कारोबार


भदौ १ गतेदेखि उद्धार उडान हुने

भदौ १ गतेदेखि उद्धार उडान हुने

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार १५:१८,

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगामी भदौ १ गते अर्थात् अगस्त १७ तारेखदेखि उद्धार उडान गरिने भएको छ।

नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गर्नेछन्।

नेपाल एयरलाइन्सले १७ देखि ३१ अगष्टसम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले १६ देखि ३० अगस्तसम्मको उद्धार उडान तालिका सार्वजनिक गरेका छन्। दुवै एयरलाइन्सले आज नेपालीको उद्धारका लागि हुने उडानको तालिका सार्वजनिक गरेका हुन्।

सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तरराष्ट्रिय व्यावसायिक उडान खोल्ने घोषणा गरेको भए पनि कोभिडको महामारी राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तीव्र रुपमा फैलिएपछि हालैको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्म व्यावसायिक उडान स्थगन गर्ने निर्णय गरिसकेको छ। विदेशमा अलपत्र नेपाली ल्याउन उद्धार उडान भने नियमित हुनेछन्।

सरकारले अबको उद्धार उडानमा दैनिक पाँच सय जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ। तीमध्ये २०० जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने ३०० जना आफैँ टिकट काटेर आउने छन्। स्वदेश फर्कने नेपाली सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने जनाइएको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को विवरण अनुसार यही साउन २९ गतेसम्म विदेशबाट फर्कने नेपालीको संख्या ५० हजार ६६२ रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज मात्रै नेपाल एयरलाइन्सले जापानको नारिताबाट २५४ यात्रु तथा पाँच बच्चा नेपाल ल्याएको छ। सलाम एयरले मस्कटबाट १७५ यात्रु नेपाल ल्याएको छ ।

थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज दोहा र हिमालय एयरलाइन्सको जहाज चीनको कुनमिङ उडेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad