कारोबार


निजी सेयर बढेपछि नेपाल बैंकको सञ्चालक समितिबाट सरकारी प्रतिनिधि घटाइँदै

निजी सेयर बढेपछि नेपाल बैंकको सञ्चालक समितिबाट सरकारी प्रतिनिधि घटाइँदै

दीपक भट्ट
असोज ४, २०७७ आइतबार १४:१७,

नेपाल बैंक लिमिटेड नेपालको सबैभन्दा पुरानो बैंक हो। विसं १९९४ राजा त्रिभुवन शाहले उद्घाटन गरेको यो बैंकमा अहिले सरकार र निजी क्षेत्रको हिस्सा लगभग बराबर भएको छ। हाल बैंकमा सरकारको ५१ प्रतिशत सेयर लगानी छ भने निजी लगानी ४९ प्रतिशत।

विगतमा बैंकको व्यवस्थापन समस्याग्रस्त भएपछि नेपाल राष्ट्र बैंकले आफ्नो अधीनमा लिएर पुन नेपाल बैंकको व्यवस्थापनलाई नै हस्तान्तरण गरेको यो बैंकको सूचकांक अहिले सन्तोषजनक छ। तर नेपाल बैंकको बीचबीचमा जारी गरेका एफपीओ (फर्दर पब्लिक इस्यु) निष्कासनले अहिले बैंकमा निजी लगानी पनि बढेको छ। कुल सेयरको आधा निजी क्षेत्रको हातमा पुगेपछि सो बैंकमा सरकारको तर्फबाट जाने प्रतिनिधिको संख्या पनि घट्ने भएको छ।

सरकारी प्रतिनिधि घटाउने व्यवस्था गर्न नेपाल बैंक लिमिटेडको विशेष साधारण सभा समेत डाकेको छ। नेपाल बैंकले यही असोज १९ गतेको लागि विशेष साधारण सभा आह्वान गरेको बैंकका अध्यक्ष वासुदेव अधिकारीले नेपालखबरलाई जानकारी दिए।

सो विशेष साधारण सभाको प्रमुख एजेन्डा नै सञ्चालक समितिमा सरकारी प्रतिनिधि घटाउने रहेको उनको भनाइ छ।

‘यसअघि बैंकको सञ्चालक समितिमा सरकारका चार प्रतिनिधि थिए। अब त्यसलाई घटाएर तीन जना कायम गर्ने व्यवस्था मिलाइने छ,’ अधिकारीले भने, ‘अन्य सेयरधनीहरुको तर्फबाट निर्वाचित हुने दुई जना सञ्चालकहरुबाट वृद्धि गरी तीन जना कायम गर्ने व्यवस्था विशेष सधारण सभाले गर्ने छ।’

त्यसका लागि नियमावली संशोधन गर्ने उनले बताए।

‘साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम हुने गरी प्रबन्ध तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गरिन्छ,’ उनले भने।

बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्दा संचालक समितिलाई अख्तियारी दिइने समेत उक्त विशेष साधारण सभाको एजेन्डा छ।

यसको अर्थ हाल रहेका सरकारका चार प्रतिनिधिमध्ये तत्कालै एक जना बाहिरिने भने होइनन्। अहिलेको विशेष साधारणसभाले गरेको व्यवस्था अनुसार आगामी वार्षिक साधारण सभामा निर्वाचन हुने छ। त्यसमा नेपाल सरकारले तीन जनाको नाम मात्रै पठाउन पाउने छ। वार्षिक साधारण सभाको मिति पनि सञ्चालक समितिको बैठकले तोक्ने छ।

हाल बैंकको सञ्चालक समितिमा अध्यक्षसहित ७ जना सदस्य छन्। त्यसमा एकजना स्वतन्त्र व्यक्ति छन् भने ४ जना सरकारी प्रतिनिधि र २ जना निजी क्षेत्रका आएका छन्। अब भने सरकारी र निजीका तीनतीन जना सहभागी हुने छन्।

नेपाल बैंकले गत आर्थिक वर्ष २०७६/७७ अवधिमा २ अर्ब ५५ करोड खुद नाफा आर्जन गरेको छ। जसमा सेयरधनीलाई वितरणयोग्य नाफा २ अर्ब १० करोड रुपैयाँ छ। बैंकको सञ्चालन नाफा ३ अर्ब ५६ करोड रुपैयाँ छ। बैंकको खराब कर्जा अनुपात २ दशमलव ५९ प्रतिशत छ। निक्षेप कर्जा अनुपात ६५ प्रतिशत छ। बेसरेट ६ दशमलव ९९ प्रतिशत छ भने स्प्रेडदर ३ दशमलव ७० प्रतिशत छ। बैंकको सेयर पुँजी, सेयर प्रिमियम, अवितरित नाफा, संचित कोषसहित कुल पुँजी ३० अर्ब १८ करोड छ। अर्थात् ३० अर्ब १३ करोड रुपैयाँ पुँजी परिचालन गरेर बैंकले २ अर्ब ५५ करोड रुपैयाँ नाफा गर्न सफल भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad