कारोबार


शिक्षित दम्पतीको पौरख : बाख्रापालनबाटै वर्षको १ करोड हातमा

शिक्षित दम्पतीको पौरख : बाख्रापालनबाटै वर्षको १ करोड हातमा

प्रकाश न्यौपाने
साउन १६, २०७७ शुक्रबार ६:२९,

श्रीमान् त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र संकाय र श्रीमती युकेबाट बिजनेस म्यानेजमेन्टमा मास्टर्स पास। यस्तो दम्पतीले के गर्दै होलान्?

तपाईं हामीले अनुमान गर्छाैं, विश्वविद्यालयको प्राध्यापक, माथिल्लो तहको कर्मचारी अथवा विदेशमा सुखसयलको जीवन बिताइरहेका छन्।

तर यथार्थ अर्कै छ। पढाइमा अब्बल सैनामैनाका प्रेमसागर पौडेल र उनकी श्रीमती ज्ञानकुमारीले आफ्नो शिक्षाभन्दा फरक पेसा अंगाले।

अहिले उनीहरु व्यावसायिक कृषि गरेर सबैको हाइहाइको पात्र मात्र बनेका छैनन्, धेरैका लागि प्रेरणाको स्रोत र अभिभावकसमेत भएका छन्।

bakhra palan sainamaina 2

आठ वर्षअघि रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४ मा सैनामैना कृषि उद्योग दर्ता गरी पौडेल दम्पतीले व्यावसायिक बाख्रापालन सुरु गरेका हुन्। बिहानदेखि साँझसम्म बाख्राको स्याहारसुसारमा कामदारसँगै पौडेल दम्पती खटिन्छन्। उनीहरुको परिश्रम र फर्मको प्रगति देखेर लोभिने धेरै छन्।

जातअनुसार ५ वटा खोरमा पार्टेसन गरी अहिले ४ सय ५० बढी बाख्रा पालिरहेका छन्। यहाँ बाख्राको बीउ उत्पादन गरिन्छ। यस्तै, ४७ किसिमका घाँसको बीउ र बेर्ना उत्पादन गर्छन्। खासगरी उनले आफ्नो फर्मलाई बीउ उत्पादनको क्षेत्रमा अघि बढाएका छन्।

‘हामीले मासुका लागि भन्दा पनि बीउका लागि बाख्रापालन गरेका छौँ। वर्षमा एक हजार एक सय बढी बीउका लागि बोकाबाख्रा उत्पादन गरी बिक्री गर्छौं’, प्रेमसागरले भने, ‘कयौं व्यावसायिक बाख्रापालन गर्नेहरुले यहीँबाट बोकाबाख्रा लैजान्छन्।’

प्रेमसागरले बाख्रा बेचेरै वार्षिक १ करोड बराबरको कारोबार गर्छन्।

bakhra palan sainamaina 3

फर्ममा आउने जो कोहीले पनि उनको प्रशंसा गर्छन्। कतिपय कृषकले उनलाई बाख्रापालनको ‘विज्ञ डाक्टर’को उपाधिसमेत दिन्छन्। ‘नेपालको कुन क्षेत्रमा कुन किसिमको बाख्रापालन गर्न सकिन्छ, कस्तो घाँस, दान, औषधि खुवाउने, बिरामी भएको कसरी थाहा पाउने भन्ने फर्ममा आउनेहरुलाई सिकाउँछु’, उनले भने।

अर्कोतर्फ घाँसमा आधारित बाख्रापालन गर्ने उनी नेपालको पहिलो किसान समेत हुन्। विभिन्न जिल्लाबाट दैनिक २/३ जना बाख्रापालक र कृषि गर्न चाहनेहरु उनको फर्म हेर्न आउँछन्, प्रेमसागरसँग समस्या राख्छन्, सिक्छन् र फर्किन्छन्। यतिमात्रै होइन, बाख्रापालन गर्न चाहनेलाई उनले दुई/चार दिन आफ्नो फर्ममा राखेर प्राविधिक कुरा सिकाउँछन्, आत्मबल र व्यावसायिक लगाव बढाउन प्रोत्साहन दिन्छन्।

