लामो समय चलायमान हुन नसकेको नेपालको अर्थतन्त्र कोरोना संक्रमण नहटे पनि चहलपहल हुनथालेको छ। यो चहलपहलसँगै बैंकहरुमा निक्षेप संकलन र त्यसको लगानी हुने क्रम पनि तीव्र बन्दै गएको हो।
अहिले लगानी विस्तारको होडबाडी नै चलेको देखिएको छ। लगानी विस्तारको लागि बैंकहरुले आफ्नो कर्जाको नयाँ रेट राख्ने र धितो मूल्याङ्कनमा सहज वातावरण बनाउँदै गएका हुन्।
चालू आर्थिक वर्षको तीन महिना बित्न करिब–करिब एक खर्ब २९ अर्ब रुपैयाँ बैंकहरुले आफ्नो लगानी विस्तार गरिसकेका छन्। यही अनुपातमा निक्षेप पनि संकलन भएको नेपाल बैंकर्स संघले जनाएको छ।
कोरोनाको कारण बैंकमा थुप्रिएर रहेको तरलतालाई लगानी गर्न बैंकहरुबीच एकआपसमा नै होडबाजी चलिरहेको देखिएको छ।
ऋणीहरुको धितोमा कुनै एक बैंकले गरेको मूल्याङ्कन अर्को बैंकले बढाइदिने गरेको छ। यसरी लगानीकर्ताहरु आफ्नो बैंकमा तान्ने गरेको छ। यो बजारको लागि राम्रो नै भएको तर स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन्।
भदौ महिनामा जम्मा २५ अर्ब रुपैयाँ मात्रै बैंकहरुले लगानी विस्तार गरेका थिए। निक्षेप पनि २२ अर्ब १९ करोडले मात्रै भएको थियो।
नेपाल राष्ट्र बैंकले भने चालू आर्थिक वर्षको एक महिनाको मात्रै तथ्याङ्क सार्वजनिक गरेको छ। यसअनुसार आर्थिक वर्ष २०७७÷०७८ को पहिलो महिनामा कुल आन्तरिक कर्जा १.४ प्रतिशतले घटेको छ।
अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १.१ प्रतिशतले घटेको थियो। एक महिना अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ०.१ प्रतिशतले घटेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.४ प्रतिशतले घटेको थियो। २०७७ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.७ प्रतिशत, ३२.२ प्रतिशत र ५०.६ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३२.९ प्रतिशत र ४८.० प्रतिशत रहेको थियो।
२०७७ साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.१ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।
२०७६ साउन मसान्तसम्ममा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.१ प्रतिशत र १३.६ प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०७७÷०७८ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले घटेको छ भने निर्माण क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले बढेको छ ।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १.४ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा ०.५ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.१ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ०.३ प्रतिशतले बढेको छ। त्यस्तै ओभरड्राफ्ट कर्जा २.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ९ प्रतिशतले र हायर पर्चेज कर्जा १.४ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
Shares

प्रतिक्रिया