विदेशी संस्था र गैर–आवासीय नेपाली (एनआरएन)ले विदेशी मुद्रा नै नेपाली बैंकमा राख्न पाउने भएका छन्। चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले नेपाली बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशी मुद्रा नै निक्षेप लिन सक्ने व्यवस्था गरेको हो। यसअनुसार उनीहरुले नेपाली बैंकमा विदेशी मुद्रा नै राख्न सक्नेछन्।
मौद्रिक नीतिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत विदेशी निक्षेपकर्ता तथा गैर–आवासीय नेपालीहरुबाट कम्तीमा पनि २ वर्ष अवधि भएको विदेशी मुद्रा मुद्दती निक्षेप संकलन गर्नसक्ने र यस्तो निक्षेपको शतप्रतिशतसम्म नेपाली मुद्रामा कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरिनेछ।’
बैंक तथा वित्तीय संस्थाहरुले स्वदेशी मुद्रामा निक्षेप संकलन गर्दा एक संस्थाबाट संकलित निक्षेप आफ्नो कुल स्वदेशी मुद्रा निक्षेपको अधिकतम १० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था आर्थिक वर्ष २०७६÷०७७ को मौद्रिक नीतिले गरेको छ। साथै, कुल स्वदेशी मुद्रा निक्षेपमा संस्थागत निक्षेपको अंश ५० प्रतिशतसम्म हुनसक्ने विद्यमान व्यवस्थालाई यथावत् राखिएको छ।
त्यस्तै व्यक्तिगत प्रकृतिका कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जा लगायतका किस्ता भुक्तानीमा आधारित गैर–व्यावसायिक कर्जा प्रवाह गर्दा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा कायम गरिने भएको छ।

प्रतिक्रिया