‘धेरै जना यहाँ आएर हप्ता दिनसम्म हामीसँगै काम गरेर, सिकेर राम्रो व्यावसायिक कृषक बन्नुभएको छ’, उनले भने। बीउका लागि बाख्राको जातीय शुद्धता र मासुका लागि ‘क्रस’ सबैभन्दा राम्रो हुन्छ।\

bakhra palan sainamaina 4

‘बीउका लागि कम्तीमा एक वर्षमा दुईपटक बच्चा जन्माउने बाख्रा पाल्नुपर्छ बल्ल मात्रै लगानीअनुसारको प्रतिफल उठ्छ’, उनले भने। मध्यपहाड र तराईको पूर्व–पश्चिमसम्मका कृषक, किसान समूह, आमा समूहले यहाँबाट बीउका लागि बाख्रा लग्ने गरेका छन्। प्रेमसागरले बोयर, विटल, बारबेरी, मुडुलो, ब्ल्याक बंगाल, कपारी, खबारी, खरी, जमुनापारीलगायत जातका बाख्रापालन गरेका छन्।

बोयर, विटल, बारबेरीको बीउ उत्पादन गर्दै आएका छन्। उनका अनुसार अन्यभन्दा विटल जातको बाख्राको वृद्धिदर, उत्पादकत्व र मासु पनि धेरै हुन्छ। यसको माग पनि बढिरहेको छ।

‘बोका लाग्नभन्दा पहिला बाख्रामा परजीवी हुन भएन, शरीर स्वस्थ हुनुपर्छ, उमेरअनुसारको तौल, मिनरल तत्व प्रशस्त हुनुपर्छ, वंशको छनोट राम्रोसँग हुनुपर्छ। यति भएमा स्वस्थ बीउ बनाउन सकिन्छ’, उनले भने, ‘बाख्रामा हाड नाता हुनुहुँदैन। हाड नाता भएमा लुलालंगडा बच्चा जन्मिने, वृद्धिदर नहुने र उत्पादकत्वसमेत घट्छ।’

bakhra palan sainamaina 5

व्यावसायिक बाख्रापालन गर्ने किसानले बाख्रालाई चिसो र पानीबाट जोगाउनुपर्छ। एक ठाउँबाट अर्को ठाउँ लैजाँदा मौसमको ख्याल गर्नुपर्छ। मासुका लागि बाख्रापालन गर्नेले नश्ल सुधारमा विशेष ध्यान दिनुपर्ने उनी बताउँछन्।

उनका अनुसार बाख्रापालन गर्दा हावापानी म्याच गर्ने बाख्रा पाल्ने, बीउको छनौटमा राम्रो ध्यान दिने, दिसापिसाब नजम्ने, कम्तीमा एकमिटर अग्लो टाँड, माथि फर्केर घाँस खाने र सफा ठाउँमा स्वस्थकर खोर बनाउनुपर्छ। यस्तै, जैविक सुरक्षा अपनाउने, खोप लगाउने, समय–समयमा जुकाको औषधि खुवाउने, घाँसमा हुने पोइजनहरुबाट जोगाउने गर्नुपर्छ।

कोशा फल्ने र नफल्ने घाँस खुवाउने, नुन र प्रशस्त पानी खान दिने, जोखिम ख्याल गर्ने, मौसमी घाँस लगाउने र सोहीअनुसार खान दिने, बाख्राको मनोविज्ञान बुझ्ने, उपलब्ध खानेकुरा समय मिलाएर खानदिने र व्यावसायिक भएपछि इन्स्योरेन्ससमेत गर्नुपर्ने प्रेमसागरको सुझाव छ।

उनले १० बिघा जमिन लिजमा लिएर व्यावसायिक घाँसखेती र बाख्रापालन गर्दै आएका छन्। डाले, बहुवर्षीय र मौसमी घाँस लगाएका छन्। फर्ममा ५ करोड लगानी भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad