कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको आदेश विपरित काठमाडौं उपत्यकाभित्रको बजार सञ्चालनमा आएको छ।
उपत्यका भित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते तीन साता लामो निषेधाज्ञालाई खुकुलो बनाई सातामा तीन दिन पसल सञ्चालन गर्न पाउने गरी दिन नै तोकेको छ। तर हरेक दिन सबैजसो पसल व्यवसाय सञ्चालन हुन थालेका छन्। जसका कारण काठमाडौंको न्यूरोड, असन, महाबौद्ध क्षेत्रमा भिडभाड बढेको छ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते तीन साता लामो निषेधाज्ञालाई खुकुलो पार्दै पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो। जस अनुसार खाद्यवस्तु, दुधजग्य पदार्थ, फलफुल, तरकारी, माछामासु लगायतका पसलहरु दैनिक विहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने छ।
तर सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायतका पसलहरु सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ। भाँडा र भान्साजन्य सोही प्रकृतिका सबै पसलहरु आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइनेछ। फर्निचर, अटो मोबाइल सम्बन्धी पसलहरु भने सोमबार र बुधबार मात्र खोल्न पाइने नियम लगाइएको छ।
तर आइतबार उपत्यकाका विभिन्न बजार क्षेत्रमा पुग्दा सबैखाले पसलहरु सञ्चालनमा आएको पाइएको छ। त्योपनि तोकिएको मापदण्ड पालना नगरी।
काठमाडौंको इन्द्रचोक, असन, महाबौद्ध लगायतका व्यापारिक क्षेत्रमा पुग्दा अधिकांश पसलहरु सञ्चालनमा आएका छन्। सरकारले तोके अनुसार आज (आइतबार) भाँडा र भान्सा जन्य पसलहरु, अटोमोबाइल, फर्निचार मात्रै खोल्न पाईन्छ। तर सबै फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल समेत खुलेको पाइएको छ। जुन सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइने छ।
सरकारको आदेश विपरित सञ्चालनमा आएका यस्ता पसलहरुमा मापदण्ड समेत पालना नभएको पाइएको छ। केही व्यवसायीहरु मास्क समेत नलगाएका देखिन्छन्। बजारमा किनमेल गर्न पुगेका उपभोक्ताहरु पनि व्यवसायीहरुले कोभिड संक्रमण रोकथामका लागि कुनैपनि मापदण्ड पालना नगरेको बताउँछन्।
सरकारले फुटपाथ, ठेला व्यापार, स्टेशनरी पसल, इलोक्ट्रोनिक्स पसल, डिपार्टमेन्टल स्टोर लगायतलाई बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजसम्म मात्रै खोल्न पाउने नियम बनाइदिएको छ। तर यस्ता पसलहरु दिनभर खुल्ने गरेका छन्। सरकारले पसल सञ्चालनमा मापदण्ड पालना भए नभएको अनुगमन नगर्दाको फाइदा व्यवसायीहरुले भरपुर लिएका छन्।

प्रतिक्रिया