उद्योग वाणिज्य महासंघको चुनावी माहोल तात्न थालेको छ। साउन अन्तिममा हुने निर्वाचनको लागि दुईपक्षले आ-आफ्नै तरिकाले माहोल तताएका हुन्।
वरिष्ठ उपाध्यक्ष पदका आकांक्षी चन्द्र ढकालको टिमले आज आफ्नो उम्मेदवारी घोषणा गरेको थियो। त्यस लगत्तै अर्का आकांक्षी किशोर प्रधानको टिमले पनि पत्रकार सम्मेलन गरेको छ। कार्यक्रममा प्रधानको टिमले उद्योगी व्यवसायीको गुनासोहरुकाे समेत सुनवाई गरेको थियो।
आगामी मौद्रिक नीतिमा उद्योगीहरुको गुनासो कसरी सम्बोधन गराउने भन्ने विषयमा कार्यक्रम आयोजना गरिएको भए पनि विषय भने महासंघको निर्वाचनतर्फ केन्द्रित भएको थियो।
प्रधानको टिममा अध्यक्ष निश्चित भैसकेका शेखर गोल्छा, निर्वतमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु रविभक्त श्रेष्ठ, विनोदबहादुर कुँवर, कुशकुमार जोशीसमेत उपस्थित थिए। उनीहरुले प्रधानलाई सघाउने समेत बचन दिइसकेका छन्। उनको टिममा जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति रहेका छन्।
कार्यक्रममा बोल्दै शेखर गोल्छाले आफ्नो तिक्तता पोखेका छन्। उनले आफू वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको दिनदेखि विधान संशोधन गरेर अध्यक्ष हुन नदिने रणनीतिहरु अपनाइएको तथा अहिले पनि अविश्वासको प्रस्ताव ल्याएर हटाउने कुरा भैरहेको भन्दै त्यो पीडा किन दिइन्छ भन्दै गुनासो गरे।
उनले भने ‘म राजनीति गर्न होइन काम गर्न आएको हुँ। त्यसकारणले गर्दा आफ्नो टिममा काम गर्ने मान्छे छान्नको लागि प्रधानको टिममा समावेश भएको हुँ।’
यसअघि वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी चन्द्र ढकालले अध्यक्ष सबैको सझा हुनुपर्ने बताएका थिए।
यस्तै, पशुपति मुरारकाले विपक्षीको कमजोरी र नराम्रो पक्षलाई मात्रै केन्द्रित गरेर भाषणबाजी नगरी आफ्नो कामलाई ध्यान दिन आग्रह गरे।
Shares
प्रतिक्रिया