ad ad

कारोबार


वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्दै ढकालले भनेः आर्थिक समृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो पूरा गर्छु

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्दै ढकालले भनेः आर्थिक समृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो पूरा गर्छु

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ९:११,

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन्।

बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उहाँको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन्।

ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका छन्।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ।

गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो। पछि पटक–पटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुनसकेको थिएन।

गत वर्ष नै बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदावार प्रस्ताव गरेको थियो। पछि गत फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रम गरी ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।

महासंघको चुनावका लागि उम्मेदवारहरुले आजदेखि मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्न सक्नेछन्। मनोनयन दाखिला इमेलबाटै गर्न सकिने र त्यसको सक्कल कागजागत मंसिर ४ गतेभित्र महासंघमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ।

आर्थिक समृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो पूरा गर्छु : ढकाल
उम्मेदवारी दर्तापछि बोल्दै ढकालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताए।

chandra dhakal ummedawari darta 2

उनले अहिलेको जटिल परिस्थिथिमा महासंघमा सशक्त र डाइनामिक नेतृत्वको आवश्यकता रहेको बताउँदै आफ्नो समूहमात्र अहिलेको समय र परिस्थिति अनुकूल नेतृत्व हुनसक्ने दाबी गरे।

“देश कोभिड–१९ को महामारीको चपेटामा परेको छ । अर्थतन्त्रका सबैजसो अवयवहरु क्षतविक्षत भएका छन्। व्यवसाय र व्यवसायी दुवै संकटमा परेका छन्। यो अहिलेको जटिल परिस्थितिमा व्यवसाय र व्यवसायीलाई जोगाउन सकिएन भने यसले मुलुकको अर्थतन्त्र र विकासमा समेत दीर्घकालीनरुपमा प्रभाव पर्छ। व्यवसाय र व्यवसायीलाई बचाउन, अहिलेको समस्याबाट मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन र मुलुकको विकास र सम्मृद्धिमा सरकारसँग हातेमालो गर्न तथा निजी क्षेत्रको विकासमा रचनात्मक भूमिका निभाउन हामीले उम्मेदवारी दिएका छौं,” उनले बताए।

उनले मुलुकभर भएको व्यवसायिक सञ्जाल, साना देखि ठूला व्यवसायसम्मको अनुभव, व्यवसायी मित्रहरुसँगको सुमधुर सम्बन्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्क नै आफ्नो जीतको मुख्य आधार भएको बताए।

त्यस्तै उनले राज्य र व्यवसायीबिचको सम्बन्ध सुधार गर्दै मुलुकमा व्यवसायिक वातावरण बनाउन आफूहरुले भूमिका निर्वाह गर्ने बताए।

ढकालले आफ्नो समूहले महासंघलाई ठूला र साना सबै उद्योगी व्यापारीको साझा चौतारिका रुपमा स्थापित गर्ने र सबैका समस्या र गुनासा सुनुवाई हुने वातावरण बनाउने बताए।

“महासंघलाई साना, मझौला र ठूला सबै व्यवसायीको साझा चौतारीका रुपमा स्थापित गर्र्न, खास गरेर जिल्ला नगरका साना व्यवसायीका समस्या समाधान गर्न, मुलुकमा लगानीमैत्री वातावरण बनाई बैदेशिक लगानी भित्र्याउन हाम्रो प्यानलले अहम भूमिका निर्वाह गर्न सक्छ,” उनले भने, “यसका लागि सबै व्यवसाय र व्यवसायीको प्रतिनिधित्व हुनेगरी हामीले प्यालन बनाएका छौं ।”

chandra dhakal ummedawari darta 3

वस्तुगत संघतर्फका उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले महासंघको नेतृत्वमा व्यवसायिक व्यक्ति तथा स्टेकहोल्डर आएमात्र त्यसले निजी क्षेत्रका व्यवसायीहरुको वास्तविक प्रतिनिधित्व हुने बताउँदै सरकार तथा अन्य सरोकारवाला निकायहरुमा व्यवसायीका समस्याहरु र व्यवसायका विषयवस्तुहरु उठान गर्न, व्यवसायी मैत्री कानुन, नीति, नियमका लागि पैरवी गर्न र सम्बन्धित निकायले पनि सुन्ने अवस्था बनाउन आफ्नो टिम मात्र सक्षम रहेको बताए।

“यदि नेतृत्वमा हामीले वास्तविक व्यवसायीलाई नै पु¥याउन सकिएन भने हाम्रो आवाज पनि सुनिदैन र समस्याहरुको समाधान पनि मिल्दैन । त्यसैले एउटा व्यवसायीको हिसाबले, सानादेखि ठूला सबै व्यवसायीको साझा प्रतिनिधिका हिसाबले हामीले प्यालन बनाएका छौं र सबै साथीहरुको भावना र चाहाना समेटेका छौं,” उनले बताए।

जिल्ला नगर उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीले साना तथा मझौला व्यवसाय नै मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै महासंघमा पनि साना तथा मझौला व्यवसायीको प्रतिनिधित्व सुनिस्चित गर्नका लागि चन्द्र ढकालको समूहलाई व्यवसायीहरुले रोजेको बताए।

उनले महासंघलाई सबै उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न र सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउन आफूहरुले पहल गर्ने बताए।

एसोसिएटतर्फका उम्मेदवार रामचन्द्र संघईले आफु निर्वाचित भएपछि निजी व्यवसायिक प्रतिष्ठानहरुले भोगेका समस्या समाधानमा विशेष ध्यान दिने बताए।

उनले आफ्नो कार्यकालमा उत्पादनमूलक उद्योगलाई बढवा दिने, आन्तरिक रोजगारी सृजना गर्ने र, रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधारमा काम गर्ने बताए।

chandra dhakal ummedawari darta 4

ढकाल समूहबाट उपाध्यक्षका सबै उम्मेदवारहरुले आजै उम्मेदवारी दिएका छन्। जिल्ला नगरतर्फबाट उपाध्यक्षका उम्मेदवार तिवारीले भने भर्चुअल माध्यमबाट उम्मेदवारी दर्ता गरेका हुन्। ढकाल समूहबाट कार्यसमिति सदस्यका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेको ढकाल समूहले बताएको छ।

‘केही सदस्यहरुले उम्मेदवारी दर्ता गरिसक्नुभएको छ । केही काठमाडौंमा उपलब्ध भएकोले यहीं उपस्थित भएर उम्मेदवारी दर्ता गर्नुहुन्छ भने केहीले भर्चुअलमाध्यमबाट पनि उम्मेदवारी दर्ता गर्नुहुनेछ,’ ढकाल समूहका एक सदस्यले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .