख ४१ हजार र ‘वालनट विथआउट सेल’ शीर्षकमा ५० लाख ७२ हजारको ओखर आयात भएको हो।
चीनबाट १० करोड ११ लाख, चिलीबाट १ करोड ३४ लाख, अमेरिका ५ करोड २९ लाख र भारतबाट २ लाखको मात्र ओखर आएको छ।
यो गत वर्षको सोही आवधिको तुलनामा २४.७८ प्रतिशतले कमी हो। गत वर्ष २२ करोड ३१ लाखको आयत भएको थियो। त्यसमध्ये ‘वालनट इन सेल’ झन्डै १९ करोडको थियो।
ओखर उत्पादनमा नेपालको भूगोल अति उपयुक्त हुँदाहुँदै विदेशमै भर पर्नु परेको छ। कृषि विज्ञका अनुसार नेपालको भूगोल ओखर, बदामजस्ता वस्तु उत्पादन हुने भूमि हो।
ओखर सुक्का जमिनमा उत्पादन हुने खाद्यन्न भएकाले नेपालका अधिकांश पहाडी क्षेत्र यसको लागि उपयुक्त छ। नेपालको कृषि योग्य ५२ प्रतिशत भू–भागमा बदाम र ओखर पनि फल्न सक्छ।
भौगोलिक अवस्था अनुसार जे फल्छ त्यो नगर्ने तर जे हुँदैन त्यसमा जोडबल लगाउने नीतिले कृषि बिग्रदै गएको छ।
धान, मकै, गहुँ, कोदो, जौंजस्ता नेपालका मुख्य बालीको उत्पादन समेत उत्साहजनक छैन। परम्पागरत बालीको खेती नै हुन छोडेको अवस्थामा मुख्य बालीको उत्पादन पनि कम हुँदा आयात बढ्दै गएको छ।

प्रतिक्रिया