सरकारले समयमै किसानलाई मल उपलब्ध गराउन नसकेपछि बंगलादेशसँग सापटीमा मल लिने तयारी अघि बढाएको छ। यसका लागि प्रस्ताव गरिसकेको कृषि मन्त्रालयले जनाएको छ।
यो वर्षको धान मलविनै बाला लाग्ने अवस्थामा पुगिसकेको छ। नेपाललाई वार्षिक ७ लाख मेट्रिक टन रासायनिक मल चाहिने भए पनि सरकारले मागअनुसारको मल सयममा नै उपलब्ध गराउन नसक्दा धानको सिजनमा देशभर मलको अभाव भएको थियो।
यो वर्ष गहुँ लगाउने सिजनमा पनि मल अभाव हुने देखेर सरकारले बंगलादेशसँग मल सापटीको प्रस्ताव राखेको छ। नेपालको रासायनिक मल आयात गर्नेे कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनी हो।
साल्ट ट्रेडिङले हरेक वर्ष समयमा मल उपलब्ध गराउँदै आए पनि कृषि सामग्री कम्पनीले भने हरेक वर्ष मलको अभाव गराउने गरेको छ। यो वर्ष कोरोना संक्रमण र त्यसपछि भएको विश्वव्यापी लकडाउनको बहाना बनाएर कृषि सामग्रीले हालसम्म मल भित्र्याउनै सकेको छैन। कुल मल आयातको ७० प्रतिशत आयत गर्ने जिम्मेवारी कृषि सामग्री कम्पनीको हो। पूर्ण सरकारी स्वामित्वमा रहेको यो कम्पनीले जिम्मेवारीपूर्ण काम नगर्दा किसानहरु मारमा पर्ने गरेका छन्।
यो कम्पनीले मल खरिदको लागि लगाएको ठेक्काअनुसार मल आयात नै हुनसकेको छैन। सोही कारण यो वर्षको धानले मल नपाएको हो। साथै गहुँको लागि पनि मल आयात गर्ने छाँटकाँट नदेखिएको कृषि मन्त्रालयले जनाएको छ।
कृषिमन्त्री घनश्याम भुसालका निजी सचिव गंगा आचार्यका अनुसार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको विकोइ इन्टरप्राइजेजले २५÷२५ हजार मेट्रिक टन मल ल्याउने ठेक्का लिएका थिए।
उनीहरुले गहुँलाई केन्द्रित गरेर ल्याउने मल भदौ २० गते नेपालको भन्सार क्रस गराउने सम्झौता नै गरेका छन् तर त्यो मल पनि आउने छाँट नदेखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मलको जोहो गर्न लागेको हो।
आचार्यका अनुसार मन्त्रालयले सुरुमा छिमेकी मुलुकहरुमध्ये कोसँग छिटो प्रक्रियामा मल ल्याउन सकिन्छ भनेर सोधखोज गरेको थियो। जसमा बंगलादेश सरकारसँग १० लाख मेट्रिकटन मल जगेडा देखिएको थियो।
सुरुमा बंगलादेशसँग खरिद गर्ने प्रस्ताव गरे पनि त्यो प्रस्ताव बंगलादेशले मानेन। त्यसपछि मल सापटी मागिएको उनले जानकारी दिए। धानको मल हाल्ने समय लगभग गुज्रिसकेको छ तर अब गहुँको सिजन आउँदै छ गहुँले भने मल पाओस् भनेर हाललाई ५० हजार मेट्रिक टन सापटी लिने प्रस्ताव गरेको र बंगलादेश त्यसमा सकारात्मक देखिएको उनको भनाइ छ।
तर यो मल पनि सोचेजस्तो चाँडो आउनेमा मन्त्रालय नै ढुक्क छैन। बंगलादेशको तर्फबाट हुनपर्ने निर्णय, मल ल्याउनको लागि गरेको बस्दोबस्तीको कारण केही ढिलो समेत हुनसक्ने आँकलन मन्त्रालयको छ।
त्यसमा प्रक्रिया छिटो होस् भनेर प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिना वाजेदबीच हुने भिडियो कम्फरेन्समा यस विषयको पनि उठान गर्न कृषि मन्त्रालयले प्रधानमन्त्रीलाई आग्रह गरेको छ।
यो पनि–
नेपाललाई तत्काल युरिया मल दिन बंगलादेश सकारात्मकः ओली

प्रतिक्रिया