ad ad

कारोबार


चिनियाँ नाका खुल्यो, सस्तो होला दशैँको कपडा?

चिनियाँ नाका खुल्यो, सस्तो होला दशैँको कपडा?

दीपक भट्ट
असोज २०, २०७७ मंगलबार ६:४७,

दशैँ भन्नेबित्तिकै नयाँ कपडा किन्ने र लगाउने, घरपरिवारमा पनि नयाँ वस्तु जोड्ने रुपमा लिइन्छ।

तर यसपटक विश्वमा कोरोना महामारीको कारण विगत वर्षजस्तो परिस्थिति छैन। नेपालमै छ महिनायताको लकडाउन र निषेधाज्ञासँगै अन्तर्राष्ट्रिय नाका बन्द हुँदा बजार महंगिएको थियो। मोबाइल, कपडाजस्ता बाहिरबाट आयात हुने वस्तुहरु महंगिँदा पनि उपभोक्ता खरिद गर्न बाध्य भएका थिए।

दैलोमै आइसकेको दशैँमा खपत हुने अधिकांश वस्तु छिमेकी देशहरु भारत र चीनबाट नै आउँछन्। भारत तर्फबाट आपूर्तिमा कुनै समस्या नरहे पनि चीनतर्फको नाका भने माघदेखि नै ठप्प थियो। तातोपानी नाका त त्योभन्दा अघिदेखि नै बन्द थियो।

चीनबाट विशेषगरी कपडा र विद्युतीय सरसामग्री धेरै आउँछन्। नेपालमा चाडपर्वको बेला यिनै वस्तु धेरै खपत हुन्छन्। यही कारण पसलहरु खचाखच हुने गर्छन्। किनमेल गर्नेको घुइँचो हुन्छ।

आइतबारदेखि तातोपानी नाका सञ्चालनमा आएको छ। नेपालमा आयात हुने सामान बोक्ने कन्टेनरहरु पनि अहिले लाइन लागेर सामान ओसार्नथालेका छन्।

त्यस्तै रसुवागढी नाका पनि नेपाल–चीन सहमतिमा सञ्चालन गर्ने निर्णय भइसकेको छ। तर चीनतर्फको पहिरो नपन्छिँदा आयातमा अझै समस्या छ।

नाका सञ्चालन हुँदा केही सामान चीनबाट नेपाल भित्रिन थालिसकेका छन्। यसले बजार मूल्यलाई तलमाथि पार्ला वा नपार्ला अहिले सबैको चासोको विषय यही छ।

तर यसमा व्यापारीहरुको भने भिन्न मत छ। उनीहरु भन्छन्, ‘चीनतर्फको नाका रोकिए पनि चीनबाट आउने सामान रोकिएको थिएन।’

पानी जहाजबाट भारत हुँदै चीनको सामान भारत तर्फबाट आएकै थियो। उनीहरुकै भनाइलाई मान्ने हो भने यही कारण बजारमा सामान अभाव हुनै पाएन।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले भने, ‘नेपालमा धेरैले अहिले बजारमा नयाँ डिजाइनका कपडा वा अन्य वस्तु छैनन् भन्ने गरेको पनि सुनेको छु, चीनतर्फको नाका बन्द हुँदा वस्तु बजारमा छैन भन्ने हल्ला पनि कतै सुनेको छु त्यो गलत हो। नेपाल चीनको नाका बन्द भए पनि भारत हुँदै समान आइरहेकै छ।’

सोही कारण बजारमा कुनै पनि सामान अभाव नभएको उनले स्पष्ट पारे।

अर्को कुरा मूल्यको कुरा गर्दा भारत हुँदै सामान आयात गर्दा केही लागत बढी पर्ने उनको तर्क छ। त्यसकारण थोरै मात्रै मूल्यमा असर गर्न सक्छ। तर ठूलै मात्रामा मूल्य बढ्ने भन्ने सवाल नभएको उनको दाबी छ।

अहिले चीनतर्फको नाका सञ्चालनमा आएपछि बजार सामान्य अवस्थामै फर्किनेमा उनी ढुक्क छन्।

केले अड्काउँदै छ रसुवागढी नाका सञ्चालन?
तातोपानी नाका आइतबारदेखि पूर्ण रुपले सञ्चालनमा आए पनि रसुवागढी भने अझै सञ्चालनमा आएको छैन। नेपाल सरकार र चीन सरकारबीच भएको छलफलले दुवै नाका सञ्चालनमा ल्याउने निर्णय गरेको थियो तर रसुवागढी नाका सञ्चालनमा नआएपछि व्यापारीहरु चीनसँग सशंकित देखिएका छन्।

सीमा क्षेत्रनजिक चीनको भूभागमा माथिबाट पहिलो आएर बाटो अवरोध भएको बहाना चीनले बनाएको र सोही कारण नाका सञ्चालन नगरेको व्यवसायीहरुको बुझाइ छ।

अध्यक्ष कटुवालले भने, ‘त्यो पहिलो बाटोमा आएर बसेको छ, त्यसमा जम्मा ४०÷५० ट्रक माटो होला, यदि चीनले चाह्यो भने त्यो एकै छिनमा पन्छाउन सक्छ तर उनीहरु बाटोमा पहिरो भएको भन्दै आयातनिर्यात रोकिरहेका छन्।’

‘नाका नखोल्न चीनको बहाना’
माघदेखि बन्द भएको रसुवागढी नाका भदौ सुरुमा एक हप्ताजति सञ्चालनमा आएको थियो। नेपालतर्फ सामान ओसारपोसार गर्ने दुई जना नेपालीलाई कोरोना संक्रमण देखिएपछि चीनले नाका बन्द गरेको थियो। नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि चीनले पनि नाका खुलाउन आनाकानी गर्दै आएको छ।

चीनमै रोकिए कन्टेनर
चीनको नाका बन्द हुँदा केही व्यापारीले चाहिँ सिधै सामान ल्याएर बेच्न पाइरहेका छैनन् भने केही व्यापारीहरु माघदेखि नाका (चीनतर्फ)मा कन्टेनर रोकिएर समस्यामा परेका छन्।

माघ १४ गतेदेखि चीनले नेपालतर्फको नाका बन्द गरेको थियो। त्यो समयमा नेपाल भित्रिन लागेका एक हजारभन्दा बढी कन्टेनर सामान लोड भइसकेको अवस्थामा रोकिएर बसे। नाका खुलाउने आशामा बसेका ती कन्टेनर अहिलेसम्म पनि आउन नसकेको अध्यक्ष कटुवालको भनाइ छ।

त्यसले व्यापारीहरुलाई ठूलो घाटा परेको र त्यो समस्या पराराष्ट्र मन्त्रालयदेखि सरोकारवाला निकायहरुसम्म राख्दा पनि सुनुवाइ हुन नसकेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .