कृषिप्रधान मुलुकमा वार्षिक ८ करोड रुपैयाँभन्दा बढीको कोदो आयात हुने गरेको तथ्यांक सार्वजनिक भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/०७६ मा ८ करोड ३ लाख रुपियाँ बराबरको कोदो आयात भएको थियो।
त्यस्तै, २०७४/०७५ आर्थिक वर्षमा ७ करोड १५ लाख २७ हजार रुपियाँ बराबरको कोदो आयात भएको थियो। पछिल्लो समय नेपालमा कोदोखेती गर्ने क्रम घट्दै गएका कारण आयात बढेको बताइएको छ ।
नेपालमा दुई लाख ६३ हजार टेक्टरमा कोदो खेती गरिने र तीन लाख १४ हजार २ सय २५ मेटिकटन कोदो उत्पादन हुने गरेको छ।
नेपालको चौथो प्रमुख बाली मानिएको कोदोबाली विगतमा विपन्न ग्रामीण समुदायको बाँच्ने आधार थियो तर पछिल्लो समय यो क्रमिकरुपमा विस्थापित हुँदै गएको भन्दै राष्ट्रिय कृषक समूह महासंघले चिन्ता व्यक्त गरेको छ । साउन १५ गते कोदो दिवस मनाउने गरी महासंघले बहस सुरु गरेको छ।
एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिष्ट (अनाज)सँगको सहर्कायमा महासंघले बिहीबार कोदो खेतीको प्रवद्र्धनका लागि कोदो बहस गरेको छ।
महासंघका अध्यक्ष नवराज बस्नेतले भने, ‘यसपटक बहस चलाएका छौं, अर्को वर्षदेखि दिवसकै रुपमा राष्ट्रव्यापी रुपमा मनाउनेछौं। यसका लागि सरकारलाई पनि ध्यानाकर्षण गराउने सरकारले नै घोषणा गरेर दिवस मनायो भने झन राम्रो नभए महासंघले नै निजी क्षेत्रको सहयोगमा दिवसकै रुपमा मनाउनेछ।’
कोदो रैथाने बाली भए पनि यसको संरक्षणमा सरकारले ध्यान नदिएको उनले गुनासो गरे।
पौष्टिकताले भरिपूर्ण र नेपाल मौलिक बालीका रुपमा रहेको कोदो खेतीको प्रवर्द्धनमा जोड दिनुपर्ने पनि उनले बताए। महासंघका पूर्वअध्यक्ष तथा संरक्षक उद्धव अधिकारीले पनि कोदोको प्रवद्र्धनमा सरकारी उदासीनताका कारण कोदो खेतीमा लाग्ने किसान पनि निरुत्साहित भएको बताए।
महासंघले कोदोखेतीको पवद्र्धनका लागि विभिन्न ९ बुँदे सुझाव प्रस्तुत गर्दै असार १५ लाई कोदो दिवसका रुपमा मनाउन सरकारसँग मागसमेत गरेको छ।
कोदोमा प्रचुरमात्रामा फलाम पाइने हुनाले महिलाहरुमा देखिने रक्त अल्पताको समस्यालाई न्युनीकरण गर्नुका साथै क्याल्सियम हाड तथा दाँतको विकास र तन्दरुस्तीमा महत्वपूर्ण मानिन्छ। यसमा पाइने रेशाजन्य पदार्थले पेट सफा गर्ने भएकोले आन्द्राको क्यान्सरबाट बचाउँछ । कोदोमा प्रसस्त मात्रामा म्यागानिक, जिंक पोटासियम पाइने विभिन्न अध्ययनले देखाएको छ।

प्रतिक्रिया