कारोबार


यसकारण मैले महासंघको वरिष्ठ उपाध्यक्ष पदमा प्यानलसहित उम्मेदवारी घोषणा गरेँ

यसकारण मैले महासंघको वरिष्ठ उपाध्यक्ष पदमा प्यानलसहित उम्मेदवारी घोषणा गरेँ

चन्द्रप्रसाद ढकाल
असार ३०, २०७७ मंगलबार १०:१,

विश्वभर कोरोना भाइरसको प्रकोपका कारण नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाले पनि त्यसको प्रभाव झेल्नुपर्यो।

कोरोनाको प्रभाव र असर तपाईं हामीमाझ अझ कति समय रहने हो, त्यो भविष्यले बताउला। तर कोरोनाले सिर्जना गरेका चुनौतीलाई तपाईं हामीले नै मिलेर पार लगाउने हो, यो अहिलेको आवश्यकता हो।

कोरोनाका कारण तपाईं हामीमाझ दुई चुनौती सिर्जना भएका छन्, त्यसमध्ये एक हो स्वास्थ्यसम्बन्धी चुनौती र दोस्रो आर्थिक चुनौती। स्वास्थ्यसम्बन्धी चुनौतीलाई सरकारले सामना गरिरहेको छ भन्ने हाम्रो विश्वास छ।

तर आर्थिक चुनौती भने संसारभर सरकार र निजी क्षेत्र दुवैले मिलेर सामना गरिरहेका छन्। हामीसँग पनि त्यही बाटोलाई पछ्याउनेबाहेक अर्को विकल्प छैन।

कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामना गर्न तपाईं हाम्रो व्यक्तिगत पहल मात्रै काफी हुँदैन। त्यसलाई प्रभावकारी रुपमा सामना गर्न हामीवीच विश्वास, एकता र बल चाहिन्छ। हाम्रो सौभाग्य आज नेपाल उद्योग वाणिज्य महासंघका रुपमा हाम्रा पुर्खाले हामीलाई नेपालको सबैभन्दा सशक्त त्यो फोरम उपहारमा दिएका छन्।

त्यो फोरममा नयाँ विश्वास सिर्जना गर्न, त्यसमा एकता पैदा गर्न र त्यसलाई एउटा बलका रुपमा अघि बढाउन हामीसँग नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयन गर्ने अवसर यही बेला आएको छ।

तपाईँहरुको शुभेच्छा, आग्रह र प्रस्तावलाई विनम्रतापूर्वक स्वीकार गर्दै मैले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा चार महिनाअघि नै औपचारिक घोषणा गरिसकेको छु।

तर मेरो उम्मेदवारी मात्रै त्यसको पूर्णता होइन, त्यसलाई अघि बढाउन एउटा विश्वासिलो टिमको जरुरत पर्दछ। वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारीसँगै हाम्रो टिममा उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षका लागि गुणनिधि तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एसोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघई उम्मेदवार हुनुहुनेछ।

chandra ummedwari 4

महासंघमा नयाँ नेतृत्वका रुपमा आउने हाम्रो यो टीमले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त गर्ने छैन, हामीले चाहेको, हामीले खोजेको आर्थिक रुपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्नेछ।

हाम्रो यो टीम अनुभवले भरिएको छ। विश्वासले भरिएको छ। टीममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ। त्यति मात्रै नभएर यो टीमको गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहुँच छ।

तपाईंलाई दुस्ख परेको बेला हाम्रो टीम तपाईंको नजिक हुनेछ, तपाईंले खोजेको बेला पहुँचमा रहनेछ, समस्यालाई नीति निर्मता कहाँ पुर्याइदिएर समाधान खोजिदिनेछ।

आखिर तपाईंले महासंघमा खोजेको पनि यस्तै नेतृत्व होइन र ?

आज हामी चुनावमा छौं, स्वभाविक रुपमा हाम्रो टीमसँग प्रतिष्पर्धा गर्नका लागि विपक्षी टीम पनि खडा भएको छ। आज मेरो तपाईंलाई आग्रह छ, हाम्रो र विपक्षी टीमको तुलना गर्नुस, त्यहाँका उम्मेदवारको आगत र विगत पनि हेर्नुहोस्।

विपक्षी टीमका अधिकांश साथीको नेतृत्व तपाईं हामीले यस अघि नै भोगिसकेका छौं, त्यो अनुभवलाई आज फेरी सम्झनुहोस्।

अझ विशेष गरी म जिल्ला उद्योग वाणिज्य संघका साथीहरुसँग आग्रह गर्न चाहन्छु, उद्योग वाणिज्य महासंघको नेतृत्वमा रहनु भएका हाम्रा विपक्षी टीमका साथीहरु वितेका वर्षहरुमा तपाईंको नजिक कहिले पुग्नु भएको थियो ? प्रश्न सोध्न चाहन्छु, चुनाव जितेपछि पुग्नु भएको थियो ?

तपाईंले खोज्दा, के उहाँहरुसँग भेट भएको थियो? तपाईंले फोन गर्दा उहाँहरुको फोन उठेको थियो ? तपाईंलाई समस्या पर्दा के त्यो उहाँहरुले सुनिदिनु भएको थियो ?, समाधान खोजेर ल्याइदिनु भएको थियो ?

सुन्दै छु, अहिले फेरि तपाईंहरुलाई ती साथीहरुको फोन आउन थालेको छ रे, सुन्दैछु तपाईंलाई फेरी आश्वासन आउन थालेको छ रे ?, ह्वाट्स एप र फेसबुकमा म्यासेज आउन थालेको छ रे ?

भविष्यमा ती आश्वासनले काम गर्छ भनेर के तपाईंलाई विश्वास लाग्छ ? फेरी उहाँहरुको फोन आउँछ भन्ने आशा तपाईंलाई छ? फोन आउने कुरा त छाड्नुस् तपाईंले गरेको फोन के उहाँहरुले उठाउनुहोला ? गम्भीर भएर सोच्नुहोस्।

म भन्छु, उहाँहरुको मात्रै होइन्, हाम्रो पनि विगत हेर्नु्होस्। हामी तपाईंको समिपमा रहेर कसरी काम गरेका थियौं। म आज तपाईंहरुलाई फेरी विश्वास दिलाउन चाहन्छु, हिजो हामीले जे गरेका थियौं, त्यो भविष्यमा पनि गर्छौं।

हामी चुनाव जितेपछि तपाईंहरुको सम्पर्कबाट भाग्नेवाला होइनौं। कम्तिमा हाम्रो टीमले जे भन्छ त्यो पूरा गरेर छाड्छ, आजका दिनमा यो हाम्रो टीमका तर्फबाट सामूहिक प्रतिवद्धता पनि हो।

तपाईंहरु आफै मनन गर्नुहोस्, तपाईंहरु आफैले मूल्याङ्कन गर्नुहोस्। त्यो टीम छान्ने वा यो टीम छान्ने ? निर्णय गर्ने अधिकार तपाईंको हो।

स्वाभाविक रुपमा नेपाल उद्योग वाणिज्य महासंघको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षका रुपमा शेखर गोल्छाले हाम्रो टीमको नेतृत्व गर्नुहुनेछ।

चार महिना अघि मैले मेरो घोषणा सभामा भनेको पनि थिएँ, उहाँको नेतृत्वमा हाम्रो एउटा व्यावसायिक र गतिशिल टीम बन्नेछ। यो टीम उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र साझेदारसँग साझेदारी गर्ने सवालमा एक र एक जोडेर दुई होइन्, एक र एक जोडेर एघार बन्नेछ।

मैले यो मञ्चबाट शेखरजीलाई एउटा प्रश्न के सोध्न चाहन्छु भने हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं ? त्यसको मर्मलाई अहिले कसले मार्दैछ ?, त्यो केका लागि ?

एउटा कुरा खुलेर भन्नुपर्ने अवस्थामा छु, जब केही महिना अघि नेतृत्वमा बसेका अधिकांश साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन् भनेर कसले लविङ गरेको थियो ?, भविष्यमा हामीले जे गरौंला गरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो ? हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नै पर्छ।

यो चुनावमा जसले जिते पनि शेखरजी अध्यक्ष हो, हामी यो चुनाव जित्छौं, हामी त्यसमा विश्वस्त पनि छौं। जब हामी जित्छौं, हामी उहाँको टीमको सदस्य हौं। सायद उहाँका लागि यो साधरण जानकारी मात्रै होइन यो एउटा सन्देश पनि हो।

यो सन्देश कठिन अवस्थामा रहेको महासंघलाई एक ढिक्का बनाउन हो, यो सन्देश निजी क्षेत्रमा बल सिर्जना गर्न हो। यो सन्देश हामी भित्र विश्वास जगाउन हो।

हामीले भनेका छौं निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राको दरिलो खम्बा हो। तर समृद्धिको यात्रामा यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन सकेको छैन्, चाहिएको बेला अभिभावकको भूमिका पाउन सकिरहेको छैन।

तपाईं हाम्रो अबको यात्रा त्यो सम्मान पाउनका लागि हुनेछ, राज्यबाट अभिभावकत्व पाउनका लागि हुनेछ।

हिजो अस्ती राज्यसँग लडेर त्यो भूमिका खोज्नुपर्दथ्यो, सम्मान माग्नु पर्दथ्यो। तर आज लडाईं होइन संवाद गरेर हाम्रा हक खोज्नुपर्छ। हाम्रो सम्मान फिर्ता ल्याउनुपर्छ। हाम्रो यो टीमले त्यसका लागि दिलो ज्यान दिए काम गर्नेछ।

मैले मेरो घोषणा सभामा पनि भनेको थिएँ, ‘निजी क्षेत्र आर्थिक विकास र रोजगारी सृजनाको बलियो इन्जिन हो। यो इन्जिनलाई चलाउन निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ।’

औद्योगिक र व्यापारिक वातावरण बनाउन हामीकहाँ अझै थुप्रै काम गर्न बाँकी छ। ती के काम हुन भनेर हामीले पहिचान गरिसकेका पनि छौं। हामी नेतृत्वमा आउना साथ ती क्षेत्रमा काम थाल्नेछौं।

जिल्ला नगरका साथीहरुलाई थप विश्वास दिलाउन चाहन्छु, हामी नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागी उद्योग बाणिज्य संघको सिफारिश चाहिने कुरालाई हामीले उठाउने छौं। नगरपालिकाको व्यावसायिक करमा उद्योग बाणिज्य संघलाई ३०/७० को सहभागिता लागू गर्न पहल गर्नेछौं।

न्यून आय भएका उद्योग वाणिज्य संघलाई कम्तिमा बार्षिक पाँच लाख रुपैयाँको आम्दानीको श्रोत जुटाउनका लागि मोडल बनाउने छौं। उद्यमशीलता बिकासका तालिम दिने, एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमलाई फेरी लागू गर्ने विषय पनि हाम्रो प्राथमिकतामा रहनेछ। त्यसैगरी जिल्लाका नापतौल, अनुगम, बैकिङ, राजस्व लगायतका समस्या समाधान गर्नका लागि महासंघसँग सिधै जोडिने गरी संयन्त्र बनाउने प्रतिवद्धता पनि व्यक्त गर्दछौं।

भिडियाे-

हामीले भनेका पनि छौं, यी कामका लागि हामी नेतृत्व मात्रै होइन्, महासंघको सचिवालयलाई पनि विश्वासिलो, भरपर्दो र डायनामिक बनाउँछौं।

हाम्रो टीमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यावसायीक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिङ्ग गर्नेछ।

हामीले महासंघलाई ठूला उद्यमीहरुको मात्रै होइन साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न प्रयास गर्नेछौं। त्यस चौतारीमा सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउने काम हामीले गर्नेछौं।

कारोना महामारीले उद्योग र व्यवसाय सबैभन्दा बढी मारमा छ। इतिहासमै यसअघि कहिल्यै नआएको र नसोचेको क्षतिको अवस्था हामीले भोग्न थालेका छौं। अझै पनि यो महामारीले कुन रुप लिने हो स्पष्ट भएको छैन्। त्यही कारण यो संकटसँग जुध्न पनि हामीलाई बलियो काँध चाहिएको छ।

महामारीको यो बेलामा ज्यान जोगाउने र भोलि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासंघको नेतृत्वले काम गर्नुपर्ने छ।

नेतृत्व भनेको संकटको सारथी हो, दुःखको बेला सम्झिने आडभरोसाको केन्द्र हो।

त्यसैले प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ आजैदेखि लाग्न मेरो टिमका सबै साथीहरुलाई अपिल गर्दछु।

(मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत, एसोसिएट र जिल्ला उपाध्यक्षका लागि उम्मेदवारी घोषणा कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले व्यक्त गरेको विचारको पूर्णपाठ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad