पर्यटन बोर्डले चाडपर्वको रौनक अनुभूत गराउने उद्देश्यले फोटो प्रतियोगिता आयोजना गरेको छ।
गत वर्षजस्तो आफन्तसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र सृजनशीलता सम्मिश्रण गराउन अनलाइन फोटो प्रतियोगिता आयोजना गरिएको बोर्डले जनाएको छ।
बोर्डले नेपालको कुनै पनि चाड वा गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन सकिने बताएको छ।
बोर्डका अनुसार सहभागीहरुले आगामी मंसिर १० सम्म फोटोहरु पठाइसक्नुपर्नेछ। नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट फोटोनेपाल डट ट्राभलमार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ।
उत्कृष्ट पाँच सहभागीहरुले जनही दश हजार नगद पुरस्कार प्राप्त गर्ने बोर्डले जनाएको छ।
बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले विगतका फोटो प्रतियोगिताहरुमा देखिएको उत्साहजनक सहभागिताका कारण यसपटकको फोटो प्रतियोगितालाई फोटो सिरिज प्रतियोगिताका रुपमा गरिएको बताए।
प्रत्येक सहभागीले कम्तीमा सातवटा भिन्नाभिन्नै फोटोहरु पठाउनुपर्नेछ। यसले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराई फोटोमार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई बृहत् बनाउने बोर्डको अपेक्षा छ।
नेपाल पर्यटन बोर्डले चार वर्षदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटोनेपाल फोटो प्रदर्शनी गर्दै आएको छ।

प्रतिक्रिया