ad ad

कारोबार


मूल्य वृद्धिले सुनचाँदीको कारोबार ठप्प

मूल्य वृद्धिले सुनचाँदीको कारोबार ठप्प

नेपालखबर
साउन ३२, २०७७ आइतबार ८:३९,

कोरोना भाइरस संक्रमणले थिलाथिला परेको बेला बढेको सुनचाँदीको मूल्यले व्यवसायी मारमा परेका छन्। चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोबार ठप्प हुँदा व्यवसायी मारमा परेका हुन्।

व्यापार नहुँदा भाडा तिर्नसमेत समस्या पर्ने गरेको सुनचाँदी व्यवसायी संघ प्रदेश–५ का कोषाध्यक्ष लोकबहादुर स्वर्णकारले बताए।

‘महान चाड नजिकिए पनि दिन प्रतिदिन सुनको मूल्य वृद्धि हुँदा व्यापार दैनिक १० प्रतिशत मात्रै हुन्छ’ स्वर्णकारले भने, ‘व्यापार व्यवसाय प्रायः ठप्प रहेको छ।’

दशैँ तिहारभन्दा पनि तिजमा सुनको व्यापार धेरै हुने भए पनि यस वर्ष कोरोनाको त्रास र मूल्य वृद्धिले गर्दा व्यापार नहुने उनको भनाइ छ। सुनचाँदी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष मदन केसीका अनुसार विगत वर्षमा भन्दा यस वर्ष सुन व्यापार निकै न्यून भएको छ।

पहिले दैनिक ५०/६० जना ग्राहक आउने गरेको भए पनि अहिले दैनिक १०/१५ जना मात्रै आउने गरेको उनको भनाइ छ। विगतका वर्षमा तीजको समयमा सुनको अभाव हुने गरेको भए पनि यस वर्ष भने नबिकेर बजारमा प्रशस्त सुन रहेको उनले बताए। उनका अनुसार पहिले दैनिक २५/३० तोलासम्म कारोबार हुने गरेको भए पनि अहिले भने दैनिक चार/पाँच तोला मात्रै धौधौ कारोबार हुने गरेको छ।

मूल्य बढेका कारण खरिद गर्नेभन्दा पनि साटफेर गर्ने, बेच्ने तथा मूल्य सोध्ने धेरै आउने गरेको भन्दै निजी बैंकमा राखिएका सुन खरिद गर्ने व्यापारी नहुँदा अहिले बैंक नै घाटामा जाने अवस्था आएको संघका प्रदेश कोषाध्यक्ष स्वर्णकारले बताए। कोरोना त्रास बढिरहेमा किन्ने भन्दा बेच्नेको संख्या अझै बढ्न सक्ने आकलन गरिएको छ।

कारोबार ठप्प हुँदा घर भाडामा लिएर व्यवसाय गर्नेलाई भाडा तिर्नसमेत समस्या हुने गरेको छ। पहिलेको सुन मौज्दात राखेकालाई भने मूल्यवृद्धिले त्यस्तो प्रभाव नपार्ने उनको भनाइ छ। सुनचाँदीको व्यवसायमा धेरै लगानी हुने गरेकाले अहिलेको अवस्थामा व्यवसायी विस्थापित हुने खतरा बढेको सुनचाँदी व्यवसायी कुलदीप कौशलले बताए।

अहिले सुन खरिदका लागि काठमाडौं नै जानुपर्ने अवस्था रहेकाले अब स्थानीय बैंकबाटै नै सुन खरिद गर्ने वातावरण मिलाएमा व्यवसायीलाई सहज हुने समेत उनको भनाइ छ। कोरोनाकै कारणले यस वर्ष अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएपछि यस्तो समस्या निम्तिएको उनी बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .