राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ इन्ष्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन्। सम्झौतापछि गत वर्ष जस्तै चालु आ.ब. २०७७/०७८ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि नेशनल बैंकिङ इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिम प्रदान गर्ने छ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लिएको उदेश्य हासिल गर्नको लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिईरहेको बताउँदै तालिमले तालिम लिने व्यक्ति र संस्था दुवैको कार्यदक्षता बृद्धि हुने बताए।
इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले संस्थाको उत्पादकत्वमा बृद्धि गर्ने बताए। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले कार्यक्रमबारे प्रकाश पारेका थिए भने सिकाइ तथा विकास विभागका विभागीय प्रमुख दीपकराज न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए।
समारोहमा बैंकका उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, कम्पनी सचिव भोलानाथ पौडेल, नेशनल बैंकिङ इन्ष्टिच्युटका तर्फबाट हेड अफ प्रोग्राम धन थापा, प्रोग्राम म्यानेजर दर्पण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। बैंकको हाल ७७ वटै जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ।

प्रतिक्रिया