कारोबार


चुलियो टीभीएस मोटरसाइकलको अनधिकृत कारोबार, राष्ट्र बैंक भन्छ- कारबाही हुन्छ

चुलियो टीभीएस मोटरसाइकलको अनधिकृत कारोबार, राष्ट्र बैंक भन्छ- कारबाही हुन्छ

नेपालखबर
असोज २३, २०७७ शुक्रबार १३:३९,

टीभीएस मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले मोटरसाइकल तथा स्कुटरहरुको अनधिकृत बिक्रीवितरण गर्दै आएको पाइएको छ।

नेपाल राष्ट्र बैंकबाट मान्यता नै नलिएको कम्पनीबाट फाइनान्स सेवा दिँदै उपभोक्ताहरुलाई टीभीएसले मोटरसाइकल तथा स्कुटरहरु बिक्रीवितरण गर्दै आएको हो।

नेपाल राष्ट्र बैंकले अनुमति नै नदिएको कम्पनीबाट जगदम्बा मोटर्सले मोटरसाइकल तथा स्कुटरहरुको अनधिकृत कारोबार गराउँदा ग्राहक पनि अप्ठ्यारोमा पर्ने भएका छन्। गाडी तथा मोटरसाइकल खरिद गर्दा आधा रकम भुक्तानी गर्नु र आधाको लागि फाइनान्स गर्नु भनेको बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिनुसरह हो।

सोही कारण राष्ट्र बैंकले आफूसँग अनुमति नै नलिएको वित्तीय कम्पनीबाट यसरी अटो ऋण प्रवाह हुँदा जुनसुकै बेला कारबाही गर्नसक्छ। कुनै वित्तीय कम्पनीलाई कारबाही गरेको खण्डमा त्यसको सिधा मारमा ग्राहकहरु पर्नेछन्।

टीभीएसको बाइक तथा स्कुटरको बिक्री राष्ट्र बैंकको अनुमति नभएकै कम्पनीबाट हुने गरेको स्वयं जगदम्बा मोटर्सले नै स्वीकार गरेको छ।

जगदम्बा मोटर्स कम्पनीका बाग्मती प्रदेशका सेल्स प्रमुख विवेक सिंहले नेपालखबरसँग भने, ‘हाम्रो अन्य कुनै फाइनान्स कम्पनीसँग सहकार्य छैन, आफैँ फाइनान्सको प्रबन्ध मिलाउँछौँ।’

उनले समय–समयको स्किमअनुसार फाइनान्सको सुविधा दिइने भन्दै त्यसको लागि हरेक ग्राहकलाई कम्पनीले नै प्रबन्ध गर्ने बताए।

कम्पनी दर्ता मात्रै भएको जगदम्बा इन्भेष्टमेन्टले यो काम गर्दै आएको छ। वित्तीय कारोबारका लागि राष्ट्र बैंकबाट मान्यता लिनु अनिवार्य छ, जुन जगदम्बा इन्भेष्टमेन्टले लिएको छैन।

यसरी अनधिकृत वित्तीय कारोबार गर्ने कम्पनीविरुद्ध उजुरी परे कारबाही गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। फाइनान्स सेवा दिन नेपाल राष्ट्र बैंकमा आबद्ध फाइनान्स कम्पनीले मात्रै पाउने व्यवस्था छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले यदि मान्यता नलिई यस्तो कारोबार गरेको पाइए कारबाही हुने बताए।

‘कुनै गाडी वा बाइक खरिद गर्दा हायर पर्चेज कर्जाको सेवा दिन राष्ट्र बैंकको अनुमतिप्राप्त संस्था नै चाहिन्छ’, निर्देशक भट्ट भन्छन्, ‘अन्यथा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ आकर्षित हुन्छ र सोहीअनुसार कारबाही हुन्छ।’

के छ ऐनमा?
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ मा हायर पर्चेजको कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने उल्लेख गरिएको छ। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १०३ मा भनिएको छ, ‘कसैले इजाजतपत्र नलिई बैंकिङ तथा वित्तीय कारोबार गरेमा यसै ऐनको दफा १०४ अनुसारको दण्ड सजाय हुनेछ।’

साथै दफा १०४ मा भनिएको छ, ‘यदि कसैले इजाजत नलिई बैंकिङ तथा वित्तीय कारोबार गरेमा बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना र पाँच वर्षसम्म कैद हुनेछ।’

No description available.

