ad ad

कारोबार


व्यवसायीको चिन्ता : दिनभर खाली गाडी गुडायो, भोलि इन्धन केले हाल्ने?

व्यवसायीको चिन्ता : दिनभर खाली गाडी गुडायो, भोलि इन्धन केले हाल्ने?

प्रकाश न्यौपाने
साउन १२, २०७७ सोमबार १०:२,

कोभिड–१९ को संक्रमण फैलिएपछि चार महिनासम्म सार्वजनिक यातायात ठप्प रहे। सरकारले लकडाउन खोलेपछि यातायात व्यवसायीहरुले यही साउन ७ गतेबाट मात्रै सेवा सञ्चालनमा ल्याए। केही प्रालिले भने साउनको सुरुमै यातायात संचालन गरे। जिल्लाभित्रै मात्र यातायात चलाउन पाउने सरकारी निर्णयपछि लामो दूरीका यातायात भने अझै चलेका छैनन्।

व्यवसायीले सेवा सुरु गरे पनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुको संख्या भने निकै कम छ। मुलुकमा कोरोना संक्रमण जोखिम अझै कायमै रहेपछि अधिकांश सर्वसाधरण सार्वजनिक यातायातमा यात्रा गर्न इच्छुक छैनन्। ‘सामाजिक दूरी कायम राखेर यात्रुलाई सिटमा बसाल्ने गरेका छौं। यद्यपी समाजमा कोरोना जोखिम अझै कायमै छ भन्ने थाहा छ। अर्कोतर्फ बसबाटै कोरोना सर्छ भन्ने भ्रम पनि छ। त्यसैले पनि यात्रुहरु झट्ट यात्रा गर्दैनन्’, पश्चिम नेपाल यातायात प्रालिका अध्यक्ष दधिराम खरेलले भने।

निजी सवारी साधन लिएर आफ्नो औद्योगिक प्रतिष्ठान र व्यवसायमा जाने, बजारमा खरिदबिक्री गर्ने, यात्रा गर्नेको भिड भने दिनहुँ बाक्लिँदो छ। खाद्यान्न बोक्ने सवारी पनि पूर्ववत अवस्थामै संचालनमा भइसकेका छन्। तर, यात्रुबाहक यातायात भने प्रायः रित्तै ओहोरदोहोर गर्छन् ।

‘मुस्किलले ५/७ जना हुन्छन्। बुटवल भैरहवा ओहोरदोहोर गर्दा खालीखाली नै बस दौडानु परेको छ’, सिद्धार्थ यातायात प्रालि अध्यक्ष सूर्यकुमार सारुमगरले भने, ‘जवसम्म यात्रुमा भएको नकारात्मक भय चिर्न सकिँदैन तबसम्म यात्रुको चाप बढ्ने देखिन्न।’ जिल्ला भित्रै यातायात चलाउनु पर्ने भएकाले व्यवसायीहरुले न्यून मात्रै यातायात चलाएका छन्। त्यसैमा पनि यात्रु नभएपछि व्यवसायी चिन्तित छन्।

सानाठूला गरी दुई हजार ५ सय सार्वजनिक यातायात रहेको पश्चिम नेपालले रुपन्देहीभित्र ३० वटा मात्रै सवारी संचालन गरेको छ । ४ सय सवारी रहेको सिद्धार्थ सार्वजनिक यातायात प्रालिले २० वटा मात्रै संचालनमा ल्याएको छ। यस्तै, २४ वटा सवारी रहेको सिद्धार्थ यातायात प्रालिले १० ओटा संचालन गरिरहेको छ। अन्य प्रालिहरुले पनि बस सेवा सुरु गरेका छन्।

फरक जिल्लामा यातायात सञ्चालन नभएपछि पहिलेको तुलनामा ९५ प्रतिशत यात्रु घटेको व्यवसायीहरुको भनाइ छ। सीमा सिल भएकाले पर्यटकहरु आगमन शून्य छ। सार्वजनिक यातायात चढेर खरिदविक्री गर्न जाने पनि निकै कम छन्। मानिसहरु तिर्थाटनमा पनि गएका छैनन्। ज्तिबेला पनि भिडभाड र चहलपहल देखिने बुटवल, भैरहवा र बेलहिया बसपार्क, जिप पार्क र टिकट काउन्टरमा कुनै चहलपहल छैन।

संचालित बसहरुमा व्यवसायीले भौतिक दूरी कायम गरी यात्रुलाई सिटमा बसाल्ने गरेका छन्। यात्रुलाई सेनिटाइजर लगाएपछि मात्रै भित्र पस्न दिने गरिएको सिद्धार्थ सार्वजनिक यातायात प्रालिका वरिष्ठ उपाध्यक्ष सुनिलराज विष्टले जानकारी दिए। यात्रुहरु नहुँदा व्यवसायी निरास छन्। ‘भएका सबै सवारी संचालन गर्न पाइएको छैन नै संचालित गाडीमा पनि यात्रुहरु नहुँदा व्यवसाय नै संकटमा पर्ने खतरा बढेको छ’, विष्टले भने, ‘यस्तै अवस्था कायम रपहरहे २५ प्रतिशत यातायात व्यवसायी पलायन हुन्छन्।’

सरकारले मौद्रिक नीतिमार्फत् २० प्रतिशत पुनर्कर्जा दिने भनिए पनि त्यो लागू भएको छैन। बैंक तथा वित्तीय संस्थाहरुले किस्ता तिर्न ताकेता गरिरहेका छन्। व्यवसायीले चार महिना थन्किएकाले एउटै गाडी मर्मत गर्न डेढ लाखभन्दा बढी रकम लाग्ने भएकाले यातायात चलाउने/नचलाउने भन्ने दुविधामा रहेको बताउँछन्।

‘दिनभर गाडी चलायो अर्को दिनलाई डिजल हाल्ने पैसा पुग्दैन। यस्तो अवस्थामा कसरी यातायात चलाउन सकिन्छ’, अध्यक्ष सारुमगरले भने, ‘त्यसमा स्टाफ खर्च, मर्मत सम्भार, बीमा, नवीकरण दस्तुर कहाँबाट तिर्ने? व्यवसायी ठूलो आर्थिक संकटमा छन््।’ कोरोना संन्त्रासका कारण अधिकांश यात्रुहरु भाडामै भए पनि निजी सवारी प्रयोग गर्छन्।

‘उपत्याकाका तीन जिल्ला चलाउन पाइने तर उपत्याका बाहिर जिल्लाभित्र मात्रै चलाउन पाइने? यो कस्तो नियम हो? सरकारले कर असुल्नका लागि सार्वजनिक यातायात खोल्ने निर्णय गरेको हो। सेवासुविधा केही छैन’, अध्यक्ष खरेलले भने। उनले लामो दूरीका यातायात नचल्दासम्म यात्रु नबढ्ने र व्यवसायी झन मर्कामा पर्ने बताए। लामो समयदेखि यातायात नचल्दा मजदूरहरु निकै मर्कामा छन ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .