नेपालले गत वर्ष १ सय ५४ भन्दा धेरै देशसँग व्यापार गरेको छ। ती देशमध्ये अधिकांश देशसँग उच्च घाटा छ।
मुलुकले गत वर्ष एक खर्बको पनि वस्तु निर्यात गर्नसकेको छैन। जसले गर्दा मुलुकको व्यापारघाटा नै ११ खर्बको हाराहारीमा छ।
त्यो पनि यो वर्ष कोरोना भाइरस (कोभिड–१९) लगायतका कारण व्यापारघाटा कम हुन गएको हो।
मुलुकले व्यापार गरेको यी मुलुकमध्ये कति त्यस्ता देश छन्, जोसँग व्यापार नाफा छ। साथै, कति देशमा निर्यात मात्र भएको छ भने कति देशबाट आयात मात्रै भएको छ।
अझ नेपालले नाफा गरेको मुलुकमध्ये एक करोडभन्दा माथिका हेर्ने हो भने सात वटामात्र रहेका छन्।
भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/०७७ को तथ्यांकअनुसार मुलुकले व्यापार गरेको १ सय ५४ मुलुकमध्ये २८ देशसँग व्यापार नाफा रहेको छ।
अघिल्ला वर्षहरुमा मुलुकले व्यापार नाफा गरेका मुलुकको संख्या ४० भन्दा माथि रहँदै आएकोमा पछिल्ला केही वर्षदेखि नाफा गर्ने मुलुक क्रमशः घट्दै गएको देखिन्छ। यस वर्ष नेपालले ससाना देशदेखि युरोपेली मुलुकसँग व्यापार नाफा गरेको छ।
नेपालले करोड नाफा गरेका मुलुक सातवटा मात्र छन्। ती मुलुकमा केन्या, अल्जेरिया, माल्दिभ्स, डेनमार्क, क्यामरुन, न्यु क्यालेडोनिया र यमन रहेका छन्।
नेपालले सबैभन्दा धेरै नाफा गरेको मुलुक अफ्रिकी मुलुक केन्या हो। तथ्यांकअनुसार केन्यासँग नेपालको व्यापार ३४ करोड नाफामा छ।
त्यसपछि अर्को अफ्रिकी मुलुक अल्जेरियासँग ७ करोड ५० लाख नाफा गरेको छ।
त्यस्तै, २ करोड नाफा कटेका मुलुक माल्दिभ्ससँग २ करोड १९ लाख र डेनमार्कसँग २ करोड नाफा गरेको छ। क्यामरुन, न्यु क्यालेडोनिया र यमनसँग एक करोडभन्दा धेरै नाफा भएको छ।
अन्य मुलुकसँग भने नेपालको नाफा करोडभन्दा तल नै छ। नाइजेरियासँग ९७ लाखको व्यापार नाफा गरेको छ। अन्य मुलुकको त्योभन्दा पनि कम छ।
३० देशबाट आयात मात्रै
नेपालले व्यापार गरेका १ सय ५४ देशमध्ये ३० मुलुकसँग आयात मात्र गरेको छ। यसको अर्थ हो नेपाल ३० देशमा निर्यात नै गर्न नसकेको देखिएको छ।
नेपालले आयात मात्र गरेका मुलुकहरुमा अमेरिकन सामोआ, एन्डोर्रा, एन्टिगुआ एण्ड बर्मुन्डा, बेलारुस, बेनिन, केप भर्डे, कोकोज आइसल्याण्ड, डोमिनिकन रिपब्लिक छन्।
त्यस्तै, वस्तु निर्यात गर्न नसकिएका अन्य मुलुकमा एल्साल्भाडोर, गबोन, ग्युनिया, हैटी, होन्डुरस, इस्ले अफ म्यान, जमाइका, उत्तर कोरिया, मदागास्कर, मोन्टसेर्राट, नामिबिया, पाराग्वे, मोल्डोभा, सर्विया, सुरिनेम, स्वाजिल्याण्ड, मेसेडोनिया, टोगो, टर्क एण्ड काइकोस आइसल्याण्ड र भेनेजुयला रहेका छन्।
आठ देशमा निर्यात मात्रै
त्यस्तै, नेपालले केही मुलुकसँग भने निर्यात मात्र गरेको छ। यस्ता मुलुकको संख्या ८ छ।
ती देशहरुमा आर्मेनिया, बोलिभिया, बुरुन्डी, चाद, इस्ट टिमोर, न्यु क्यालेडोनिया, ट्रिनिडा एण्ड टोबागो र यमन छन्।
नेपालले गत वर्ष २०७६÷०७७ मा १२ खर्ब ९४ अर्ब ५० करोडको वैदेशिक व्यापार गर्दा ११ खर्ब ९६ अर्बको आयात गरेको छ भने ९७ अर्ब ७० करोड बराबरको वस्तु निर्यात गरेको छ।
यी हुन् २८ देश, जुनसँग नेपालकाे व्यापार नाफामा चलेकाे छ-

प्रतिक्रिया