एक त अनधिकृत कारोबार अर्को मौद्रिक नीतिको उल्लङ्घन
नेपाल राष्ट्र बैंकले हरेक वर्ष कर्जा निक्षेप तथा वित्तीय कारोबारसम्बन्धी व्यवस्थापन गर्न आर्थिक वर्षको सुरुमा नै मौद्रिक नीति ल्याउने गर्छ। मौद्रिक नीतिमा राष्ट्र बैंकले अटो क्षेत्रलाई समेटेर हायर पर्चेज कर्जासम्बन्धी व्यवस्था गरेको छ। जसमा गत वर्ष र यो वर्ष नेपाल राष्ट्र बैंकले एउटै नीति लिएको छ। डाउनपेमेन्ट ५० प्रतिशत कायम हुनुपर्ने भनिएको छ।

यसको अर्थ कुनै पनि गाडी तथा मोटरसाइकल खरिद गर्दा ५० प्रतिशत रकम भुक्तानी गरेमा ५० प्रतिशत फानान्स गर्न सकिने भनिएको हो। तर टीभीएसले भने शून्य प्रतिशतमा नै यो डाउनमेमेन्ट पाइने उल्लेख गरेको छ। गत असारदेखि नै उसले यस्तो स्किम सार्वजनिक गर्दै आएको छ। अहिले दशैँको स्किममा पनि त्यसैलाई निरन्तरता दिँदै आएको छ।

जगदम्बा मोटर्सले टीभीएस बाइक तथा स्कुटरहरुको नयाँ बिक्री योजना ‘सुरक्षित यात्राको सुरक्षित सहयात्री’ गत असारमा सुरु गरेको थियो। जसमा शून्य प्रतिशतको डाउनपेमेन्ट गर्ने उल्लेख छ।

जगदम्बा मोटर्सले छिटो नाफा कमाउन यस्तो अनधिकृत काम गरेर राष्ट्र बैंकलाई सिधै चुनौति दिँदै आएको छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्ट भने यदि शून्य प्रतिशतको डाउनपेमेन्ट गरेको छ भने पनि कारबाही हुने बताउँछन्।

‘यो त राष्ट्र बैंकले लिएको नीतिविपरीत नै भयो, यसरी कारोबार गर्न पाइँदै पाइँदैन’, उनले भने, ‘यदि टीभीएसले यस्तो गरेको छ भने तुरुन्त कारबाही हुन्छ।’

tvs dashai yojana

ग्राहक झुक्याउने मेलो
आफ्नो बिक्री योजनामा शून्य प्रतिशतको डाउनपेमेन्ट गर्ने उल्लेख गरेको जगदम्बा मोटर्सले बैंकले प्रश्न उठाउँदा त्यो स्किमको नामकरण मात्रै भएको बताउने गरेको छ। टीभीएस बाइक तथा स्कुटरहरुको कारोबार शून्य प्रतिशतको डाउनपेमेन्ट गरेर कि त जगदम्बा मोटर्सले बैंकलाई चुनौति दिइरहेको छ होइन भने उसले ग्राहकलाई झुक्याइरहेको प्रष्ट हुन्छ।

टीभीएसको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका कर्मचारी शून्य प्रतिशत डाउनपेमेन्ट भनेर स्किम ल्याइएको भएपनि त्यसरी मोटरसाइकल दिन नसकिने स्वीकार गर्छन्। यसले के प्रमाणित हुन्छ भने शून्य प्रतिशत डाउनपेमेन्ट स्किम ग्राहक ठग्ने मेलो मात्रै हो।

बाग्मती प्रदेश सेल्स चिफ सिंह भन्छन्, ‘यो त एउटा स्किमको नामकरण मात्रै हो, हामी ४० प्रतिशतसम्म पेमेन्ट गर्नेलाई मात्रै मोटरसाइकल दिन सक्छौं।’

नेपाल राष्ट्र बैंकले यस्तो स्किमको भर नपर्न सर्वसाधारणलाई आह्वान गर्दै आएको छ। साथै यसरी ग्राहक झुक्याउने स्किम नल्याउन भन्दै आएपनि जगदम्बा मोटर्सले अटेर गरेकाले अब कारबाही प्रक्रियामा जाने संकेत दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad