ad ad

कारोबार


बर्खाका लागि  १२ देशबाट भित्र्याइयो ५९ करोडका छाता र रेनकोट

बर्खाका लागि  १२ देशबाट भित्र्याइयो ५९ करोडका छाता र रेनकोट

सन्तोष न्यौपाने
असार २७, २०७७ शनिबार ७:४१,

एक हप्तादेखि मुलुकभर बर्खेझरी जारी छ। वर्षाको सुरुवातमै परेको अविरल झरी कै कारण कतिपय ठाउँमा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ। वर्षाकै कारण सर्वसाधरणलाई सामान्य हिँड्डुलमा समेत बाधा उत्पन्न भएको छ।

यही वर्षाबाट बच्न र मान्छेलाई आवतजावतमा सहज बनाउन भनेर विदेशबाट बर्सेनि करोडौं रुपैयाँका छाता र रेनकोटको आयात हुँदै आएको छ। स्वदेशमा उत्पादन गर्ने क्षमता हुँदाहुँदै छाता र रेनकोटमा मात्रै मुलुकको करोडौँ रुपैयाँ विदेशिदै आएको छ।

चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकअनुसार मुलुकमा झन्डै ५९ करोड रुपैयाँ बराबरका छाता तथा रेनकोटको आयात भएकाे छ।

पानी तथा घामबाट बच्ने छाता, बगैँचामा प्रयोग हुने छाता, छाताका फ्रेम र महिला तथा पुरुषले पानीबाट बच्न लगाउने रेनकोट शीर्षकमा यी आयात भएको देखिन्छ।

यस वर्षको आयातको परीणाम गत वर्षको यही अवधिको तुलनामा झन्डै बराबर रहेको छ। आव २०७५/७६ को १० महिनाको तथ्यांकअनुसार मुलुकमा ५७ करोड ९३ लाख २९ हजारभन्दा धेरै मूल्यका छाता र रेनकोट आयात भएका थिए।

भन्सार विभागको तथ्यांकअनुसार ११ महिनाको अवधिमा विभिन्न शीर्षकमा आयात भएका छातामध्ये ‘अम्रेला एन्ड सन अम्रेला’ शीर्षकमा सबैभन्दा धेरै २१ करोड ५४ लाख ३६ हजारका २५ लाख १८ हजार ६६५ छाता आयात भएका छन्।

त्यसबाहेक अन्य शीर्षकमा पनि छाता आयात भएको देखिन्छ। जस्तो कि गार्डेनमा प्रयोग हुने छाता, छाताको फ्रेम, सन अम्रेलालगायतका छन्।

नेपालमा दर्जनभन्दा धेरै देशबाट छाता आयात भइरहेको छ। चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांक हेर्ने हो भने नेपालमा चीन, भारत, जापान, मलेसिया, पिलिपिन्स, थाइल्यान्ड, बेलायत, भियतनाम, इटाली, सिंगापुर, स्पेन र दक्षिण कोरियाबाट आयात भएको छ।

त्यस्तै शहर बजारमा कामकाजी पुरुष तथा महिलाले धेरै प्रयोग गर्ने रेनकोटको आयात पनि उच्च छ। पुरुष र महिलाले लगाउने रेनकोट भनेर छुट्टाछुट्टै शीर्षकमा आउने रेनकोटको मूल्य छाताको भन्दा धेरै छ।

११ महिनामा आयात भएका यी रेनकोटको मूल्य ३१ करोड ५९ लाख ५८ हजार रहेको छ। यी रेनकोटमध्ये पुरुषले लगाउनेको परीणाम उच्च रहेको तथ्यांकमा उल्लेख छ।

‘व्बाइज रेनकोट’ शीर्षकमा ३० करोड ६७ लाख ७८ हजार रुपैयाँ बराबरका आयात भएका छन् भने ‘गल्र्स रेनकोट’ शीर्षकमा झन्र्ड एक करोड रुपैयाँ बराबरका मात्र रेनकोट आयात भएको तथ्यांकमा देखिन्छ।

नेपालमा दुई छिमेकी देशसहित विभिन्न मुलुकबाट रेनकोट आयात भइरहेका छन्। चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा क्यानडा, चीन, भारत, पाकिस्तान, अमेरिका, बंगलादेश, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, म्यानमार, भियतनाम, अष्ट्रेलिया लगायतका देशबाट रेनकोट आयात गरिरहेको छ।
सरकारले आयातलाई कमी गर्दै आयात र निर्यातको सन्तुलन मिलाउने भनिरहेको बेला छाता तथा रेनकोटजस्ता स्वदेश मै उत्पादन गर्न सकिने वस्तुहरुको आयात उच्च भइरहेको छ।

अर्थमन्त्री युवराज खतिवडाले पछिल्लो समय मदिरा, गाडीजस्ता विलाशिताका वस्तु आयातमा कडाइ गर्ने नीति लिएका छन्। केही पेय पदार्थको आायत पनि रोकिएको छ।

छाताजस्ता सानो उद्योगबाट स्वदेशमै उत्पादन हुने वस्तुमा सरकारले प्रोत्साहन गर्ने हो भने आयात प्रतिस्थापन गर्न सजिलो हुने व्यवसायीहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .