ad ad

कारोबार


मन्त्री पुनको पहलमा हट्यो सोलु करिडोर प्रसारणलाइन निर्माणको अवरोध

मन्त्री पुनको पहलमा हट्यो सोलु करिडोर प्रसारणलाइन निर्माणको अवरोध

नेपालखबर
असोज २८, २०७७ बुधबार ६:२६,

लामो समयदेखि अवरुद्ध सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारणलाइन आयोजना निर्माणको काम अघि बढ्ने भएको छ।

उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिएको थियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तको पहलमा आयोजना निर्माणको अवरोध हटेको हो। स्थानीयबाट प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत शर्त राखेर काममा अवरोध हुँदै आएको थियो।

मन्त्री पुनले मंगलबार उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसद सुरेशकुमार राई, कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, कटारी–४ का वडाअध्यक्ष कृष्णराज दनुवार र सोलु करिडोर आयोजनाका प्रमुख जनार्दन गौतमसँग मन्त्रालयमा छलफल गरी समस्या समाधान गरेका हुन्।

मन्त्री पुनले स्थानीयको मागअनुसार ऐलानी जमिनको मुआब्जा दिने प्रस्ताव गरेपछि सांसद राई, नगर प्रमुख श्रेष्ठ र वडाअध्यक्ष दनुवारले आयोजना निर्माणको अवरोध अन्त्य गर्ने प्रतिबद्धता जनाए।

मन्त्री पुनले सरकार जनताका जायज चासो सम्बोधन गरेरै विकास आयोजनाका काम गर्ने पक्षमा रहेको स्पष्ट गर्दै विकासका काममा कसैले पनि अवरोध गर्न नहुने बताए। त्यसमा जनतासँग सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय तह र जनप्रतिनिधिले महत्वपूर्ण र जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ थियो। मन्त्री पुनले लामो समयदेखि अड्किएको प्रसारण लाइन निर्माणको कामले गति लिने भएपछि आफूलाई सन्तोष मिलेको बताए।

‘आयोजनाको काम अगाडि बढाउने लामो समयदेखिको मेरो प्रयास अहिले आएर सार्थक भएको छ, मलाई यसमा सन्तोष छ’, मन्त्री पुनले भने।

सांसद राईले स्थानीयका समस्या करिब समाधान भएको बताए।

‘ऐलानीको मुआब्जा दिने गरी अवरोध हटाउने सहमति भएको छ’, सांसद राईले भने, ‘मन्त्रीज्यूले आयोजना प्रमुखलाई आँखा चिम्लिएर जनताको माग सम्बोधन गर्न निर्देशन दिनुभएको छ, हामी जनप्रतिनिधि पनि स्थानीय प्रशासन, आयोजना र मर्कामा परेका जनताका बीचमा समन्वय गरेर कामको अवरोध हटाउने काममा लाग्छौं।’

नगर प्रमुख श्रेष्ठले स्थानीयका माग सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रीबाट आएको उल्लेख गरे।

‘मन्त्रीज्यूसँग कुराकानी भयो। हामीले स्थानीयका तर्फबाट उठेका मागबारे मन्त्रीज्यूलाई अवगत गरायौं’’ श्रेष्ठले भने, ‘हामी यहाँ (काठमाण्डौं) बाट फर्किएपछि स्थानीयसँग छलफल गरेर निकास दिने भन्ने भएको छ।’

प्रसारणलाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारणलाइनमा जोडिन नसक्दा गत २०७६ घाघ २० देखि व्यवसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्रो पावरको २३ मेगावाटमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ। प्रसारण लाइन जलविद्युत आयोजनाबाट उत्पादति बिजुली राष्ट्रिय प्रणालीमार्फत ग्राहकका घरघरमा पु¥याउने पूर्वाधार हो।

सिरहाको मिर्चैयादेखि उदयपुरको जलजले, खोटाङको बुइपा र ओखलढुंगा हुँदै सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ। जसमध्ये ९५ प्रतिशत अधिकांश काम सम्पन्न भएको आयोजना प्रमुख गौतमले बताए। गौतमका अनुसार कुल ३ सय २ वटा टावरमध्ये २ सय ८८ वटाको निर्माण सम्पन्न भइसकेको छ।

कूल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) टाङ्ने काम समेत सकिएको छ। मरुवाबाहेक ४ अन्य वटा टावर निर्माणको काम जारी रहेको र दशैँअगावै सकिने आयोजनाले जनाएको छ।

उक्त प्रसारणलाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत सोलेखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लामा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। नेपाल विद्युत प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३ सय २५ मेगावाट विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ।

२०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले १ सय ३२ केभी डबल सर्किट प्रसारणलाइनको ठेक्का सम्झौता गरेको थियो। बिना अवरोध काम भएको भए २०७६ माघ दोस्रो साता प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको हुने थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .